निःशब्द छु, दाईजाे माग्दा

May 8, 2021 मा प्रकाशित

 

Advertisement

रुपा राजवंशी

विश्व कोरोनाको महामारीबाट आक्रान्त छ । मानिसहरु कोरोना संक्रमणबाट आफ्नो र घरपरिवारको ज्यान कसरी बचाउन सकिन्छ भनेर चिन्तित छन् । कोरोना कहरका बेला मोरङ्गको जहदामा दाइजोको एउटा घटनाले निकै चर्चा पायो । त्यस घटनाका बारेमा संचारमाध्यमबाट पढ्न पाउँदा मेरो मन मस्तिष्कलाई झस्काईदियो ।

दुई वर्षअघि दाइजो नदिएको निहुँमा मण्डपमै बेहुली छोडेर हिडेका मोरङ जहदा गाउँपालिका ४ कविलासाका लक्ष्मण राजवंशीले अर्को विवाह गर्न लागेका रहेछन्् ।मेरो मनमा खड्किएको कुरा लक्ष्मणले दाइजो नदिँदा मण्डप छोडेर हिडेको घटना त्यतिबेला सायद कसैले पनि उठाएनन् होला । मानौ, त्यतिबेला दाइजो नदिँदा बेहुलीलाई मण्डपमै छोडेर जानु स्वाभाविक थियो । उनले बेठीक गरे भनेर भन्नेवाला कोही निस्केनन् । निस्केको भए उनले दोस्रो विवाह गर्न लागेको सुनेर यतिबेला हामीले छक्क मान्नुपर्ने थिएन ।

अहिले उनले अर्को विवाह गर्न लाग्दा मात्र दुई वर्षअघिको घटना बाहिर आएको छ ।समाचारमा भनिए अनुसार उनले २०७६ साल जेठ ३ गते जहदा ३ जयरामपुरकी सुमित्रा राजवंशीसँग विवाह गरेका थिए ।उनले विवाहमा दाइजोस्वरुप १ तोला सुनको सिक्री, अपाचे मोटरसाइकल र डाइनिङ टेबल माग गरेका थिए । तर, बेहुली पक्षले आर्थिक विपन्नताका कारण होण्डाको साइन मोटरसाइकल मात्रै दिए भने १ तोलाको सुनको सिक्री र डाइनिङ टेबुल दिन सकेनन् । त्यसपछि बेहुला पक्षले बेहुली सुमित्रालाई विवाहको अन्तिम समयमा आएर मण्डपमै छोडेर हिडेको थियो ।

राजवंशी जातिमा बेहुली अन्माउनुभन्दाअघि बेहुलालाई खिर खुवाउने चलन छ । त्यहीबेला लक्ष्मणले आफ्नो मागबमोजिम दाइजो नदिएको भन्दै बेहुली छोडेर हिडेको संचारमाध्यमले जनाएका छन् ।
तिनै लक्ष्मण जसले दाइजोको लोभमा विहे गरिसकेपछि नवबधुलाई छोडेर गए ,कति आशा र भरोसाले सुमित्रा लक्ष्मणसँग विवाह बन्धनमा बाँधिएकी थिइन् होला ,उनको भावनालाई लत्याएर मण्डपमै छोडेर गए । सायद त्यो दृश्य चलचित्रको कथाभन्दा कम मार्मिक थिएन होला ।

छोरीको नयाँ जीवन शुरुवात हुन्छ भनेर सुमित्राका बुवाआमा कति आशावादी थिए होलान् । आफ्नो आर्थिक हैसियतले भ्याएसम्म मोटरसाइकल त दिएकै रहेछन् त । दाइजोमा अपाचे बाइक नै चाहिने ? साइन बाइकले नहुने ? रहर नै हो भने आफूले दुःख गरेर आर्जन गरेको पैसाले पूरा गर्न सक्नुपर्छ । वरवधुको सुखी दाम्पत्य जीवनका लागि आशीर्वाद दिन कति धेरै आफन्त , नातागोता र छरछिमेक विवाहमा भेला भएका थिए होलान् ।

लक्ष्मणको त्यो हर्कतले साराका साराको सपना तुहियो ।सबै अवाक भए , अकमक्क भए होलान् । कति पीडादायी र दर्दनाक थियो होला बेहुलाले बेहुलीले छोडेपछिको दृश्य । दाइजोका हिमायतीहरुलाई यो घटना सामान्य जस्तो लाग्न सक्छ । तर, सिंदुरपोते लगाइदिएर लक्ष्मणले छोडेकी सुमित्रा , उनका बुवाआमाको मनमा के बितिरहेको छ भन्ने कुरा उनीहरुलाई मात्र छ । मलाई त लक्ष्मणले छोडेको सुमित्रा अनि अर्को विहे गर्न लागेको लीलाकुमारी दुवैलाई संझिदा माया लाग्यो ।
म राजवंशी समुदायकी महिला हुँ । म कसैको छोरी थिए अहिले श्रीमती हुँ । मेरा पनि दुईजना छोरी छन् ।यस्ता घटनाले हामी छोरीका अभिभावकहरुलाई चिन्तित बनाएको छ ।

राजवंशी समुदायमा आयातित दाइजो प्रथाले विकराल र दर्दनाक रुप लिदै गएको छ । विशेष गरी मधेशी समुदाय व्याप्त दाइजो प्रथाले राजवंशी समुदायमा जरो गाडिसक्यो । हुँदाखानेहरु सकीनसकी दाइजो दिन बाध्य छन् भने हुनेखानेहरु रमाइ–रमाई दाइजो प्रथालाई बढावा दिदै गएका छन् । सबै कुरामा सम्पन्न खस समुदायमा यो प्रथा त्यति बाध्यात्मक मानिदैन तर आर्थिक अबस्था कमजोर बनेका हाम्रो राजवंशी समुदायका लागि यो चलनकै रूपमा चल्न थालेको छ अथवा एक प्रकारको बाध्यकारी परम्परा नै बनेको छ ।

गरिबीबाट ग्रस्त परिवारलाई छोरीको विवाह गर्नु भनेको ऋणको भार बोक्नु सरह नै सावित हुन्छ । दाईजो प्रथाको आर्थिकभन्दा पनि सामाजिक र मनोवैज्ञानिक पाटो अझै विकराल छ । छोरा जन्मदा खुसी हुने परिवार छोरीको जन्म हुँदा दुःखी हुने गर्दछन् । छोरीमाथिको लैंगिक विभेद गर्भबाट नै सुरू हुने गरेको छ । दाइजो एक प्रथा भएकोले बाध्यात्मक छ । यसले समाजमा असमानता, उत्पीडन, हत्या तथा हिंसा जस्ता जघन्य सामाजिक अपराधलाई पनि टेवा दिइरहेको हुन्छ ।

हाम्रो समाजमा हुने महिला हिंसा, आत्महत्या जस्ता घटना यसका ज्वलन्त प्रमाणहरू हुन् । विवाहपछि महिलाले दाईजो कम ल्याएकै बहानामा घरपरिवारका सदस्यहरूबाट नै अपहेलित हुनुपर्ने, शारीरिक तथा मानसिक तनाव खेप्नुपर्ने, कुटपिट, गालीगलोज गर्ने जस्ता घटना समाजका लागि सामान्य बन्दै गएको छ ।

मधेशमा केटाको पढाइ र जागिरलाई दाईजो मापन गर्ने माध्यमको रूपमा लिइन्छ । दाइजो प्रथा होइन, कुप्रथा हो । दाईजो भनेको बुबाको सम्पत्तिमा छोरा सरह छोरीको पनि अधिकार हुनु हो त्यसैले यो प्रथा ठिक छ भनेर विश्लेषण गर्नेहरू पनि छन् । तर, बुबाको सम्पत्तिमा छोरीले अधिकार लिनको लागि दाईजो नै लिन जरूरी छ ? शिक्षा, स्वास्थ्यलगायतका छोरीको उज्जवल भविष्यका लागि बुबाले गर्न सक्ने धेरै पाटाहरू छन् । विवाहलाई हाम्रो समाजले पवित्र सांस्कृतिक तथा धार्मिक मान्यता प्रदान गरेको छ भने यो मान्यताभित्र विवाहमा दाईजो दिनुपर्छ भनेर कहीँकतै उल्लेख गरिएको पाईदैन । यो परम्पराको नाममा फैलाइएको भ्रम मात्र हो ।
हामीले स्थापना गरेको राजवंशी विकास प्रतिष्ठानले केही दिनअघि दाइजो कुप्रथाको न्यूनीकरणको विषयमा एकदिने गोष्ठी आयोजना गरेको थियो । कार्यक्रममा सहभागी राजवंशी अगुवाहरुले दाइजो प्रथाको न्यूनीकरणमा अभियान चलाउने प्रतिबद्धता जनाएका थिए । हाम्रा अगुवाहरुले सुमित्रामाथि परेको अन्यायको विरुद्धमा आवाज उठाउँदै यो अभियानको शुभसाइत गर्नुपर्ने देखिएको छ । कानूनी रुपमा लक्ष्मण माथि छन् भन्ने सुनिन्छ ।

उनलाई साथ दिने ठूलाबडा होलान् । कानूनी रुपमा उन्मुक्ति पाएपनि सामाजिक विकृति ल्याउने त्यस्ता व्यक्तिलाई हामीले समाजबाटै बहिष्कार गरौं ।दाइजोको नाममा समाजलाई विकृत बनाउन बन्द गरौ । महिलाको भावना र अस्तित्वमाथि खेलवाड गर्न पाइदैन ।

(लेखिका राजवंशी  विकास प्रतिष्ठानकी उपाध्यक्ष हुन्)

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस