झापामा दुई स्वास्थ्यकर्मीसहित २२ संक्रमित

September 16, 2020 मा प्रकाशित

Advertisement

 

झापा ३१ , भदौ / कोरोना संक्रमण तीब्ररुपमा फैलिने क्रममा आज झापामा समुदायका १७ जनासहित २२ जना संक्रमित भएका छन् । संक्रमित ६ महिला र १६ पुरुषमध्ये दुईजना स्वास्थ्यकर्मी र एकजना सुरक्षाकर्मी रहेका छन् ।

त्यस्तै संक्रमितका परिवारका अन्य सदस्यलाई समेत संक्रमण सरेको भेटिएको छ । गत भदौ २६ गते संक्रमण देखिएका बाह्रदशी ५ का नेकपाका प्रदेश सदस्य वेदराज रेग्मीको परिवारका दुई सदस्यलाई कोरोना देखिएको हो । रेग्मीको मेची कोभिड हस्पिटलमा उपचार भइरहेको छ । त्यस्तै भदौ २२ गते संक्रमण देखिएका बाह्रदशी ५ का अटोचालकका परिवारका तीन सदस्यलाई पनि कोरोना सरेको छ । दुई महिला र तीन पुरुष गरी पाँच स्थानीयमा आज संक्रमण पुष्टि भएको बाह्रदशी गाउँपालिकाको कार्यालयले जनाएको छ । त्यस्तै शिवसताक्षी नगरपालिकामा एक महिला र दुई पुरुषमा संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र उनका श्रीमती रहेका छन् । त्यस्तै भारतबाट शिवसताक्षी घर फर्केका एकजना भारतीय सैनिकलाई पनि संक्रमण देखिएको नगरपालिकाका प्रवक्ता नवीन इजमले बताए । त्यस्तै दमकमा आज ८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । आज पोजेटिभ देखिएकामा एक महिला र ७ जना पुरुष रहेका छन् । संक्रमितहरु दमक –१, ५, ८, ९ र १० का १ –१ जना र वडा नम्बर ४ का तीन जना रहेका छन् ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा हिजो रिपोर्ट होल्ड गरिएका १२ जनामध्ये ८ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाको क्वारेन्टाईन व्यवस्थापन समितिका सदस्य सचिव कुवेर भट्टराईले जानकारी दिए । अझै ४ जनाको रिपोर्ट होल्डमा राखिएको छ । उनीहरुको पनि आज साँझसम्ममा अन्तिम रिपोर्ट आईसक्ने उनले बताएका छन् ।
बुधबार ८ जना थपिएसँगै दमकमा कुल संक्रमितको संख्या १ सय ३७ पुगेको छ । उनीहरुमध्ये १ सय जना उपचारपछि निको भई घर फर्किएका छन् भने बाँकी ३७ जना संक्रमितहरु भने दमकसहित पूर्वका विभिन्न कोभिड विशेष अस्पताल र आइसोलेसनहरुमा उपचाररत रहेका छन् । त्यस्तै गौरादह नगरपालिकाका एकजना महिला स्वास्थ्यकर्मीलाई आज संक्रमण देखिएको छ । संक्रमित हुनेमा गौरादह ५ घर भई लाइफलाइन हस्पिटल दमकमा कार्यरत २४ वर्षिया स्वास्थ्यकर्मी रहेको नगरपालिकाका क्वारेन्टाइन प्रमुख गोविन्द श्रेष्ठले बताए । त्यस्तै भद्रपुर नगरपालिकामा एक सुरक्षाकर्मीसहित ४ जनालाई कोरोना देखिएको छ । संक्रमित पुरुष सुरक्षाकर्मी जिल्ला प्रहरी कार्यालय झापाको भएको जनाइएको छ । अन्य एक महिलासहित तीनजना भारतबाट फर्केकाहरु रहेको क्वारेन्टाइन प्रमुख मनोज भट्टराईले बताए । त्यस्तै भारतबाट फर्केका मेचीनगर नगरपालिका ५ का ६७ वर्षिय पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । योसँगै झापामा संक्रमितको सँख्या ७६९ पुगेको छ । त्यसमध्ये ६२९ जना निको भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस