प्रकृति धर्म कि हिन्दु धर्म के लेख्ने ? भ्रम फेरि शुरू

October 27, 2020 मा प्रकाशित

Advertisement

बिर्तामोड११ , कात्तिक / २०५८ सालको जनगणनाका बेलामा केही जातीय अगुवाहरु गणकसँग घरघरमा हिडेका थिए आफ्नो जातिको धर्म प्रकृति लेखाउन । २०६८ सालको जनगणनाका बेलामा पनि त्यसरी नै राजवंशी , ताजपुरिया , गनगाई ,चौधरीलगायतका जातिका केही अगुवाहरु धर्मको महलमा हिन्दु नलेखेर प्रकृति लेख्न सिकाउँदै हिडे । यस वर्षको राष्ट्रिय परिचय पत्रको विवरण संकलन कार्यमा पनि जातीय अगुवाहरु त्यही कुरा सिकाउँदै छन् ।

जसबाट परापूर्वकालदेखि हिन्दु धर्म मान्ने यी जातिमा भाषा र धर्मका बारेमा अन्यौल सिर्जना गर्न खोजिएको छ । खासगरी २०५८ सालको जनगणनाका बेलादेखि ती जातिमाझ प्रकृति धर्मको भ्रम ल्याइएको हो । प्रकृतिको पुजा गर्ने भएकाले आफूहरुको धर्म प्रकृति भएको केही जातीय अगुवाको दावी छ । तर, त्यस धर्मको उत्पति,देवीदेवता, संस्कार संस्कृति, धर्मग्रन्थ के हो भनेर बुझाउने आधार र प्रमाण उनीहरुसँग छैन । त्यही भएर अधिकांशले प्रकृतिको भ्रममा नपरी धर्मको महलमा हिन्दु नै लेखाउँदै आएका छन् । २०५८ सालको जनगणनाका बेला अरुको लहैलहैमा लागेर प्रकृति धर्म लेखाउन लगाएका राजवंशी समाज विकास समितिका झापाका पूर्व अध्यक्ष भवानी राजवंशी अहिले स्वयं पश्चाताप गरिरहेका छन् ।

युरोपियन युनियनको डलरमा बिकेका आदिबासी जनजाति महासंघका नेताहरुले फैलाएको भ्रममा परेर आफूहरुले ओमकार समाजका हिन्दु धर्मावलम्बी राजवंशीहरुलाई प्रकृति भनेर लेखाउन बाध्य भएको उनले खुलासा गरे । नेपालमा हिन्दुभन्दा अहिन्दुहरुको सँख्या बढी देखाएर धर्म निरपेक्ष राष्ट्र घोषणा गर्ने मिशनमा जनजाति नेताहरुले राजवंशी , ताजपुरिया , गनगाई ,माझी, चौधरीलगायतका हिन्दु धर्मावलम्बीहरुलाई प्रयोग गरेका थिए । त्यस मिशनमा सफल बनेका उनीहरु अहिले ती जातिको भाषा , संस्कृति र धर्म बिगारेर सिंगो जातिलाई नै कमजोर बनाउन लागेको राजवंशी समाज विकास समितिका पूर्व अध्यक्ष राजवंशीको दावी छ । पूर्व अध्यक्ष राजवंशी भ्रममुक्त भएपनि अझै केही आदिबासी नेताहरु नबुझीकन अरुको लहैलहैमा लागेर आफूलाई प्रकृति धर्मको प्रचार गर्दै आएका छन् । ईस्वी सम्वत १४९६ तिर कोचहरुका पहिलो राजा विश्वसिंहले अनार्यबाट आर्य हिन्दु धर्म ग्रहण गरेको कोचहरुको इतिहासले पुष्टि गरेको छ । त्यस्तै पर्शुरामले तागाधारीहरुको हत्या गर्न थालेपछि क्षेत्री समुदायका कोचहरुले डरले तागा अर्थात जनै चुँडाएर फ्यालेको इतिहास पनि छ । अरु हिन्दु धर्मावलम्बी सरह प्रकृतिपुजा गर्दै आएका राजवंशी , ताजपुरिया , गनगाई , माझी, चौधरीलगायतका जातिहरुले सदियौंदेखि हिन्दु धर्मकै संस्कार , संस्कृति र परम्परा मान्दै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस