बुढेसकालले छोएको अवस्थामा ग्यास चुलोले राहत मिल्यो : साइली सोरेन

July 14, 2021 मा प्रकाशित

गौरीगंज ३०, असार / ग्यास चुलो पाउने कुरा सुन्ने वित्तिकै एकछिन त खुशी भइन् तर ग्यास चुलोबाट खाना कसरी पकाउने भनेर ६५ वर्षीया साइली सोरेनलाई चिन्ता लागेको थियो । यो चिन्ता उनलाई मात्र होइन गौरीगंज गाउँपालिका वार्ड नं. १ चौरीका ५ सन्थाली परिवारलाई पनि साइली जस्तै चिन्ता थियो । बाउबाजे देखिनै हामी दाउराबाटै खाना पकाउदै आएका हौं साइलीले भनिन् – ग्यास चुलोबाट कसरी खाना पकाउने ?
दाउराबाट खाना पकाउन दुःख त छ । दाउरा पाइदैन । वर्षाको समयमा खाना पकाउन झन गाह्रो हुन्छ, साइलीले थपिन – ‘बुढेसकालले छोएको अवस्थामा ग्यास चुलोले राहत त मिल्यो ।’ स्थानिय युवा सोम सोरेनले ग्यासचुलो बाल्न सिकाइदिने भने पछि मात्र उनी ढुक्क भइन् । गौरीगंज गाउँपालिका वार्ड नं. १ ले हिजो मंगलवार ५ सन्थालपरिवारसहित ६५ जना गरिब तथा विपन्नलाई चुलोसहितको ग्यास सिलिण्डर वितरण गरेको थियो । वार्ड नं. १ को सिलिङ्ग वजेटबाट ४ लाख रुपैयाँमा उक्त ग्यास चुलो वितरण गरेको हो ।
गौरीगंज गाउँपालिका वार्ड नं. १ चौरीका सोम सोरेनले टन्टलापुर घामको ताप र दुई कोश टाढा हिडाईको पीडालाई ग्यास सिलिण्डर प्राप्तिले मेटाइदिएको बताए । उनले भने– ‘हाम्रो गाउँमा वर्षाको समयमा दाउरा बालेर खाना पकाउने अवस्था छैन् । ग्यास चुलो भएपछि अब जहाँ पनि लगेर खाना पकाउन सक्ने भयौ ।’
वार्ड नं. १ का वार्ड अध्यक्ष कार्तिकलाल राजवंशीले ग्यास सिलिण्डरसहतिको चुलो किन्न नसक्ने परिवारलाई खाना पकाउन सहज होस् र दाउराबाट खाना पकाउने झन्झटिलो पक्रियाबाट मुक्त होस् भन्ने उद्येश्यले ग्यास चुलो वितरण गरिएको बताए । वितरण गरिएको ग्यास सिलिण्डरलाई सहि सदुपयोग गरी त्यसबाट लाभ लिन सेवाग्राहीलाई वार्ड अध्यक्ष राजवंशीले अनुरोध गरेका थिए । स्थानिय कुलमाया उप्रेतीले ग्यास सिलिण्डर पाएको आफु खुशी भएको बताइन् । दाउरा बाल्न नसक्ने र आगो फुक्न नसक्ने गरिब दुःखी तथा जेष्ठ नागरिकलाई ग्यास चुलोले धेरै राहत पुगेको उप्रेतीले बताइन् । कार्यक्रममा वार्ड नं. १ का वार्ड अध्यक्ष कार्तिकलाल राजवंशी, वार्ड सदस्यहरु जानुका गौतम, राजभत्त सुनुवार, सुनिता पासवान,कार्यपालिका सदस्य भिम प्रसाद राजवंशीलगायतको उपस्थिति थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस