झापामा जुट खेती लगातार घट्दै, सन्ठीकाे लागि जुट खेती

September 21, 2020 मा प्रकाशित

Advertisement

झापा ५, असोज /   झापामा हराउन लागेको जुट(पाटा) खेती दक्षिणी क्षेत्रका किसानहरुले घरायसी प्रयोजनका लागि भएपनि अझै गर्दै आएका छन् ।

बाह्रदशी गाउँपालिकाका करिव २० विगाह क्षेत्रफलमा यस वर्ष जुट खेती गरिएको छ । गाउँपालिकाको सातवटै वडामा जुट खेती गर्ने गरिन्छ । गाउँका किसानहरुले जुट खेती अझै गरिरहेको बाह्रदशी गाउँपालिकाका कृषि शाखा प्रमुख देवकुमार यादवले बताए । नगदेबालीको रुपमा रहेको जुट खेतीका लागि किसानहरुलाई प्रोत्साहन गर्न सरकारी तवरबाट कुनै पनि कार्यक्रम नभएको उनले जनाए । बाह्रदशीको वडा नं १ मा मात्र करिव ५ विगाहमा यस वर्ष जुट खेती गरिएको वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए । पहिला विगाह—विगाहमा खेती गर्ने किसानहरु अहिले थोरै ठाउँमा भएपनि जुट खेती गर्ने गरेको उनले बताए । पहिलाको तुलनामा जुट खेती निकै घटेको हो । उचित मूल्यको अभाव र झन्झटिलो भएका कारण किसानहरुले जुट खेती छोड्दै गएको राजवंशी बताउँछन् । ‘ पाटा कुहाउन खोला वा पोखरी चाहिन्छ, जलाशय हराउँदै गए’उनले भने,‘ त्योसँगै पाटा खेती गर्दा बीउ छरेदेखि तयारी पाटा नसुकाएसम्म झन्झट नै झन्झट छ ।’ खासगरी आदिवासी समुदायले घरायसी प्रयोजनका लागि पाटा खेती गर्ने गरेको राजवंशी बताउँछन् । विगतमा धेरै क्षेत्रफलमा पाटा खेती गरेका बाह्रदशी १का रुपलाल राजवंशीले यस वर्ष एक कठ्ठामा पाटा लगाएका छन् । एक कठ्ठामा चार मन पाटा फल्ने उनको अनुमान छ । अहिले प्रतिमन पाटा २५०० रुपैयाँको दरले बिक्री हुने गरेको छ । जुन विगतको तुलनामा निकै बढेको रुपलाल बताउँछन् । चार मन पाटा फलाउन उनले १० हजारजति खर्च गरिसके । ‘ छर्न र गोड्न साढे ७ हजार त्यस्तै काट्न , कुहाउन र धुन ३ हजार खर्च भइसक्यो’ उनले भने ,‘ पाटा बेचेको पैसाले खर्च मात्र उठ्ने भयो ।’ उनले पाटाभन्दा सन्ठीको लागि आफूले खेती गर्ने गरेको बताए । त्यस्तै उनका दाजु नोकलाल राजवंशीले अढाई कठ्ठामा पाटा लगाएका छन् । सन्ठीकै लागि सोही गाउँका अमनप्रसाद राजवंशीले अधियामा पाटा लगाएका छन् । दिउँसोको चर्को घाममा होलीमा पाटा धुदै गरेका उनी सन्ठीकै लागि अथक मेहनत गरिरहेका थिए । अमन पाटा धुदै थिए भने उनकी श्रीमतीले सन्ठी ओसार्दै थिइन् । बीउ नपाएर धेरै नरोपेको बताउने अमनले डेढ कठ्ठाको पाटाबाट केही आम्दानी आउन सक्ने आशा ब्यक्त गरे । उनले पनि पहिला धेरै पाटा खेती गर्ने गरेका थिए ।

रुपलालको बारीमा सुक्न दिएको पाटा

पाटाको घरायसी प्रयोग
ग्रामीण क्षेत्रका आदिबासी समुदायले घरायसी प्रयोजनका लागि चाहिने भएर पाटा खेती छोड्न नसकेका हुन् । पाटासँगै सन्ठीको अति आबश्यकता पर्ने गरेकाले एक दुई खुट्टी भएपनि उनीहरुले पाटा लगाउने गरेका छन् । सिन्ठा( सन्ठी) नभइ हँुदैन त्यही भएर थोरै भएपनि लगाउने गरेको किसान रुपलालले बताए । आदिबासी समुदायमा सन्ठीको ठूलो महत्व रहेको छ । तिहारमा पर्ने गोरुवाँसी पर्वमा सन्ठीको राँको ( हुकाहुकी) खेल्ने परम्परा पूर्वका आदिबासी समुदायमा रहेको छ ।राजवंशी , ताजपुरिया , गनगाई , माझी लगायतका जातिले सन्ठीको मुठो(हुकाहुकी) बनाएर त्यसलाई पुजा गर्ने र आगो सल्काएर खेल्ने परम्परा छ । आदिबासी समुदायको लागि पाटा परम्परागत खेती हो । उहिले सबैले पाटा खेती गर्ने गरेका थिए । पाटा खेती छोडेकाहरुले अहिले अरुबाट सन्ठी किनेर भएपनि हुकाहुकी खेल पर्व मनाउने गरेका छन् । पाटासँगै सन्ठीको मूल्य पनि राम्रै हुने गरेको वडाध्यक्ष राजवंशीले बताए । पुजाआजासँगै आदिबासी समुदायले आगो सल्काउन सन्ठी प्रयोग गर्ने गरेका छन् । इन्धनको रुपमा अझै दाउरा प्रयोग गरिरहेका ग्रामीण भेगका आदिबासीहरुले आगो सल्काउन र गोइठा बनाउन सन्ठी प्रयोग गर्ने गरेको रुपलाल बताउँछन् ।उनका अनुसार पहिला पाटाले घरमै डोरी बाँट्ने (बनाउने )गरिएकोमा अचेल बजारबाट किनेर प्रयोग गरिन्छ ।
जुट खेतीको क्षेत्रफल
करिव तीन दशकअघि झापाको प्रमुख नगदेबाली रहेको जुट खेती अहिले निकै घटेको छ । खासगरी जिल्लाका सिमावर्ती गाउँपालिकाहरु कचनकवल , बाह्रदशी , झापा र गौरीगञ्ज गाउँपालिकामा जुट खेती गर्ने गरिएको छ । गत वर्ष जिल्लामा ५९२ हेक्टर क्षेत्रफलमा जुट खेती गरिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । प्रतिहेक्टर १ मेट्रिक टनको दरले जुटको उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले बताए । उनले झापामा जुट खेती लगातार घट्दै गएको र जुट खेतीसम्बन्धी कुनै कार्यक्रम पनि नरहेको जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस