दलका झापाली नेताहरु भन्छन्ः ‘विवाद होइन संवाद र सहमतिकाट अघि बढौं’

January 1, 2021 मा प्रकाशित

Advertisement

बिर्तामोड १७, पुस/ मुलुकमा राजनीतिक घटनाक्रमले अन्यौल बढिरहेका बेला झापाका मुख्य राजनीतिक दलका नेताहरुले एकैथलोमा बसेर संवाद र उच्च राजनीतिक संस्कारको सन्देश दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन र त्यसपछि  दलहरुबीच दूरी बढेको समयमा उनीहरुले दलहरुबीचको समस्या आपसमा नै बसेर हल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

संवाद समूहको सचिवालय झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको छलफलमा उनीहरुले राजनीतिक विवाद र द्वन्द्वलाई दलहरुबीचमा नै बसेर समाधान गर्ने र उच्च राजनीतिक संस्कार कायम राख्ने प्रतिबद्धता जनाएका हुन् ।

छलफलमा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले राष्ट्रवादी शक्तिहरुबीच एकता र मेलमिलापमा जोड दिए । देश र जनताप्रति गम्भीर भएर सोच्न नेतृत्वलाई आग्रह गर्दै उनले प्रतिनिधिसभा पुनस्र्थापनाको विकल्प नभएको बताए ।

नेकपा झापाका सचिव मणिकुमार साम्पाङ विजयले झगडा होइन मिलेर निरन्तर अघि बढ्न आह्वान गरे । नेकपा विभाजनले तरंगित भए पनि आफूहरु झडपको मानसिकतामा नरहेको उनले बताए । ‘पार्टीको औपचारिक विभाजन हुँदाको अवस्थामा पनि चिन्तनजी (नेकपा झापा अध्यक्ष चिन्तन पाठक)सँग हात मिलाएर नै छुट्टिने छौं ।’ –पार्टी सचिव विजयले भने ।

नेकपा झापाकै सचिवालय सदस्य शिव ढुंगेलले दलहरुबीचको समस्या आपसमा बसेर नै हल गर्न आग्रह गरे । सडकले समस्याको निकास नदिने भन्दै उनले न्यायालयको फैसला नै निकास हुने बताए । पार्टी फुटले नेकपाभित्र बढ्दो तिक्तताप्रति आफूहरु गम्भीर रहेको उनको भनाइ छ ।

जनता समाजवादी पार्टी झापाका अध्यक्ष अनुतसिंह राजवंशीले समस्या समाधानका लागि प्रतिनिधि सभा पुनस्र्थापको विकल्प नभएको बताए ।

राजनीतिक घटनाक्रमले उत्पन्न वर्तमान अन्योलको निकास, दलहरुबीचको सम्बन्ध र भूमिका विषयमा भएको छलफलमा दलका नेताहरुले उत्तेजना होइन, धैर्यता र संयमता कायम राख्न आग्रह गरेका थिए ।
राप्रपा झापाका सचिव केशव ओझाले न्यायालयको निर्णय नै निकासको मुख्य बाटो हुने बताउँदै न्यायलयले यो विषयलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिए । नेकपाका नेताहरुबीचको छेडछाड र निकृष्ट भाषाशैलीको प्रयोगले परिस्थिति उत्तेजित हुनेतर्फ संकेत गर्दै ओझाले त्यस्तो कार्य नगर्न आग्रह गरे ।
नेपाली कांग्रेसका नेता देउमान थेवेले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदम भएको बताउँदै यसको निकास न्यायलयबाट आउने विश्वास व्यक्त गरे ।

जसपाकी जिल्ला उपाध्यक्ष संगीता रौनियारले दलहरुको आन्दोलन शान्तिपूर्ण हुनेपर्नेमा जोड दिँदै  प्रतिनिधिसभा पुनस्र्थापना र संघीयताको पक्षमा वकालत गरिन् ।
 राप्रपाकी जिल्ला सहसचिव रञ्जु प्याकुरेल बरालले संघीयता खारेज हुनुपर्नेमा जोड दिँदै संवैधानिक राजतन्त्र र कार्यकारी प्रधानमन्त्रीको पक्षमा वकालत गरिन् ।
छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस