गौरीगंजका कृषि हाट बजारहरु आधुनिक र व्यवस्थित बन्दै

June 19, 2021 मा प्रकाशित

गौरीगञ्ज ५, असार / गौरीगञ्ज गाउँपालिका अन्तर्गतका कृषि हाट बजार पूर्वाधारयुक्त बन्दै गएका छन । स्थानीय तहको निर्वाचनपछि ग्रामिण क्षेत्रको आर्थिक बिकासका सम्बाहकका रुपमा रहेका साप्ताहिक तथा अर्ध साप्ताहिक कृषि हाट बजारहरु बर्षेनी स्तरोन्नतीको क्रममा रहेका हुन ।
गौरीगञ्ज गाउँपालिकाको मुख्य बजार क्षेत्र गौरीगञ्ज र खजुरगाछी बजारलाई सरकारले ल्याएको स्मार्ट सिटीको अवधारणाले समेटेको छ । यि बजारमा गत बर्षदेखिनै पक्की ढलसहितका पूर्वाधारहरु बनिरहेका छन भने यसैबर्ष वडा नं २ ( साविक कोरोबारी) मा पर्ने बगाहा चौधरी बजार र वडा नं १ साविक महाभारामा पर्ने भन्सार बजारमा पूर्वाधार निर्माण गरेर बजारलाई आधुनिक र व्यवस्थित बनाउने काम भइरहेको छ ।

Advertisement

गौरगञ्ज २ का वडाध्यक्ष अघ्नु प्रसाद राजवंशी स्थानीय तहको निर्वाचनपछि आफूले जिम्मेवारी सम्हाले लगत्तै बगाहा चौधरी बजारमा व्यवस्थित पक्की टहरा निर्माण गरिएको र यस बर्ष समेत ३० लाख रुपैयाँको लागतमा बजारमा २९० मिटर पक्की ढल निर्माण कार्य गरिएको बताउँछन ।
वडाध्यक्ष राजवंशी भन्छन–बगाहाचौधरी बजार यहाँको पूरानो कृषि हाट बजार हो, यहाँ स्थानीय किसानले उब्जाएको तरकारी, अन्नपात आदि कृषि उपजको कारोबार हुने भएकाले यसलाई व्यवस्थित बनाउन र भविष्यमा हुने शहरीकरणलाई समेत मध्यनजर गरेर पूर्वाधार निर्माण गरेका छौं । उनका अनुसार यस बर्ष गाउँपालिकाको बजेटमा सो बजेट स्तरोन्नती गरिएको हो । आगामी बर्षको कार्यक्रममा समेत यसलाई समावेश गरेर पूर्णता दिने योजना रहेको उनले बताए । बगाहा चौधरी बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका स्थानीय अगमलाल राजवंशी संघीयताको कार्यान्वयनसंगै बर्षौदेखि उपेक्षित रहेको ग्रामिण क्षेत्रको सो बजारको बिकासले मौका पाएको बताउँछन । राजवंशी भन्छन– यहाँ साग, पात, माछा मासु, धान, मकै किनबेच गर्न आउँदा निक्कै समस्या हुने गथ्र्यो अहिले पक्की टहरा बनेपछि धेरै नै सजिलो भएको छ । बजारको स्वरुपनै परिवर्तन हुने क्रममा रहेको उनले बताए ।


यसैबर्ष तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत गौरीगञ्ज १ को भन्सार बजारलाई व्यवस्थित बनाउन त्यहाँँ सो क्षेत्रका पूर्व संघीय सांसद एलपी साँवाको पहलमा केन्द्र सरकारले करिब ३० लाख रुपैयाँ खर्चिइएको छ । स्थानीय तह मार्फत कार्यान्वय गरिएको सो योजना तोकिएको समय अगावै सम्पन्न भएको वडाध्यक्ष कार्तिकलाल राजवंशी बताउँछन ।

ग्रामिण भेगको कृषि उपज किनबेच हुने सो बजारमा आधुनिक पक्की टहरा निर्माणले व्यवसायी र उपभोक्ता दुवैलाई सहज भएको सो बजारका संस्थापक मध्येका लिला बहादुर साम्सोहाङ बताउँछन । यो बजारमा पक्की टहरा निर्माणले बजारको स्वरुपनै परिवर्तन गरिदिएको स्थानीयहरुको भनाई छ । यस अघि गत बर्षपनि सो वडाको वडा कार्यालय नजिकै रहेको साविक महाभारा बजारमा टायल विछयाएर बजारलाई हिलोमुक्त बनाइएको थियो । गाउँपालिकाकै प्रमुख आयस्रोतका रुपमा सो वडामा रहेको मवेशी पशुहाट कुञ्जीबारीलाई समेत व्यवस्थित र पूर्वाधारयुक्त बनाउने प्रयास शुरु भइसकेको छ । दुई बर्ष अघि सो बजार क्षेत्रको आंशिक सडक किनारमा ढलसहितको सडक कालोपत्रे गरिएको छ । बजार क्षेत्रका लागि आवश्यक जग्गा ( क्षेत्रफल) पर्याप्त नहुँदा भने बजार दिनदिनै साँघुरिदै गएको स्थानीयहरु बताउँछन । सो बजारलाई थप व्यवस्थित र पूर्वाधारयुक्त बनाउन माथिल्लोे तहका सरकारको ध्यान जानुपर्ने वडाध्यक्ष कार्तिकलाल राजवंशी बताउँछन ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस