लालुप्रसाद यादवका छोरा तेजश्वी नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण

November 8, 2020 मा प्रकाशित

Advertisement

गाैरीगंज २३, कार्तिक /

एक्जिट पोलहरूले भारतको विहार राज्यमा लालुप्रसाद यादवका छोरा तेजश्वी नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका छन्।

शनिबार सार्वजनिक भएका प्रक्षेपणमा सत्तासीन मुख्यमन्त्री नितिश कुमार र भारतीय जनता पार्टी गठबन्धनलाई तेजश्वी  गठबन्धन धक्का दिने देखाइएको छ। बिहारमा शनिबार तेस्रो चरणको विधान सभा निर्वाचन सम्पन्न भएको छ।

एनडिटिभीको एक्जिट पोलअनुसार तेजश्वी नेतृत्वको विपक्षी गठबन्धनले २४३ मध्ये १ सय २८ सिटमा बहुमतसहित जित हासिल गर्ने र एनडिए गठबन्धनले ९९ सिट ल्याउने छ।

यसैगरी चिराग पासवान नेतृत्वको लोक जनशक्ति पार्टी(एलजेपी)ले ६ सिट ल्याउँने आँकलन गरिएको छ।

बिहारमा सरकार गठनका लागि कुनै पनि पार्टी वा गठबन्धनलाई १ सय २२ सिट आवश्यक पर्छ।

द इण्डिया टुडे-एक्सिज माइ इण्डिया पोलले महागठबन्धनलाई १ सय ६१ सिटमा १३९ सिट र नितिश-बिजेपी गठबन्धनले ६९ देखी ९१ सिट ल्याउने जनाएको छ भने एलजेपीले ३ देखि ५ सिट जित्ने बताएको छ।

यस्तै टाइम्स नाउ-सी भोटर अनुसार एनडिएले ११६ र विपक्षी गठबन्धनले १ सय २० सिट जित्ने प्रक्षेपण गरेको छ। उसले चिरागको पार्टीले एक सिट जित्ने अनुमान गरेको छ।

त्यसैगरी रिपब्लिक टिभीले विपक्षीलाई ११८ देखी १३८ सिट प्राप्त हुने र सत्ताशिन एनडिएले ९१ देखी ११७ सिट ल्याउने बताएको छ भने चिरागको पार्टीले ५ देखि ८ सिटमा जित हासिल गर्ने जनाएको छ।

विहार निर्वाचनको अन्तिम परिणाम मंगलबार घोषणा हुनेछ।

एक्जिट पोल अनुसारकै नतिजा आएमा नितिश कुमारको लगातार चौथो पटक मुख्यमन्त्री बन्ने चाहानामा धक्का लाग्नेछ। 

बेरोजगारी, आप्रवासन समस्या, कोरोना तथा बाढी व्यवस्थापनमा नितिशले आलोचना खेप्दै आएका छन् र यिनै उनको हारको कारण हुनेछ।

६९ वर्षीय नितिशले अन्तिम समयमा नाटकिय ढंगले यो नै आफू लड्ने अन्तिम निर्वाचन भएको घोषणा गरेका थिए।

को हुुन् तेजश्वी

यसपालि बिहार चुनावमा ६९ वर्षीय नितिश कुमारलाई टक्कर दिँदैछन्, ३२ वर्षीय तेजश्वी यादवले।

भ्रष्टाचारको अभियोगमा जेल जीवन बिताइरहेका बिहारका पूर्व मुख्यमन्त्री लालु यादवका कान्छा छोरा हुन् तेजश्वी। उनी सन् २०१५ मा नितिश कुमारको सरकारमा उप-मुख्यमन्त्री थिए।

त्यो बेला नरेन्द्र मोदीको हिन्दुवादी पार्टीलाई रोक्न भनेर नितिश कुमारको जनता दल संयुक्त (जेडियु) र लालुको राष्ट्रिय जनता दलले (आरजेडी) मिलेर चुनाव लडेका थिए। सो गठबन्धनले चुनाव जितेपछि नितिश मुख्यमन्त्री बने भने तेजश्वी २६ वर्षकै उमेरमा उप-मुख्यमन्त्री बनेका थिए।

सत्तामा पुगेपछि र भ्रष्टाचारको विषयमा यादव परिवार जोडिन थालेपछि नितिशले विस्तारै आरजेडीसँग दुरी बढाउँदै लगे। प्रधानमन्त्री मोदी र भाजपाको प्रभाव देशैभरि बढ्न थालेपछि बिहारमा आफूलाई सुरक्षित राख्न नितिशले भाजपासँग सम्बन्ध बढाएको आरोप लाग्ने गरेको छ।

सन् २०१७ मा नितिशले आरजेडीलाई सत्ताबाट निकालेर भाजपासँग सत्ता-साझेदारी गरे। अहिले भाजपा, बिहारका अध्यक्ष सुशील मोदी नितिशका उप-मुख्यमन्त्री छन्। 

नितिशसँग सत्तासाझेदारी छुटेपछि तेजश्वी एकैपटक उप-मुख्यमन्त्रीबाट प्रतिपक्षी दलको कुर्सीमा पुगेका थिए। सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा बिहारका ४० सिटमध्ये एउटामा पनि आरजेडीले जित्न नसकेपछि तेजश्वीको राजनीतिक भविष्य माथि टिकाटिप्पणी हुन थालेको थियो। 

तेजश्वीले हार मानेन्। पछिल्लो एक वर्ष उनले १२ करोडभन्दा बढी जनसंख्या भएको र जातीय राजनीतिले जरो गाडेको बिहारका कुना-कुना पुगेर निरन्तर प्रचारप्रसार गरे। उनको युवा अनुहार, बुबा लालुको जस्तै आम लवजमा भाषण गर्ने शैली, तीन पटक मुख्यमन्त्री भएका नितिशप्रतिको घट्दो आकर्षण र कोरोनाले गर्दा बिहारमा रोजगारी र आममानिसको आयमा आएको कमीले तेजश्वी यादवप्रतिको आकर्षण बढेको विश्लेषकहरूको भनाइ छ। 

त्यसमाथि तेजश्वीले आफ्नो गठबन्धनले चुनाव जितेमा आफू नेतृत्वको सरकारले पहिलो निर्णयमै दस लाख रोजगारी सिर्जना गर्ने वाचा गरेका छन्। 

भाजपा-जेडियुको सत्तारुढ गठबन्धनलाई चुनौती दिन तेजश्वीले बिहारमा कांग्रेस-आई र वामपन्थी पार्टीहरूसँग मिलेर ‘महागठबन्धन’ निर्माण गरेका छन्।

प्रियंका गान्धीसँग मिलेर उनले बिहारमा कठिन मानिएको कांग्रेस-आरजेडी गठबन्धन सम्भव तुल्याएका हुन्। २४०-सदस्यीय बिहार विधानसभामा कांग्रेस-आई ७० सिटमा, तेजश्वीको आरजेडी १४० सिट र बाँकी सिटमा वामपन्थी र साना दल लड्दैछन्। तेजश्वी सो गठबन्धका तर्फबाट मुख्यमन्त्रीको उम्मेदवार हुन्।

पछिल्लो पटक गरिएका मत सर्वेक्षणले बिहारमा अहिले पनि भाजपा र नितिश कुमारको गठबन्धनलाई अगाडि देखाएका छन्। ती सर्वेक्षणले नितिश कुमारको लोकप्रियता व्यापक रूपमा झरेको पनि देखाएका छन्।

तेजश्वी यादवप्रति युवाहरूको बढ्दो आकर्षणको एउटा कारण त्यसलाई पनि मानिएको छ।

तेजश्वी क्रिकेटका पूर्व खेलाडी हुन्। उनले कक्षा ९ पढ्दा पढ्दै औपचारिक शिक्षा छाडेका थिए। उनी कुनै समय झारखण्डको टिमबाट रन्जी ट्रफी खेल्ने गर्थे। उनी आइपिएलको सुरूआती चरणमा दिल्लीको टिममा पनि चुनिएका थिए। आइपिएल खेल्न भने उनले पाएनन्।

औपचारिक शिक्षा कम भएको र भ्रष्टाचारमा उनको परिवारको संलग्नताको विषयलाई लिएर भाजपाले  तेजश्वीको आलोचना गर्ने गरेको छ। तेजश्वीका बाबु लालु सन् २०१८ देखि जेलमा छन्। 

तेजश्वीले भने कैंयन खेलाडीको औपचारिक शिक्षा कम हुने गरेको र आफ्नो पनि त्यो बेला पढाइभन्दा खेलमा ध्यान गएको जवाफ दिने गरेका छन्।

उनका बुवा लालुले गरेको भ्रष्टाचारमा उनलाई पनि मुछ्ने गरिएकामा पनि तेजश्वीले जवाफ दिने गरेका छन्।

उनी उल्टै सोध्ने गर्छन्, ‘मेरो जुँगाको रेखी पनि नबसेको समयमा भएको भ्रष्टाचार मुद्दामा मेरो आलोचना किन? म उप-मुख्यमन्त्री हुँदा कुनै भ्रष्टाचार गरेको भए त्यसमा कुरा गरौं न।’

बिहारका सडकहरूमा खाल्डा देखे आफूलाई खबर गर्न भन्दै तेजश्वीले सरकारमा भएका बेला आफ्नो ह्वाट्स एप नम्बर बाँडेका थिए। उनलाई त्यस्ता उजुर कति आए त थाह छैन, तर त्यो बेला २६ वर्षीय लक्का जवान तेजश्वीलाई आफूसँग बिहे गर्न भन्दै ४० हजार युवतीहरूले म्यासेज पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

(सेताेपाटी डटकमबाट )

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस