सहकारी दिवसमा वृहत मानव साङ्लो प्रदर्शन तयारी

July 1, 2016 मा प्रकाशित

दमक १७, असार/ ९४ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा असार १८ गते देशैभर वृहत मानव साङ्लो प्रदर्शन गरिने भएको छ ।

Advertisement

13556-20160701131550_700x700

मेची महाकाली मानव साङलो प्रदर्शनको लागि देशैभर स्थापित सहकारी संघ–संस्था र विषयगत संघहरुले तयारी तीब्र बनाएका छन् । हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार अन्तरर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । सोही अनुसार असार गते १८ गते, २ जुलाइका दिन नेपालमा मानव साङ्लो प्रदर्शन गर्न लागिएको हो ।

अन्तरर्राष्ट्रिय सहकारी महासंघको आह्वानमा ‘सहकारिताः दिगो भविष्य निर्माणका लागि शक्ति’ मूल नाराका साथ विश्वभर मानव साङलो प्रदर्शन गर्ने कार्यक्रम छ । नेपालमा पनि महासंघको निर्देशनअनुसार यस्तो कार्यक्रम अन्य रचनात्मक क्रियाकलापसहित आयोजना गर्ने निर्णय भएको छ ।

बिहान ७ बजेदेखि ९ बजेसम्म देशैभरका सहकारीकर्मीहरु मुख्य राजमार्गमा उभिएर मानव साङ्लो प्रदर्शन गर्ने तयारी भएको जनाइएको छ । मेची–महाकाली विशाल मानव साङ्लो प्रदर्शनीमा भाग लिन राष्ट्रिय सहकारी संघले आव्हान पनि गरेको छ ।

सहकारी आन्दोलन प्रतिको ऐक्यवद्धता तथा सहकारीलाई दिगो भविष्य निर्माणको लागि आधारशिलाको रुपमा स्थापित गर्न छिमेकी सहकारी संघ–संस्थाहरूसँग समन्वय र सहकार्य गरी आ–आफ्नो पायक पर्ने स्थानमा भेला भई सहकारीको झण्डा हातहातमा लिई मानव साङ्लो प्रदर्शनीमा भाग लिन केन्द्रीय संघले आव्हान गरेको हो ।

झापामा पनि तीब्र तयारी, सहभागिताका लागि आह्वान

झापामा पनि यसको तयारी तीव्र पारिएको छ । राष्ट्रव्यापी कार्यक्रम अन्तरगत मानव साङ्लो प्रदर्शनका लागि झापा जिल्ला सहकारी सङ्घले झापाका सबै सहकारी संस्था र तिनका सदस्यलाई सहभागिताका लागि आह्वान गरेको छ ।

काँकरभिट्टा, बिर्तामोड र दमकमा राजमार्ग केन्द्रित हुने गरी मानव साङ्लो प्रदर्शन गर्ने तयारी भइरहेको झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालले बताए । सङ्घका सहसचिव भवानीप्रसाद दङ्गालका अनुसार सहकारी मैत्री ऐन कानुन निर्माणका लागि राज्यलाई नैतिक दवाव दिन पनि यो कार्यक्रम देशव्यापी रुपमा आयोजना गरिएको हो ।

बिहान ७ बजे राष्ट्रिय सहकारी सङ्घका पूर्व सञ्चालक, अगुवा सहकारीकर्मी रामचन्द्र उप्रेतीले काँकडभिट्टामा मानव साङ्लोको उद्घाटन गर्ने कार्यक्रम छ । सो मानव साङ्लो झापा मोरङको सीमावर्ती मावा खोलामा गएर जोडिनेछ । त्यहाँ राष्ट्रिय सहकारी बैंङ्कका अध्यक्ष रमेश पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

को–को छन् सम्पर्क व्यक्ति
झापा जिल्ला सहकारी सङ्घले तीनवटा ब्लक छुट्टयाएर कार्यक्रमको तयारी गरेको छ । तीनवटै व्लकमा अलग–अलग सम्पर्क व्यक्ति तोकिएका छन् । काँकडभिट्टामा हिम्मत क्षेत्री र कमल काफ्लेलाई जिम्मेवारी दिइएको छ ।

विर्तामोडमा सङ्घका सह सचिव भवानीप्रसाद दङ्गाल र जिल्ला सदस्य कृष्णप्रसाद मिश्र सम्पर्क व्यक्ति छन् । दमकमा प्रेम कोइराला र मणि भण्डारीलाई जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय सहकारी सङ्घको निर्देशनात्मक आदेशमा तय भएको यो कार्यक्रममा सहभागिता चुनौतिपूर्ण देखिएको छ । ‘यद्यपि तीव्र रुपमा भइरहेको तयारीका कारण उल्लेख्य सहभागिता रहनेमा सङ्घ विश्वस्त छ’, सङ्घका सहसचिव भवानीप्रसाद दङ्गालले भने ‘सहकारीमा आवद्ध सबै सदस्यको सहभागिताका लागि प्रयत्न गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस