प्रभावकारी र पारदर्शी ढंगले बजार अनुगमन गर्न पाँच बुँदे माग

October 9, 2020 मा प्रकाशित

Advertisement

बिर्तामोड२३, असोज /
उपभोक्ताको हित संरक्षणका लागि तत्काल बजारको प्रभावकारी र पारदर्शी अनुगमन गर्नु पर्नेमा उपभोक्तावादी संस्थाका प्रमुख तथा प्रतिनिधिले जोड दिएका छन् ।
आज शुक्रवार सम्वाद समूहको संयोजनमा झापाको बिर्तामोडमा उपभोक्तावादी संस्थाबीच भएको छलफलमा उपभोक्तालाई ठगी गर्नेलाई तत्काल कडा कारवाहीको माग पनि गरेका छन् । छलफलको निष्कर्षलाई आधार मान्दै उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी सरकार समक्ष पाँच बुँदे माग अघि सारेका छन् । उक्त माग तत्काल सम्वोधन हुनु पर्नेमा उनीहरुको जोड छ ।
राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष  मदनगोपाल सुब्बा,  उपभोक्ता मञ्च नेपाल, झापाका अध्यक्ष वेदप्रकाश अग्रवाल,  कञ्जुमर आई नेपाल, झापाकी अध्यक्ष कोपिला खड्का बस्नेत, विश्व उपभोक्ता महासंघ, झापाकी अध्यक्ष सरस्वती चम्लागाई र उपभोक्ता हित संरक्षण मञ्च नेपाल, बिर्तामोडका अध्यक्ष  ओमभक्त सेढाईद्धारा हस्ताक्षरित विज्ञप्तिमा उपभोक्ताको हित रक्षाका लागि तीनै तहका सरकार गम्भीर बन्नु पर्नेमा जोड दिइएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल प्रदेश १ का सदस्य याम विमलीले उपभोक्तावादी संस्था सक्रिय भई साझा रुपमा अघि बढ्नुपर्ने बताए ।
छलफलमा सोही संस्थाका बिर्तामोड सचिव राजु गौतम, सदस्य यशोदा पोखरेल, राष्ट्रिय उपभोक्ता मञ्च झापाका बिमला भट्टराई, शीला उप्रेती, विश्व उपभोक्ता महासंघकी हेमकुमारी विष्ट लगायतले उपभोक्ता अधिकारका पक्षमा विभिन्न धारणा राखेका थिए । छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

पाँच बुँदे माग
१) मूल्य वृद्धि र तौलको अनियमितता नियन्त्रण, गुणस्तरीय तथा स्वस्थ वस्तु उपलब्धताको ग्यारण्टी गरी उपभोक्ताको हित संरक्षणका लागि तत्काल बजारको प्रभावकारी र पारदर्शी अनुगमन गर्न, अनियमितता गर्नेलाई कार्वाही गर्न र त्यस सम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्न जिल्ला समन्वय समिति, जिल्लास्थित १५ वटै स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय तथा विभागीय कार्यालय समक्ष जोडदार माग गर्दछौं ।
२) बजार अनुगमनका क्रममा मुख्य सरोकार राख्ने उपभोक्तावादी संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवाला क्षेत्रका प्रतिनिधिलाई समेत अनुगमन टोलीमा अनिवार्य समावेश गर्न जिल्ला समन्वय समिति, झापाका १५ वटै स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय समक्ष माग गर्दछौं ।
३) उपभोक्ताहरुमा सचेतना र जागरण हुनु पर्ने यथार्थ मनन गर्दै त्यस कार्यका लागि सरोकारवालाहरु नै अग्रसर हुनु पर्ने आवश्यकता छ । उपभोक्ता सचेतना ÷जागरण अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सबै सरोकारवालासँग माग गर्दै हामी उपभोक्तावादी संस्थाको तर्फबाट उक्त कार्यका लागि सहकार्य, समन्वय र सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दछौं ।
४) आम उपभोक्तालाई आफ्ना अधिकारका बारे सचेत हुन र आम उत्पादक विक्रेतालाई क्रेताको सम्मान गर्ने परिपार्टीको विकास गर्न अनुरोध गर्दछौं ।
५) सरकारी एवम् सार्वजनिक निकायमा उपभोक्ता÷सेवाग्राहीलाई छिटो, छरितो र प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गराउनका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदछौं । अहिले चाडपर्वको बेला बजार तथा यातायातका साधनमा हुने भीडभाडलाई मधयनजर गर्दै बढ्दो मात्रामा रहेको कोभिड–१९को संक्रमणबाट आम उपभोक्तालाई बचाउन सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड कडाईका साथ कार्यान्वयन गर्न गराउन हुन सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदछौं ।
प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने संविधान प्रदत्त मौलिक अधिकारलाई कार्यान्वयन गर्नु गराउनु तीनवटै तहका सरकार तथा स्थानीय प्रशासनको मुख्य दायित्व औल्याउदै  उपभोक्ताको स्वास्थ्य, सुविधा  र आर्थिक हीत कायम राख्न उपभोग्य वस्तु तथा सेवाको गुणस्तर, परिमाण एवम् मूल्यको अनियमितताबाट उपभोक्तालाई संरक्षण प्रदान गर्नु पर्ने अवस्था वर्तमानमा विद्यमान रहेको बताइएको छ ।
कोभिड —१९ को कारण सरकारले गरेको बन्दाबन्दी (लकडाउन), सीमा नाकाशील हुँदै  हाल चाडपर्वको मुखैमा आइपुग्दा विभिन्न बहानामा बजारमा मूल्यवृद्धि उत्कर्षमा पुगेको उनीहरुको ठहर छ । चर्को मूल्य, अखाद्य वस्तुको मिसावट, गुणस्तरहीन तथा म्याद गुज्रिएका सामग्रीको खुलेआम विक्रीवितरण भइरहेको पनि बताइएको छ  ।  वस्तुको कृतिम अभाव सिर्जना गरी मूल्य वृद्धि गरिएका घट्ना पनि सार्वजनिक भएको उल्लेख गर्दै यस्तो बेलामा आमउपभोक्ताको हितमा अग्रसर हुनु सबैको दायित्व हुने कुरा सुझाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस