उद्योग प्रशासनको ज्यादती: विहान काममा आउँदा कम्पनीको गेट बन्द, सयौं कामदार विच्चलीमा

June 1, 2021 मा प्रकाशित

गौरीगंज १८, जेठ / गौरीगंज स्थित धिरज चामल उद्योगले कामदाहरुलाई अग्रिम जानकारी नदिई कारखाना बन्द गर्दा सयौं मजदुर विचल्लीमा परेका छन् । कम्पनी प्रशासनले हिजो सोमवार मुल गेटमा सूचना टांस गरेर कारखाना बन्द गरेपछि कारखानामा काम गर्ने सयौं कामदार विचल्लीमा परेका हुन् ।
दैनिक ज्यालामा काम गर्ने कामदारहरु कारखानाको मुल गेट बन्द भएपछि विहानदेखि गेट अगाडी बसेका छन् । उनीहरुलाई कोरोना महामारीका कारण श्रमिकहरुको पूर्णरुपमा जिम्मा लिन नसक्ने र उद्योग परिसरमै वासस्थानको व्यवस्थापन गरी काममा लगाउन नसकिने भन्दै उद्योग बन्द गरिएको उद्योग प्रशासनले सूचनामा उल्लेख गरेको छ ।
नेपाल कारखाना श्रमिक संघ ईकाइ समिति गौरीगंजका अध्यक्ष चमरलाल यादवले जिल्ला प्रशासन झापाले स्वास्थ्य मापदण्ड अपनाएर श्रमिकहरुलाई उद्योग परिसर भित्रै क्वारेन्टाइनको व्यवस्थापन गरी उद्योग सञ्चालन गर्नु पर्ने र काम लगाउन भने पनि त्यस्तो नगरेको बताए । उनले भने –‘ हामीसंग कुनै सल्लाह नगरी र जानकारी बिनै एक्कासी कारखाना बन्द गरेर श्रमिकहरुलाई बिच्चली पारेको छ । ’ जिल्ला प्रशासन कार्यालय झापाको निर्णय बमोजिम लागु गर्न र गराउन उद्योग प्रशासनलाई नेपाल कारखाना श्रमिक संघ इकाइ समितिका तर्फबाट पटक पटक पत्र दिए पनि कुनै सुनुवाई नभएको उनले बताए । उनले भने –‘ त्यो पत्रको बोधार्थ श्रम तथा रोजगार कार्यालय भद्रपुरलाई पनि दिएको छु । तर हालसम्म जवाफ आएको छैन ।’ एक्कासी कारखाना बन्द गरेर करिब १ सय ५० जना कामदारको रोजीरोटी गुमेको अध्यक्ष यादवले बताए । उनले स्वास्थ्य मापदण्ड अपनाएर र जिल्ला प्रशासनको निर्णय बमोजिम उद्योग सञ्चानमा ल्याउनु पर्ने माग गरे ।

Advertisement


ज्याला मजदुरमा काम गर्ने कामदारहरु दिनको ५ सय १७ रुपैयाँ ज्याला पाउँछन् । काम गरेको हप्ता दिनमा कम्पनीले उनीहरुलाई भुत्तानी दिने गरेको छ ।
कारखानामा दैनिक ज्यालामा काम गर्ने दिलिप कुमार काहारले अग्रिम जानकारी नै नदिई एकलौटी ढंगबाट कम्पनी बन्द गरेको बताए । उनले भने – ‘ ज्यालादारीमा काम गर्छु, कारखाना बन्द भएपछि त ६ जनाको परिवार कसरी चलाउनु ? गौरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंज बस्ने दिलिप विगत ८ वर्षदेखि ज्यालादारीमा काम गछर्न् । उनी भन्छन् – ‘कारखाना बन्द गर्नु उद्योग प्रशासनको ज्यादती हो । अब हामी कहाँ जानु ? जसरी हुन्छ उद्योग खोल्नु पर्छ र हामीलाई रोजगारी दिनुपर्छ ।’


धिरज चामल उद्योग गौरीगंजका म्यानेजर सन्तोष कौशिकले जिल्ला प्रशासन कार्यालय झापाको निर्णय बमोजिम कम्पनी असक्षम भएकोले उद्योग बन्द गरिएको बताए । उनले भने – उद्योगमा काम गर्ने कामदार सबैलाई उद्योग परिसरमै राखेर काम लगाउन सकिदैन । कामदार कोरोना संक्रमित भएमा त्यसको पनि जिम्मेवार कम्पनी हुने छैन । त्यसैले लकडाउन भरि उद्योग बन्द गरिएको हो ।’ कोरोना महामारीको यो अवस्थामा यो उद्योगको ट्रेड युनियनले सहयोग गर्नु पर्नेमा विभिन्न मागहरु राख्दै कहिले आंशिक त कहिले पूर्ण बन्द गर्ने कार्यप्रति दुःख लागेको म्यानेजर कौशिकले बताए ।
धिरज चामल उद्योग नेपालकै अग्रणी चामल उद्योगमा पर्छ । गोल्छा अर्गनाइजेसन अन्तर्गत धिरज चामल उद्योगले चामल, चिउरा, पापड उत्पादन गरी विक्री वितरण गर्छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस