वालगायिका कृपाले ल्याइन् शिव ताण्डव स्तोत्रको म्युजिक भिडियो

October 29, 2020 मा प्रकाशित

 

Advertisement


बिर्तामोड १३ , कात्तिक /  झापा विर्तामोड –२ चारपानेकी १३ वर्षीया वालगायिका कृपा पौडेलले शिव ताण्डव स्तोत्रको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् ।
  बुवा कुमार पौडेल तथा आमा अनिता पौडेलकी सुपुत्री उनले १३ वर्षकै उमेरमा शिव ताण्डव स्तोत्र पाठ गरी म्युजिक भिडियो बजारमा ल्याएकी हुन् ।
  विर्तामोडस्थित मिडलप्वाइन्ट स्कूलकी कक्षा ८ कि विद्यार्थी उनी वोर्डिङ स्कूलमा पढेपनि सानैदेखि धार्मिक अनुष्ठानमा भजन गाउँथिन् ।
विर्तामोडमा रहेको सरगम संगीतालयमा संगीत सिक्दै गरेकी उनले वालाचतुर्दशी , शिवरात्री पर्वमा अर्जुनधारा जलेश्वरधाममा हुने धार्मिक अनुष्ठान , साहित्य चौतारी बिर्तामोड झापामा हुने विविध कार्यक्रममा समेत भजन , राष्ट्रिय गीत गाएर दर्शक तथा श्रोतालाई मन्त्रमुग्ध पार्थिन् ।
 सुरीलो स्वरकी धनी कृपाले महान् विद्वान एवम् परम् शिवभक्त लङ्काधिपति रावणद्वारा रचिएको शिवको स्तोत्र शिव ताण्डव स्तोत्रको पाठ गरी म्युजिक भिडियो समेत निकालेर सवैलाई चकित पारेकी छिन् ।
पञ्चचामर छन्दमा रहेको शिव ताण्डव स्तोत्र यसको अनुप्रास र समास बहुलभाषा संगीतमय ध्वनी र प्रवाहको कारण शिवभक्तहरूमा प्रिय रहेको बताइएको छ । सुन्दर भाषा एवम् काव्यशैलीको कारण सम्पूर्ण स्तोत्रहरूमा विशिष्ट स्थानमा रहेको शिव ताण्डव स्तोत्रलाई पंकज सिग्देलको संगीत संयोजनमा कृपाले स्वर दिएकी छिन् । तवलावादक रंगनाथ खनालको तवलावादन र वाँसुरीवादक मित्र मगरको वाँसुरीवादनले शिव ताण्डव स्तोत्रलाई अझ मन्त्रमुग्ध वनाएको छ ।    
 पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाममा छायाङ्कन गरिएको शिव ताण्डव स्तोत्रमा कृपाले र भगवान शिवको भूमिकामा माधव भेटवालले अभिनय गरेका छन् ।
  पदम तामाङको श्रृंगारले झन् कलाकारलाई साँच्चैको पो भगवान शिव हो की ! भन्ने छुट्याउन दर्शक तथा श्रोतालाई कठीन पारेको छ ।


  १३ वर्षकै उमेरमा शिव ताण्डव स्तोत्र पाठ गरी म्युजिक भिडियो निकाल्न आचार्य छन्दुराम भण्डारी , संगीत प्रशिक्षक दीपक रायमाझी , कृष्ण योञ्जन , मणी वर्देवा , बुवा कुमार पौडेल ,आमा अनिता पौडेल ,दाजु अनुपम पौडेललगायतको प्रेरणा र हौसला पाएको कृपा वताउँछिन् ।
  शिव ताण्डव स्तोत्रको गठनशैली जटिल भएपनि आफूले निकै मेहनत गरेर शिव ताण्डव स्तोत्र पाठ गरेको उनले बताइन् ।
 आफ्नो जन्मदिनको दिन शिव ताण्डव स्तोत्रको  म्युजिक भिडियोको आचार्य छन्दुराम भण्डारीबाट विमोचन गराएकी कृपाले आफूलाई संगीत सिकाउने संगीत प्रशिक्षक दीपक रायमाझीलाई सम्मान गर्नुका साथै संगीत सिक्ने सरगम संगीतालयलाई कुर्सी समेत प्रदान गरिन् ।
 कार्यक्रममा सहभागीले १३ वर्षकै उमेरमा शिव ताण्डव स्तोत्रको पाठ गरी म्युजिक भिडियो समेत निकालेकोमा कृपाको प्रशंसा गरेका थिए ।
कार्यक्रममा सहभागी आचार्य छन्दुराम भण्डारीले १३ वर्षकै उमेरमा   कृपाले अत्यन्त कठीन मानिएको  शिव ताण्डव स्तोत्रको पाठ गर्नु चानचुने कुरा नभएको बताए ।
 शिव ताण्डव स्तोत्र सुन्नाले मात्रै पनि सम्पूर्ण दुःख निवृत्ति हुने बताउँदै उनले जीवनमा गरिएको सवैभन्दा ठूलो गल्ती जसको कुनै प्रायश्चित नै छैन त्यस्ता कर्महरुको पाप पनि शिव ताण्डव स्तोत्रको पाठले पखालिएर जाने बताए । 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस