राजवंशी महिला श्रमिकहरुको सशक्तिकरणका लागि बिर्तामोडमा पहिलोपटक प्रशिक्षण

January 26, 2021 मा प्रकाशित

Advertisement

बिर्तामोड १३, माघ /  निर्माण क्षेत्रमा ठूलो सँख्यामा कार्यरत राजवंशी महिला श्रमिकहरुको सशक्तिकरणका लागि बिर्तामोडमा पहिलोपटक प्रशिक्षण आयोजना गरिएको छ ।
राजवंशी समाज विकास समिति बिर्तामोड ५ को वडा समितिले आजदेखि दुईदिने सो प्रशिक्षण संचालन गरेको हो । लेवर काम गर्ने राजवंशी महिला श्रमिकहरुलाई लक्षित गरी पहिलोपटक प्रशिक्षण संचालन गरिएको राजवंशी समाज विकास समिति बिर्तामोड ५ की अध्यक्ष रुपा राजवंशीले बताइन् । प्रशिक्षणमा बिर्तामोड नगरपालिका ५ नं वडा कार्यालयको सहयोग तथा साना निर्माणकर्मी संघको सहकार्य रहेको छ । असंगठित र अव्यवस्थित रुपमा ठूलो सँख्यामा निर्माण क्षेत्रमा रहेका आदिबासी राजवंशी महिला श्रमिकहरुको अबस्थाका बारेमा जानकारी लिई उनीहरुलाई स्तरीकरण गर्ने उद्धेश्यले कार्यक्रम संचालन गरिएको अध्यक्ष रुपाले बताइन् ।

बिर्तामोड नगरपालिका वडा नं ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कार्यक्रमको उद्घाटन गर्दै निर्माण क्षेत्रमा बिर्तामोडमा रहेका आदिबासी महिलाहरुको सँख्या र अबस्थाको पहिचान गरी उनीहरुको लागि ठोस कार्यक्रम ल्याउन आवश्यक भएको जोड दिए । उनले त्यसका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
राजवंशी समाज विकास समिति बिर्तामोड ५ की अध्यक्ष रुपाको अध्यक्षतामा भएको कार्यक्रममा राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष जितलाल राजवंशी , बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य सुरेन राजवंशी ,साना निर्माणकर्मी संघका अध्यक्ष राजु राजवंशी , नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता विमली , न्यूटन्स टोल विकास संस्थाका अध्यक्ष लवकुमार चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । राजवंशी समाज विकास समिति बिर्तामोड ५ की उपाध्यक्ष विनु राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको उद्धेश्यमाथि प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीले प्रकाश पारेका थिए । कार्यक्रमको संचालन कोषाध्यक्ष अन्जु तिमल्सिना राजवंशीले गरेकी थिइन् । कार्यक्रमको पहिलो दिन जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख कृष्णप्रसाद राजवंशीले सहजीकरण गरेका छन् । त्यस्तै दोस्रो दिन साना निर्माणकर्मी संघका प्रमुख सल्लाहकार कृष्ण भट्टराईले सहजीकरण गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । कार्यक्रममा बिर्तामोड ५ का २० जना राजवंशी महिला निर्माण श्रमिकहरुको सहभागिता रहेको छ । बिर्तामोड क्षेत्रमा ५ हजारको सँख्यामा आदिबासी महिला निर्माण श्रमिकहरु रहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस