गणतन्त्र, धर्म निरपेक्षता र संघीयता देशले पायो नागरिकले के पाए ? – नेता लिङ्देन

December 5, 2020 मा प्रकाशित

Advertisement

विर्तामोड २०, मंसिर / राष्ट्रिय प्रजातन्त्र पार्टीले आज देशभर प्रदर्शन गरेकाे छ ।
राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्रकाे पक्षमा राप्रपाले देशभर प्रदर्शन गरेकाे हाे ।
राजसंस्था र हिन्दुराष्ट्रकाे पुनर्स्थापना, संघीयताकाे खारेजी, भष्ट्राचार नियन्त्रणलगायतका विषयमा नारावाजी गर्दै झापामा पनि राप्रपाले प्रदर्शन गरेकाे छ ।

विभिन्न पालिकाबाट निस्केका मोटरसाइकल र्याली काँकरभिट्टामा भेला भएर एकैसाथ बिर्तामोड आएको थियो ।
बिर्तामोडमा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै राप्रपाका नेता राजेन्द्र लिङ्देनले राजसंस्था पुनर्स्थापन गर्न नेपालमा अावश्यक रहेकाे बताए ।
हिन्दुराष्ट्र कुनै जात विशेषले मान्ने धर्म मात्र नभएर नेपाली जनताको एकता, गौरब र पहिचानसँग सम्बन्धित विषय रहेको जनाए ।
नेता लिङ्देनले संघीयता नेपालजस्तो सानो देशले धान्न नसक्ने बताउँदै राप्रपाको बलियो संगठन रहेको झापा जिल्लासँगै देशभर भइरहेको प्रदर्शनमा ऐक्यबद्धता व्यक्त गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।
देशलाई आवश्यक परेको खण्डमा सबै आन्दोलनको नेतृत्व गरेको राजधानीमा गएरै आफूहरु आन्दोलन गर्न तयार रहेको नेता लिङ्देनले बताए । शनिबार भएको प्रदर्शन एक शुरुवात मात्र रहेको उनको भनाई थियाे ।
“गणतन्त्र धर्म निरपेक्षता र संघीयताको पक्षमा उभिने नागरिकलाई भन्न चाहन्छु, गणतन्त्र, धर्म निरपेक्षता साधन नभएर साध्य मात्र हो” लिङ्देनले प्रश्न गरे “गणतन्त्र, धर्म निरपेक्षता र संघीयता देशले पायो नागरिकले के पाए ?”
दुईतिहाइ मत पाएर देशका अध्यक्ष बनेका दुई नेताहरु नै एक–अर्कालाई भ्रष्टाचारी र हत्याराको आरोप लगाएर बसेका छन्, यो कस्तो व्यवस्था हो ? लिङ्देनले प्रश्न गरे । गणतन्त्र धर्म निरपेक्षता र संघीयता झुटको खेती रहेको तर्क गर्दै त्यसका लागि सती नजान नागरिकलाई आग्रह गरे । “राजा आएपछि सबै जादुमय तरिकाले परिवर्तन हुने होइन तर, राजसंस्थाको पुनःस्र्थापना भएपछि देशमा शान्ति र स्थिरता कायम भने हुन्छ” लिङदेनले भने । देश ब्रिग्रिए शीर्ष नेताको केही नबिग्रने जिकिर गरेका नेता लिङ्देनले समग्र नागरिकको भविष्य बिग्रन नदिन राज्य व्यवस्था र नेतृत्व नै परिवर्तन गर्नुपर्ने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस