‘आलोचना मात्र गर्नेहरू विस्तारै कमजोर हुनेछन्,’ : नगर प्रमुख साह

May 18, 2021 मा प्रकाशित
नगर प्रमुख राेहित कुमार साह

गाैरादह/ कोरोना महामारीको प्रारम्भमा गत वर्ष झापाको गौरादह नगरपालिकाले दुई चरणमा राहत वितरण गर्यो । लकडाउनले मर्कामा परेका विपन्नलाई राहत वितरणका क्रममा नगरपालिकाले खरिद गरेको र विभिन्न संघ/संस्थाबाट प्राप्त खाद्यान्नलाई एकद्वार प्रणालीमार्फत वितरण गरिएको थियो । यद्यपि, ‘फुड बैंक’मा जम्मा भएको राहत सडिएपछि नगर प्रमुख रोहित साहलाई जबरजस्ती विवादमा तान्ने काम भएको छ ।

कोरोनाको पहिलो कहरमा नगरपालिका र मातहतको वडा कार्यालयमार्फत फुड बैंक संचालन गरिएको थियो । अति विपन्न परिवारलाई वितरण गरी मौज्जात रहेको खाद्यान्न नगरपालिकाकै कर्मचारीको लापरवाहीले सडिएपछि दोषजति मेयर साहमाथि थोपार्न केहि जनप्रतिनिधि र कर्मचारी नै लागिपरेका हुन् । वितरणपश्चात उग्रिएको खाद्यान्न नगरपालिकाकै भण्डारमा दाखिला गरिएको थियो ।

भण्डारण गरिएको खाद्यान्न पुनः लक्षित वर्गलाई नै वितरण गर्ने नगर कार्यपालिकाको निर्णय भएपनि कर्मचारीकै असहयोगका कारण कार्यान्वयनले पुर्णता नपाएको बताइन्छ । स्रोतका अनुसार गौरादह नगरपालिकाका जिन्सी शाखा प्रमुख अर्जुन दाहालले नगर प्रमुख साहलाई गुमराहमा राखी खाद्यान्नको विवरण नबुझाउने र अनेक बहानावाजी गरेर समयावधि लम्ब्याउनाले खाद्यान्न उपभोग गर्ने अवस्थामा नभएको हो । कतिसम्म भने पानी चुहिने भवनमा स्टोर गरेर राख्दा ठूलो परिणामको चामल कामै नलाग्ने भएको छ । गोदाम सार्ने बहानामा कति खाद्यान्न सडे, कति गायब पारिए त्यसको लेखाजोखा नभएकोपनि खुल्न आएको छ । यी सबै बेथितिमा नगर प्रमुख साह पदीय हिसाबले जिम्मेवार रहेपनि उनको संलग्नता नपाइएको स्थानीय रोशन गिरि बताउँछन् ।

नगरको कार्यपालिकामा मेयर साह अल्पमतमा हुनु नै हरेक विवाद र दोषभागीमा उनी कतै न कतै जोडिनुपर्ने बाध्यता छ । नगरपालिकाका केहि कर्मचारीले मेयर साह ‘अल्पमतमा रहेको’ फाइदा उठाउदै उनलाई विवादमा तान्ने गरेकोप्रति स्थानीय अनभिज्ञ छैनन् ।

राहतको दाल बिक्री गरेको आरोप आफुलाई लागेपछि दाहालले मेयर साहलाई पनि विवादमा जोडेका हुन् । रमेश मल्लिक नाम गरेका एक व्यक्तिले गौरीगञ्ज लादै गरेको एक बोरा दाल स्थानीयले थाहा पाएपछि नगरपालिकालाई खबर गरेका थिए । दाल बिक्रीमा मल्लिकसंग दाहालको मिलिभगत रहेको खुलासा भएको थियो । यसअघि स्थानीय जनता माविका लागि ल्यापटप खरिद प्रकरणमा समेत स्टोर प्रमुख दाहाल मुछिएका थिए । स्रोतका अनुसार चलनचल्तीको मुल्य भन्दा बढी खरिद मुल्य देखाएर अनियमितता गरेकोमा उनकै संलग्नता देखिएको थियो । यस विषयमा उनलाई नगर कार्यापालिकाले स्पष्टीकरण समेत सोधेको थियो । अन्य जिन्सी सामान सार्वजनिक खरिद ऐन अनुसार नै खरिद गरेपनि प्रतिशतका आधारमा दाहालले कमिसन कुम्ल्याउने गरेको स्रोतको दाबी छ ।

त्यसो त, दाहालले ‘पाँच हजार केजी चामल कुहिएको’ भनेर सामाजिक संजाल प्रयोगकर्ता र केहि मिडियामा जानकारी दिएपनि गौरादह नगरपालिकामा भइरहेको अनियमितताको तीर उनीतिरै सोझिएको छ । नगरपालिकाको स्टोरमा पाँच हजार केजी चामल नै भण्डार रहेको कसरी आँकलन गरियो भन्नेमा दाहाल नाजवाफ बनेका छन् । यता नगरप्रमुख रोहितकुमार साहले कार्यापालिकाको वैठकमार्फत राहत वितरण पश्चात मौज्जात रहेको खाद्यान्न बाड्ने भनेर वडालाई विपन्न परिवारको नामावली ल्याउन आग्रह गरिएको तर कतिपय वडाले चासो नदिएकोले समस्या आएको बताए । जिन्सी शाखा प्रमुख दाहालले खाद्यान्नको विवरण दाखिला नगर्दा यस्तो समस्या आएको उनको भनाइ छ ।

नगरपालिकाको गोदामको चाबी ‘स्टोर किपर’ दाहालसंगै हुन्छ । जसका कारण उनलाई ‘मनोमानी गर्न’ सहज भएको नाम उल्लेख नगर्ने सर्तमा नगरपालिकाकै एकजना कर्मचारीले बताए । पटक-पटक नगरप्रमुखले कोभिड संकलित राहत सामाग्रीको विवरण पेश गर्नु भन्दा स्टोर किपर दाहालले आनाकानी गर्दै आएको बुझिन्छ । जस हुने काममा आफै अग्रसर हुने तर विवादित कार्यमा नगरप्रमुखलाई फसाउने हर्कतमा जिन्सी शाखा प्रमुख दाहालका अलवा अन्य जनप्रतिनिधि ‘हात धोएरै’ लागेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित साह नगर कार्यपालिकामा अल्पमतमा हुनु नै गौरादहको बिडम्वना बनेको भुक्तभोगीहरु बताउछन् ।

निश्चय नै, गौरादह नगरपालिकाका मेयर साह सर्वाधिक काम गर्ने जनप्रतिनिधिमा पर्छन् । तर, उनको खेदो खन्ने काम भइरहेको छ ।
‘मेयरले केही गरेनन्’ भन्ने आलोचना खेपिरहेका छन् ।

मेयरबाट ‘व्यक्तिगत लाभ’ लिन नसकेका, रिस गर्नेहरू यतिबेला हात धोएर विरोधमा लागेको पाइन्छ । मेयरका सकारात्मक कामको पनि विरोध गर्नेहरुको कमि छैन। मेयर साहले जनहितमा काम गर्दा पनि योजनावद्ध/ नियोजित तरिकाले आलोचना हुन थालेका सम्बन्धमा उनले भने–‘मलाई अचम्म लागेको छ, यस्तो नकरात्मक सोचप्रति दुःख लागेको छ ।’

कोभिडको दोस्रो ‘भेरियण्ट’ सुरु भएपछि मेयर साह दैनिक खटिरहेका छन् । ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ एक स्थानीयले भने, मेयरले धैर्यताका साथ आफ्नो कार्य गरेका छन्, यहाँ काम नगरेर आलोचना गर्नेहरू हिरो हुन खोज्छन्, मेयरले जस्तै अरुले पनि काम गर्ने हो भने पक्कै पनि संक्रमण नियन्त्रणमा ल्याउन धेरै समय लाग्दैन ।’

कोरोना कहरको यो बेला मेयर साहकै अग्रसरतामा एमबीबीएस चिकित्सकसहित कोभिड अस्पताल संचालनमा आएको छ । र, पनि उनलाई उडाउने र आलोचना गर्नेको कमि छैन । जसको भागिदार बनाउन नचाहनेहरु खुलेर विरोधमा लागेका छन् । यसै प्रसंगमा मेयर साहले एक दार्शनिकको भनाई उदृत गर्दै भने– ‘यदि तिमी काम नगरेर बस्यौ भने कसैले केही भन्दैन तर, समाज र देशका लागि केही गर्छु भनेर अग्रपंक्तिमा आउँछौ भने आलोचना हुन्छ ।’ उनले थपे– ‘हो, मैले यहि ब्रम्हवाक्यलाई शिरोधार्य गरेको छु, हरेक कुरामा आलोचना मात्र देख्नेहरू विस्तारै कमजोर हुनेछन्, उनीहरू समाजका अगाडि नाङ्गिने छन् ।’

Advertisement

(साभार संजाल संदेश डटकमबाट )

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस