gauradha suchana

 

 

दशैं मनाउने तरिका फरक तर श्रद्वा र आस्था एउटै

 

दशै मनाउने तरिका फरक तर श्रद्वा र आस्था एउटै
आत्माराम राजवंशी /
दसैंको उल्लासमा नभुल्ने को होला र ? बलियो सांस्कृतिक इतिहास बोकेका पूर्वी आदिवासी समुदाय पनि दशैं रमेर झुम्ने गर्दछन् । अन्य समुदायले मनाउने तरिका भन्दा उनीहरुको शैली भिन्न छ । झापा मोरङ्ग र सुनसरी जिल्लामा ठूलो संख्यामा बसोबास गर्ने आदीवासी समुदायका राजवंशी, ताजपुरिया, गन्गाई, थारु, सन्थाललाई पनि यस पर्वको उल्लासले राम्रैसंग छुने गर्छ । दशैंलाई उनीहरुले जात्रा पावनीका रुपमा रमाइलोसंग बिताउँछन् । धार्मिक मठ–मन्दिरहरुमा उनीहरुको जात्रा पावनी बित्ने गर्छ ।
खासगरी दशैंमा मन्दिरमा गई पुजाआजा गर्ने, भाकल अनुसार दुर्गा मन्दिरहरुमा बोका, हाँस, परेवा बलि दिने, नरिवल चढाउने, नयाँ लुगा किन्ने र लगाउने, मिठो–मसिनो खाने र हप्तौं दिनसम्म मेला भर्ने गरेको दृष्टान्तले जात्रा पावनीको रौनकले यस समुदायलाई पनि छपक्कै छोपेको पुष्टि गर्छ ।

आदिवासीहरूले दशैमा नाच्ने ढुल्की  नाच

यस क्षेत्रमा बसोबास गर्ने आदिवासी र अन्य समुदायबीच यो पर्व सांस्कृतिक एकता र सहिष्णुताको सेतु बन्न पुगेको छ । राजवंशी समाजका अगुवा पर्वतलाल राजवंशी राजवंशी भन्छन् – ‘आदिवासी समुदायले दशैं धुमधामसंग मनाउने गरेकोले यो पर्वले अरु समुदायसंग भावनात्मक सम्बन्ध जोडेको छ । मनाउने तरिका फरक छ तर श्रद्वा र आस्था एउटै छ । महानवमीको दिन आफ्नो नजिकको दुर्गामन्दिरमा डाला (केराका काइयो) चढाउने र मन्दिरबाट जमरा, टिका, प्रसाद लगेर ठूलाबडालाई लगाउने गरेको राजवंशी बताउँछन् ।
आदीवासी समाजमा दुर्गा मातालाई शक्तिको स्वरुपमा मानी र त्रिलोक विजय गरेका दैत्य राजा मैशासुरलाई बध गरी देवता, मानिसहरुको कल्याण अनि मुक्ति दिएको खुशियालीमा पूजा गर्ने चलन छ । उनका अनुसार यस समुदायले घरमा प्रयोग हुने हातहतियार, ओखल, मुस्ली, कोदालो, हलो, खन्ति, बसेला, जङ्गाल, धोइ पखाली गरी तिनीहरुको पूजा गछर्न ।

नवमीका दिन घरमा प्रयाेग गरिने हातहतियारहरू धाेई पखालेर पुजा  गर्ने गर्छन् 

यसरी पूजा गर्ने विधिलाई यस समुदायले हाल जङ्गाली सेवा भन्दछन् । हालजङ्गाली सेवा गर्दा विहानै घर आँगन लिपपोत गछर्न् । हालजङ्गाली सेवा गर्ने मानिस (घरमुली) उपवास बस्छन् । अनि पाँच ठाउँमा केराको पत्तामा पानसुपारी, चिनी, भाग, धुप, केराको प्रसादी लगाई पूजा गछर्न । गैरमाटी, खैरमाटी (रातो र खैरो रङ्गको माटोको डल्लो ) घोलेर पाँच–पाँच वटा टिका पूजा गरेको सबै समानहरुमा लगाइन्छ । त्यसपछि प्रत्येक घरको ढोकाहरुमा पाँच –पाँच वटा गरी टिका लगाइन्छ । आरोग्यको लागि घरमा रोगव्याध प्रवेश गर्न नसकोस् भनी दुवो र पैसा (डबल) ढोकाहरुमा टाँसिन्छ ।
झापा, मोरङ्ग, सुनसरीलगायत भारतको विहार र पश्चिम राज्यमा बसोबास गर्ने आदीवासीहरु दशमीको दिनदेखि पूर्णिमासम्म मेला भर्न जाने गछर्न । राजवंशी भाषाका कवि तथा गीतकार गोपाल राजवंशीका अनुसार जात्राले आदीवासी समाजमा नयाँ कुटुम्बहरुको लागि विशेष महत्व राख्दछ ।
नयाँ कुटुम्बहरु दशैंमा एक आपसमा लुगा, लत्ताकपडा दिने–लिने गर्दछन् । छोरी–ज्वाईहरु ससुरालीतिर गएर चाड मनाउने, मेला भर्ने चलन छ । तर, पर्वको नाममा फजुल खर्च गर्नु हुदैन, गीतकार राजवंशीले भने–‘यसले समाजमा विकृति भित्र्याउँछ ।’
यस समुदायमा जसको घरमा दुर्गा मन्दिर छ , उनीहरुले जमरा उमार्दैनन् । तर, नौ दिनसम्म चण्डी पाठ गर्ने गरेको आदीवासी समुदायका अगुवाहरु बताउँछन् । गाउँ–गाउँमा पिङ टाङ्ने गर्दछन् । केटाकेटी, बालबच्चा, बुढाबुढी मानिसहरु हाँस्दैखेल्दै पिङ खेलेर आनन्द लिने गर्दछन् । बर्षमा एकपटक पृथ्वी मातालाई आफ्नो बोझबाट मुक्त गर्न र एकचोटी जमिन छोड्नुपर्ने मान्यताबाट राजवंशीहरु सबै पिङ खेल्ने गरेको उनीहरु बताउँछन् । कोही –कोही दशैंको समयमा आकाशतारा टाङ्ने गर्दछन् । यो टाङ्ने काम दशैंदेखि तिहारसम्म गर्ने गरिन्छ ।
आदीवासीहरुले दुर्गा दवीसंगै काली, सरस्वतीको पनि पूजा गछर्न् । महानवमीको दिन लेख्ने, पढ्ने, गरे ज्ञान र विद्या बढ्छ भन्ने मान्यता अनुसार आफ्ना छोराछोरीहरुलार्य नया“ कापी र कलमले लेखाउने भलन छ ।
पावनीमा नाचगान गर्ने चलन पनि छ । विशेषतः राजवंशी ताजपुरिया र गन्गाईहरुले यो समयमा ढुल्की नाच गरेर हिँड्ने गर्दछन् । जात्रा पावनीको अवसरमा प्रत्येक घरमा गई सामूहिक नाचगान गर्ने गछर्न् ।

उनीहरु यसरी नाचगान गरेर संकलन भएको पैसा र जिन्सी समाजलाई फाइदा हुने साझा काममा लगाउँछन् । जात्रा पावनीको अवसरमा उनीहरुले दुर्गा मन्दिर भएको स्थानमा वर्षेनी मेला लगाउने गर्दछन् । तर विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले गर्दा कहिकतै मेला बजार नलाग्ने प्रशासनले जनाएको छ ।
झापामा उनीहरुले जुरोपानीको दुधाली मेला, गौरीगंज, ग्वालडुब्बा मेला, दामुना, खजुरगाछी, चन्द्रगढीको चैतुमन्दिर, हल्दीवारीको पाराखोपी, गौरीगंजलगायतका स्थानमा मेला लगाइएको पाइन्छ ।


यो पनि पढौँ

प्रधानमन्त्री केपी ओली आईतबार झापा आउँदै

हाजिर पुस्तिकासहित गाैरादह नगरपालिका कार्यालय अगाडि शिक्षकहरू धर्ना, विद्यालयकाे पठनपाठन ठप्प

नेपाल शिक्षक संघ गाैरीगंजकाे प्रतिनिधि सभा सम्पन्न, दुई जना सेवानिवृत शिक्षकलाई सम्मान

सर्वाेच्च अदालतले संसद विघटन विरूद्व गरेकाे निर्णयकाेे खुशीयालीमा गाैरीगंजमा दिपप्रज्वलन

निशानको म्याग्नाइट बिर्तामोडमा सार्वजनिक

‘मुलुक चुनावमा जाने सम्भावना बढेको छ’ – राप्रपा अध्यक्ष थापा