काेराेनासँग सतर्क भएर चाडपर्व मनाऔं !

सुजना पाेखरेल /

चीनको वुहान प्रान्त हुँदै हाल विश्वव्यापीरुपमा फैलिरहेको कोरोनाले आम मानिसको दैनिकी, पठनपाठन, पेशा, व्यवसाय लगायत विभिन्न क्षेत्रलाई प्रत्यक्ष/अप्रत्यक्षरुपले नकारात्मक असर पारिरहेकै छ । कुनैपनि शस्त्र–अस्त्रविना नै आज एउटा सूक्ष्म भाइरसले विश्वमै आक्रमण गराइराख्दा पनि यसको समाधान एवं रोकथामका लागि पहल हुन नसक्नुले विश्व नै तहस–नहस बनाइरहेको अवस्था छ ।

कोभिड १९ को जञ्जालमा एक–एक गर्दै धेरै मानिसहरु ठूलो संख्यामा संक्रमित भइरहेका छन् । यो रोगबाट कलाकार, धनी, गरिब, डाक्टर, इन्जिनियर, नर्स, व्यवसायी, दीर्घरोगी, बालक, युवा, केटाकेटी, बृृद्ध लगायत कोही पनि अछुतो छैनन् ।

वोल्डोमिटरका अनुसार आजसम्म विश्वभरि ३ करोड ३५ लाख ९१ हजार ६११ कोरोना संक्रमितको संख्या रहेको छ । १० लाख ७ हजार २५९ मृत्यु हुनेको संख्या पुगेको छ । त्यसैगरी २ करोड ४९ लाख ४ हजार ३६४ निको हुनेको संख्या रहेको छ । नेपालको सन्दर्भमा आजसम्म संक्रमितको संख्या ७६ हजार २५८ छ भने मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । निको हुनेको संख्या ५५ हजार ३७१ रहेको छ । नेपालमा कोभिड १९ को अवस्था झन् झन् जटिल बन्दै गइरहेको छ ।

विश्वभरि वैज्ञानिक र अनुसन्धानकर्ता सामु अहिले कोरोना नियन्त्रण एक किसिमको चुनौतीको रुपमा खडा भएको छ । हुन त यो महामारी नियन्त्रणका लागि विभिन्न पहल भने नभएका होईनन् ता पनि प्रभावकारी भूमिका निर्वाह गर्न भने वैज्ञानिकहरुलाई हम्मे हम्मे नै परेको छ । विश्वभरि नै विभिन्न तरिकाको एन्टी भाइरल ड्रग्सहरुको प्रभावकारितालाई निरन्तररुपमा अनुसन्धान भइरहेको छ । उदाहरणका रुपमा रेमडेसिभिर नामक एन्टी भाईरल ड्रग्स अमेरिकन कम्पनी ‘जिलियाड साइन्सेस’ले बनाएको थियो, जुन कोरोना भाइरस विरुद्ध प्रभावकारी पाइएको छ ।

त्यस्तै गरी हालै आएको एभिफ्याभिर र अन्य फ्याभिपिराभिरमा आधारित एन्टी भाइरल ड्रग्स पहिलो पटक रसियामा उत्पादन भएको हो । उक्त औषधीले पनि कोभिड १९ को उपचारका लागि १७ वटा देशहरुमा वितरण गर्नका लागि फुड एण्ड ड्रग एडमिनिष्ट्रेसनबाट मान्यता पाएको छ ।

विश्वभरिका वैज्ञानिक र अनुसन्धानकर्ताहरु अबका दिनहरुमा कसरी छिटो र छरितो ढंगले कोभिड १९ विरुद्ध भ्याक्सिन पत्ता लगाउने भनेर रफ्तारका साथ अनवरतरुपमा लागिपरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अहिले को अवस्थामा १७० भन्दा बढि अनुसन्धानकर्ताका टोलीहरुले सुरक्षित र प्रभावकारी भ्याक्सिन पत्ता लगाउनमा व्यस्त छन् ।

मास्क, सेनिटाइजर, व्यक्तिगत सुरक्षा सामग्री, नियमित २० सेकेण्डसम्म साबुन पानीले हात धुने विधि, सामाजिक तथा भौतिक दूरीको पालना, सन्तुलित भोजन, दैनिक व्यायाम र उच्च मनोबलले कोरोना भाइरसलाई परस्त पार्न सकिन्छ ।

महामारीको कुनै पनि उपचारकोे विकल्प नरहेकाले, फुड एण्ड ड्रग एडमिनिष्ट्रेसन (एफडीए) ले कनभ्यालेसेन्ट प्लाज्मा थेरापीलाई परीक्षण गर्नका लागि मान्यता दिइसकेको छ । यस थेरापीमा कोरोना संक्रमित भइसकेर निको भएका बिरामीहरुको रगतलाई प्रशोधन गर्दै रगत कोशिकालाई हटाएर तरल प्लाज्मा र एन्टिबडीमा छुट्याइन्छ, जसले गर्दा अर्काे बिरामीलाई निको हुनमा केही मद्दत हुन सक्ने चिकित्सकहरुको तर्क रहेकोे छ ।कुनै पनि भ्याक्सिन बनाउनका लागि सामान्यतया वर्षौं लाग्ने र कुनै स्केलमा उत्पादन गर्न थप समय लाग्ने गर्दछ । हतारमा वा दबावमा बनाइएको भ्याक्सिन भने कम प्रभावकारी एवं असुरक्षित हुने र सोचेजस्तो परिणाम नदिने भन्ने वैज्ञानिकहरुको धारणा छ । त्यसैले यो समयमा सबैले संयमता एवं सावधानी अपनाउनु बाहेक अरु कुनै पनि विकल्प नरहेको अवस्था छ ।

कोरोनाबाट पूर्णरुपमा निको भएका बिरामीहरुमा भाइरस बिरुद्ध शरीरले भरपूर एन्टिबडीहरु उत्पादन गरेको हुन्छ । त्यसैले यस थेरापीको प्रयोगले अस्पतालमा उपचाररत संक्रमितको भाइरस सँग लड्ने शक्तिलाई धेरै नै बढाउन मद्दत हुन सक्छ । यस थेरापीबाट थप बिरामीमा रोगको जटिलता र रोग लाग्ने अवधिलाई पनि छोट्याउन सक्ने भनी चिकित्सकहरुले अहिले देशव्यापीरुपमा नै यस थेरापीलाई अध्ययन र अनुसन्धान गर्दै परीक्षण गरेका छन् ।

मास्क, सेनिटाइजर, व्यक्तिगत सुरक्षा सामग्री, नियमित २० सेकेण्डसम्म साबुन पानीले हात धुने विधि, सामाजिक तथा भौतिक दूरीको पालना, सन्तुलित भोजन, दैनिक व्यायाम र उच्च मनोबलले कोरोना भाइरसलाई परस्त पार्न सकिन्छ ।

कोरोना लाग्दैमा डराइहाल्ने, आत्तिने, आत्माहत्याको बाटो रोज्ने जस्ता गतिविधिहरुबाट हरेक मानिसहरु टाढै रहनुपर्छ किनकि कोरोना लाग्दैमा कोहीपनि तुरुन्तै मरिहाल्दैन । दिर्घरोग, मुटुरोग, शल्यक्रिया गरेका बिरामी, डायलायसिसका बिरामी, गर्भवती र सुत्केरी महिला, क्यान्सरका बिरामी, अङ्ग प्रत्यारोपण गरेका बिरामी लगायत अन्य बिरामीहरुमा भने यो रोगको धेरै नै खतरा हुने भएकाले उच्च सावधानी अपनाउनुपर्ने हुन्छ । अरुको तुलनामा यस्ता बिरामीहरुलाई भने कोरोना भाइरस सर्ने र मृत्यु हुने प्रवल सम्भावना हुने गर्छन् ।

विश्वलगायत नेपालमा पनि पछिल्लो समय सामाजिक दूरी, लकडाउन, मास्क, सेनिटाइजर, पीसीआरविरुद्ध आन्दोलन गर्दै विभिन्न समूहका मानिसहरु सडकमा उत्रिएका छन् । मेडिकल माफियाहरुको राजनीति, रणनीति, षडयन्त्र, लुटतन्त्र, व्यापारीकरण र बिजनेसको एजेण्डा भनी कोरोनालाई परिभाषा दिँदैं अहिलेको अबस्थामा जनमानसमा निरन्तररुपमा समाजमा एक किसिमको अपवाह फैलाइरहेका छन् । जसका कारण पनि मानिसहरुले यो रोगलाई गम्भीरताका रुपमा नलिने प्रक्रिया बढ्दो छ । हुन त चर्चित भनाइ नै छ ‘उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस हुन्छ’ जुन भनाइ हरेक रोगको सन्दर्भमा मिल्ने गर्छ । अर्थात रोग चाहे जुनसुकै नै किन नहोस् पूर्व स्वास्थ्य सावधानी अपनाउँदा धेरै नै फाइदाजनक हुने गर्छ ।

सुरुवाती समय जतिबेला यो महामारी नेपालमा प्रवेश गरिरहँदा जताततै मानिस बीच कोरोना भाइरसप्रति जुन किसिमको चेतना, त्रास, होहल्ला र कौतुहल थियो, त्यो पछिल्लो समयमा आम मानिसमा देख्न सकिदैंन । ‘अचानोको पिर खुकुरीले बुझ्दैन’ भनेझैं जो व्यक्ति कोरोनाबाट संक्रमित छ, ऊ कुन परिस्थितिले गुज्रेको हुन्छ भन्ने अवस्थाको कल्पना पनि गर्न सकिदैंन । जतिबेला आफू र आफ्ना निकटलाई कोरोना को संक्रमण पश्चात् मृत्यु हुँदैन, तबसम्म मानिसहरुको रोगप्रतिको धारणा सामान्य नै रहन्छ । विकसित राष्ट्रहरु त आज हात बाँधेर बस्न विवश छन् भने हाम्रो जस्तो अविकसित राष्ट्र जहाँ अधिकांश वर्ग गरिबीको चरम चपेटामा गुज्रिरहेका छन् ।

दैनिक ज्याला मजदुरीमा आफू र आफ्ना परिवारको पेट पाल्नेहरुलाई त बज्रपात नै परेको छ । एउटा सुक्ष्म भाइरसले गर्दाे कतिले आफ्नो परिवार जन गुमाउनुपर्यो, कतिले रोजगारी, कतिको व्यवसाय नै धरापमा पर्दैछ ,बैंकको ऋणको चर्को व्याजदर तिर्न नसक्दा कतिको घर खेत नै लिलामी हुने अवस्थामा छ ।

यी त केही उदाहरण मात्रै हुन्, महामारीको प्रभावलाई अझ केलाउँदै जाने हो भने विश्वलाई नै अतुलनीय क्षति हुन सक्ने सजिलै अनुमान लगाउन सकिन्छ । समुदायस्तरमै व्यापकरुपमा फैलिसकेको यो महामारीलाई सामान्य रोग नठानी साबधानी अपनाउनुमा नै बुद्धिमानी हुन्छ ।

नेपालमा पनि सुरुवाती चरणबाट नै कडाईका साथ महामारीलाई केही हदसम्म रोक्न सक्ने प्रचुर सम्भावना हुदाँहुँदै पनि दुर्भाग्यवस देशको कमजोर नितिगत स्वास्थ्य प्रणालीले गर्दा कोभिड १९ को रोकथाममा सरकार चुकि नै रह्यो र अन्ततः महामारीले पनि उग्ररुप लिन सफल भयो ।

विना कुनै वैज्ञानिक तथ्य न कुनै अनुसन्धान कोरोना भाइरसलाई एक खालको सामान्य रुघाखोकी भनी हाउगुजीका रुपमा अफवाह फैलाउनुले पनि आम मानिसको मन मस्तिष्कमा भ्रमको नकारात्मक खेती हुने क्रम जारी छ । भाइरस लगायत अन्य सूक्ष्मजीवहरुको वैज्ञानिक तरिकाले मान्यता प्राप्त पीसीआर विधिलाई पनि धेरैले केही नबुझी यस विधि बारे अनेकौं प्रश्न खडा गर्दै तथ्यहीन अफवाह फैलाइरहेका छन् । आरटी–पीसीआर विधि कोरोना भाइरसको आरएनए पत्ता लगाउनका लागि अत्ति नै योग्य र प्रभावकारी विधि मानिन्छ जसमा संक्रमित व्यक्तिको घाँटी र नाकको स्वावबाट प्रत्यक्षरुपमा भाइरस छ या छैन भनेर पत्ता लगाउन सकिन्छ । संक्रमित व्यक्तिमा तत्काल नै भाइरस छ या छैन भनेर पत्ता लगाउन उपयुक्त विधिको रुपमा आरटी–पीसीआर विधिलाई लिन सकिन्छ । यो विधिबाट भने तत्कालै भएको रोगको अवस्थामा मात्रै भाइरस पुष्टि हुन्छ भने निको भइसकेका र शरीरबाट भाइरस विरुद्ध निस्केको एन्टीबडीको अवस्थामा भने भाइरस पत्ता लगाउन नसक्नु यो विधिका कमी कमजोरी हुन् ।

स्रोतमा उल्लेखित एक रिर्पोेटमा, बिरामी–बिरामीबीचको श्वासप्रश्वास प्रणाली अनुसार भाइरस कहाँ अवस्थित छ भन्ने कुरामा भिन्नता हुने गर्छ, जसको कारणले पनि यो विधिको प्रभावकारितालाई असर गर्ने गर्छ । जस्तै–उदाहरणका लागि यदि कुनै पनि बिरामी कोरोना भाइरसबाट संक्रमित छ भने, उसको खकार वा नासोफ्यारेन्जियल स्वाब कुनै एकमा मात्रै भाइरस पत्ता लाग्छ । तर, एकैपटक दुवै स्थानमा पत्ता लाग्न सक्छ भन्ने हुदैँन । त्यसले गर्दा पनि मिसडायग्नोस हुन सक्ने सम्भावना बढी हुन्छ । त्यसैले पनि हुन सक्छ कोभिड १९ को रिर्पोट अस्पतालका ल्याब बीच नै फरक फरक आउने । तर, यसको उल्टो मतलब राखेर बिना अनुसन्धान नै आरटी–पीसीआर विधि नै झूटो भन्ने भ्रामक अपवाह फैलाउनु एकदमै मूर्खता हो ।

तर, विडम्वना ! नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दो छ र नजिकिँदै गरेका नेपालीहरुको महान चाड विजया दशमी, तिहार र छठ पर्वको आगमनसँगै धेरै भन्दा धेरै संक्रमित थपिनेछन् र धेरैको मृत्यु हुनेछ भन्ने कुरामा कुनै दुईमत छैन । अझै पनि धेरै ढिला भएको छैन, आ(आफ्नो ठाउँबाट सबैले विभिन्न सावधानी अपनाएर सरकारको मात्रै मुख नताकिकन जहाँ छौं, त्यहीँ संयमित भएर परिवारसँग चाडवाड मनाऔं ।

स्वास्थ्य नै ठूलो धन हो । आज बाँचे पो भोलिको संसार देखिएला । आज नभए भोलि कमाइएला । आज नभए भोलि रमाइएला ।

(पोखरेल मेडिकल माईक्रोबायोलोजिष्ट हुन्)

 

 


यो पनि पढौँ

दशैं मनाउने तरिका फरक तर श्रद्वा र आस्था एउटै

कहाँ चुक्याे नेपालकाे संविधान ?

काेचिला राज्य हुदैन भने अरू पनि पहिचानयुत्त नामहरू मान्दैनौं – सांसद पुर्ण सिंह

बिश्वनाथ र अग्रज पत्रकार काजीसहित ५० बढी काँग्रेस प्रवेश

काश्मिर शान्तिको बाटोतिर

‘मानिस ब्रेडले होइन, ब्रेनले चल्ने गर्दछ’: विपी काेईराला