कोरोना केन्द्रित सन्तुलित बजेट ल्याउँछौं – अध्यक्ष बाबुराजा श्रेष्ठ

June 17, 2020 मा प्रकाशित

20200617_143738

Advertisement

झापाको गौरीगञ्ज गाउँपालिका चालू आर्थिक बर्षको बजेट तथा कार्यक्रमहरुको कार्यान्वयनको अन्तिम चरणमा छ । चालू आर्थिक बर्ष समाप्तीको संघारमा रहेको गौरीगञ्ज गाउँपालिकाको विगत बर्षका बजेट तथा कार्यक्रमहरु निक्कै महत्वकांक्षी रहेको टिप्पणीहरु आएका थिए ।
भौगोलिक हिसाबले समेत भारतीय सीमा क्षेत्रसंग जोडिएको र पूर्वपश्चीम राजमार्गबाट करिब २५ किलो मिटर दक्षिणमा पर्ने यस गाउँपालिकाका विबिध बिषयमा केन्द्रित भएर गाउँपालिका बुलेटिनका लागि गापा अध्यक्ष बाबुराजा श्रेष्ठसंग कुराकानी गरिएको छ । प्रस्तुत छ कुराकानी जस्ताको तस्तै –

आर्थिक बर्ष २०७६/०७७ को लगभग अन्तिम घडीमा हुनुहुन्छ, बजेट तथा नीति कार्यक्रम कार्यान्वयनका हिसाबले यो बर्ष कस्तो रह्यो ?
हुन त हामी जनप्रतिनिधिहरु आएपछि हामीले जुन रुपमा बजेट तथा कार्यक्रमहरु बनाउँदै आएका छौं त्यो हुबहु कार्यान्वयन त हुन सकेको छैन । शतप्रतिशत भन्ने कुरा धेरै ठाउँमा हुन पनि सक्दैन । मेरो आफ्नो बुझाई भन्नुहुन्छ भने शुरुका दुई बर्ष हाम्रो लागिनै चित्त बुझ्दो हुन सकेन । यस बर्षको कुरा गर्दा हामीले चालू बर्ष भौतिक पूर्वाधार विकासका कामहरु करिब १२ ÷१३ करोडको ठेक्का लगाएका थियौं, ति मध्ये कतिपय कामहरु भईरहेका छन । तर पनि हाम्रो चाहना अनुसार योजना अनुसार ति कामहरु अघि बढ्न सकेका छैनन त्यसकारण समग्रमा भन्नु पर्दा गाउँपालिकाको पूर्वाधार विकासमा हामी सन्तुष्ट हुने अवस्थामा छैनौं ।
यसकै बीचमा हामी मोटामोटी यहि श्रावण १० गते सम्ममा बजेट लयाउने योजनामा छौं । यो त हाम्रो नियमित प्रकृयानै हो । हामीले यो बजेट कार्यक्रम ल्याउँदै गर्दा हामीसंग मुख्य चुनौती भनेको नै कोरोना भाइरस कोभिड १९ हो । यतिबेला सम्ममा हाम्रो गाउँपालिकामा १६ जना संक्रमित भेटिइसकेका छन् । गाउँपालिकाको राजश्व परामर्श समितिको बैठक बसेका छौं । अब यो आउन सक्ने सम्भावित अवस्थालाई मध्यनजर गर्र्दै के कसरी अगाडी बढ्ने भन्ने बिषयमा हामी छलफलमा छौं ।

यस्तो अवस्थामा कस्तो बजेट आउँछ ?
हो हामी धेरै चुनौतीहरुका माझ कार्यान्वयन हुन सक्ने बजेट कार्यक्रम ल्याउँदैछौं । यतिबेला हामीले तय गर्ने नीति कार्यक्रम र बजेट प्रदेश र राष्ट्रिय नीतिमा पनि भर पर्छ । कोरोनाको महामारीबाट सारा विश्व आक्रान्त भएको बेलामा हामीले त्यसमा केन्द्रित भएर नै बजेट ल्याउने हो । त्यसमाथि हाम्रो गाउँपालिका भारतीय सीमा क्षेत्रसंग जोडिएको गाउँपालिका हो । यहाँ कोरोनाको जोखिम अन्य ठाउँमा भन्दा धेरै छ । हामीले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित बजेटनै ल्याउनु पर्छ । कोरोनाको महामारीसंगै गाउँमा धेरै युवाहरु हामीकहाँ छिमेकी मुलुक भारतबाट फर्किएका छन् । उनीहरुलाई पनि आफ्नै ठाउँमा स्वरोजगारको अवसर सिर्जना गर्ने किसिमका कार्यक्रमहरु ल्याउनु पर्ने हुन्छ । स्वरोजगारका लागि कृषि, पशु तथा लघु उद्यमलाई प्रोत्साहन र सहयोग पुग्ने किसिमको बजेट हामी ल्याउनेछौं ।
यि यावत बिषयमा हामी गाउँपालिकामा क्रियाशील सबै राजनीतिक दल, बुद्धिजीवि, उद्योगी व्यवसायीहरु लगायत सरोकारवालाहरु सबैपक्षसंग छलफल गरेर हामी सन्तुलित किसिमको बजेट ल्याउनेछौं । पहिलो बर्ष हामीले ५५ करोड रुपैयाँको बजेट ल्याउँदा निक्कै चुनौती ब्यहोर्नु परेको स्मरण हामीलाई छ ।

तपाइँको कार्यकाल ३ बर्षपनि बितिसक्यो चुनावी प्रतिबद्धता के थिए ? ति कतिको कार्यान्वयन भए ?
मेरा चुनावी प्रतिबद्धताका बिषयमा मैंले आफैं केही भन्न मिल्दैन । आम गाउँबासी, तपाइँ सञ्चारकर्मीहरु यस बिषयमा जानकार हुनुहुन्छ । सारमा भन्नु पर्दा मैंले ग्रामिण सडक ग्राभेलिङ २ बर्षमा गरिसक्ने भनेको थिएँ ।
त्यसबेला ६० प्रतिशत मात्रै सडकहरु ग्राभेल थिए होलान अहिले ९० प्रतिशत पुगेको छ । ६० प्रतिशत घरमा मात्रै विजुलीको पहुँच थियो अहिले ९५ प्रतिशतमा पुगिसकेको छ । एउटा कुरा मैंले भन्नै पर्छ शिक्षामा मेरो जुन सोच थियो, सामुदायिक अर्थात सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने त्यो अझै चुनौतीपूर्ण छ ।
विपन्नहरुको स्वास्थ्य सेवाका लागि सरकारको नीति पनि आयो स्वास्थ्य बीमाको । हामीले हाम्रा आर्थिक रुपमा विपन्न वर्गका गाउँपालिकाबासीहरुलाई स्वास्थ्य बीमामा पनि ५० प्रतिशत सहयोग गर्र्योै । हामीले अघिल्लो बर्ष झण्डै ४०० परिवारको स्वास्थ्य बीमामा सहुलियत प्रदान गरेका थियौं । अझै धेरै नागरिकहरु जो आर्थिक रुपमा विपन्न हुनुहुन्छ उहाँहरु बीमाका लागि अग्रसर हुन आवश्यक छ । स्वास्थ्य सेवाकै कुरा गर्दा यहाँ सुविधा सम्पन्न अस्पताल बनिसकेको छ । त्यहाँ अहिले क्वारिन्टीन सञ्चालन गरिएको छ । यो अस्पतालमा एमबीबीएस डाक्टरको हामी पर्खाईमा छौं । स्वास्थ्य विभागले डाक्टर पठाउला यदि पठाएन भने हामी हाम्रा नागरिकको स्वास्थ्यका लागि हाम्रो आफ्नै निजी श्रोतबाट भए पनि एमबीबीएस डाक्टर राख्ने योजनामा छौं । हामी आउने बर्ष त्यो काम गर्छौं । वडा नं ३ र ५ मा स्वास्थ्य चौकी नभएकाले हामी त्यसको लागि पनि प्रयासरत छौं ।

गौरीगञ्ज गापा प्रधानमन्त्री ज्यूको निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका हो, केन्द्र सरकारसंग गाउँपालिकाले अपेक्षाचाहिं के राखेको छ ?
स्वभाविक प्रश्न हो र हामी प्रधानमन्त्रीका क्षेत्रका बासिन्दाले आशा अपेक्षा राख्नु पनि स्वभाविक हो । केन्द्र सरकारको सहयोगका कतिपय कुराहरु गर्दा भन्ने गरिन्छ हुलाकी मार्ग । हुन त हुलाकी बाटो हिजोआजको योजना पनि होइन, दशकौं पुरानो यो योजनाको काम अहिले जारी छ । यसमा पर्याप्त बजेटको व्यवस्था गरेर आवश्यक नियमन र निर्देशन सम्बन्धित निकायबाट होस । अर्को स्मार्ट सिटीको योजना जुन शहरी विकास मन्त्रालयबाट भईरहेको छ यसमा पनि केन्द्र सरकारको बजेट पर्याप्त र प्रभावकारी कार्यान्वयनमा सहयोग आवश्यक छ । गौरीगञ्ज १ मा पशु बजार र वडा नं ६ मा कृषि बजारको आधुुनिकीकरण र व्यवस्थापनमा सरकारको सहयोग आवश्यक छ । यि योजनाको डीपिआर पनि भइसकेको छ । यि कामहरु हाम्रो कार्यकालमा हुन्छन यसमा संघीय सरकारको पनि इमान्दारिता र सहयोग आवश्यक हुन्छ । अर्को महत्वपूर्ण कुरा स्वच्छ खानेपानी हामी स्थानीय सरकार, संघीय सरकार र प्रदेश सरकारको पनि दायित्व हो । गत बषृ २० लाख रुपैयाँ बजेट थियो यसपाली पनि निरन्तर छ । अर्को वडा नं १ मा खेलमैदान । यसपाली प्रदेश सरकारको १५ लाख रुपैयाँ आएको छ । यसलाई पूर्णता दिनमा पनि हामी सबैको ध्यान जानु आवश्यक छ ।

निष्कर्ष न्युजबाट साभार

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस