सवाल छ हाम्रो अस्तित्वको, हाम्रो पहिचानको !

August 5, 2021 मा प्रकाशित

रूपा राजवंशी /

Advertisement

मेरा पितापूर्खाहरु रोइरहेका होलान् । स्वर्गबाट हामीलाई हेरेर धिक्कारिरहेका होलान् कस्ता भए मेरा शाखा सन्तान ? त्यत्रो धन सम्पत्ति दिएर आयौं , त्यत्रो मान सम्मान ,इज्जत प्रतिष्ठा छोडेर आयौं केही पनि जोगाउन सकेनन् । घरजग्गा , धनदौलत छोडेर आउँदा समेत मेरा सन्तानहरुले गरिखान सकेनन् । उहिले राज गरेका मेरा पितापूर्खाहरुको दिवंगत आत्माले हाम्रो अधोगति हेरेर पक्कै यस्तै चिन्ता गरिरहेका होलान् । तर, हामी विचरा केही गर्न सकिरहेका छैनौं, एक–दुई खुट्टी मात्र दिएका थिएनन् सिंगो बारी(गाउँ) नै दिएर गएका थिए । अहिले आफ्नो भिटासमेत जोगाउन सकेनौं ।
सवाल छ हाम्रो अस्तित्वको, हाम्रो पहिचानको । सबै विलिन भएर जानलाग्दा समेत हामी चुपचाप छौं , केही गर्न सकिरहेका छैनौं । मैले जान्दा बिर्तामोड ५ को जात्रुबारीमा करिब १२ वर्षअघि धेरै नयाँ घरहरु थिएनन् । सबै एरिया जात्रुबारी भनेर चिनिन्थ्यो । जात्रुलाल चौधरीको नामबाट जात्रुबारी कहलिएको थियो । बिर्तामोड शहर बन्नुभन्दा अगाडि नै जात्रुबारी स्थापित भएको रहेछ । अहिले जात्रुबारीलाई चिन्ने कमै होलान् । किनकि जात्रुबारीको अस्तित्व र पहिचानलाई मेटाउँदै लगियो । जात्रुको नाम मन पराउन छोडियो । अरुको पहिचानलाई नामेट पारेर आफ्नो एकलौटी पार्ने प्रवृति हावी हुँदै गयो ।

जात्रुबारी नसुन्ने , थाहा नपाउने र मन नपराउनेका लागि म यसको इतिहास खोतलेर बताउन गइरहेकी छु कि कसैले यत्तिकै जात्रुबारी नाम राखिदिएको होइन भन्ने स्पष्ट होस् । उमेरले ६८ पुगेका पुष्पलाल चौधरीका पिता जात्रुलाल चौधरी हुनुहुन्थ्यो । जात्रुका पिता उवाँसु चौधरी र उवाँसुका पिता घुस्रु चौधरीे । घुस्रुका दुई छोरा उवाँसु र पाथलमध्ये उवाँसुका तर्फबाट जात्रु र पाथलको तर्फबाट पानीयाको जन्म भएको थियो । जब बिर्तामोड जंगल र काशघारीले भरिएको थियो , त्यतिबेला नै जात्रुबारी बस्तीको रुपमा विकसित भइसकेको पाइन्छ । २०२५ साल फागुन ५ गते स्वर्गारोहण हुनुभएका जात्रुले नै राणाकालीन अबस्थादेखि बसोबास गरेर यहाँको बागडोर सम्हाल्नु भएको थियो । उहाँका पितापूर्खाहरु झन् कति अगाडिदेखि बसोबासित थिए होलान् ? हामी अनुमान गर्न सक्छौं । पुष्पलाल दाईले बताए अनुसार उहाँका पिता जात्रु पट्वारी हुनुहुन्थ्यो । पदमबहादुर गिरीका पिता शम्शेर गिरी जिम्दार रहनु भएको थियो । राणाकालीन समयमा अहिलेको जस्तो मेयर उपमेयर नभएर मौजा–मौजा (एरिया) मा जिम्दार पट्वारी हुन्थे । पछि पञ्चायती व्यवस्थामा प्रधानपञ्च , उपप्रधानपञ्च , वडा अध्यक्ष र सदस्यको व्यवस्था गरियो । कप्तान भूपालमानसिंह कार्कीका समकालीन मित्र जात्रुको आफ्नै शान थियो । ७०–८० विगाह जग्गाका मालिक जात्रु हरेक कुराले निपुण हुनुहुन्थ्यो । बिर्तामोडमा पहिलोपटक रसियन जीप भित्र्याउने उहाँ नै हुनुहुन्थ्यो । त्योसँगै घरमा सम्पनी गाडी , सेतो भुटिया घोडा , नोकर चाकर सबै कुराले पुगेको थियो । उतिबेला बिर्ताबजारका सतानु राजवंशी ,हल्दिबारीका हाँगा राजवंशी , चन्द्रगढीका बासीलाल राजवंशीलगायतले जात्रुसँगै रसियन गाडी किनेर ल्याउनु भएको थियो । जुन गाडीको महत्व उहिले निकै थियो । शान र इज्जतले बाँचेका थिए हाम्रा पूर्खाहरु । बिर्तामोडमा बस्ती विकास भएको थिएन ।

जात्रुकै संरक्षणमा जात्रुबारीमा ५०–६० घर बसेका थिए । चोरी डकैती हुने डर भएकाले एकै ठाउँमा झुरुप्प बस्नुपर्ने बाध्यता थियो । २०२१ सालमा साँझ ५ बजे नै आफ्नो घरमा डकैती भएको पुष्पलाल दाई संझिनुहुन्छ । राणाकालीन समयमा पट्वारी चलाएका जात्रु पञ्चायती व्यवस्थामा पनि राजनीतिमा उत्तिकै सक्रिय हुनुहुन्थ्यो । उहाँले पञ्चायती व्यवस्थामा वडाध्यक्ष जित्नु भएको थियो । कप्तान भूपालमानसिंह कार्की , सातानु राजवंशी , भुवन डिट्ठा , खड्ग खपाङ्गी , खोइलाल धिमाल, हरिभक्त काजी खड्कालगायतसँग उहाँको राम्रो उठबस थियो । जात्रु पाञ्जियार(ज्योतिष)को रुपमा पनि प्रख्यात हुनुहुन्थ्यो । टाढा टाढाबाट आफ्नो भविष्य हेर्नेको घुइचो लाग्थ्यो । उवाँसुको पालामा टीनले छाएको छाप्रो थियो । पछि जात्रुले पक्की घर बनाउनु भयो । बिर्तामोडकै सायद सबैभन्दा पुरानो त्यो घर अझै छ । जात्रुका परिवारले त्यसलाई जतन गरी राखेका छन् ।

जात्रुका ५ जना श्रीमती रहेका थिए । उहिलेका जिम्दार , पट्वारी र देयनियाहरुले एकभन्दा धेरै श्रीमती बनाउने चलन नै रहेको थियो । जेठी श्रीमती अड्डासरी , माइली चुच्री , साइली आलोसरी , काइली शिशो र कान्छी श्रीमती दुनसरी । साइली श्रीमती आलोसरी( पुष्पलाल दाईकी आमा )को मानसिक अबस्था ठीक थिएन । तर , जात्रुकी श्रीमती भनेर कसैले पनि उहाँलाई नराम्रो व्यवहार गर्दैनथे । जात्रु राजनीतिज्ञ मात्र हुनुहुन्नथ्यो , सामाजिक व्यक्तित्व अनि जातीय अगुवा समेत हुनुहुन्थ्यो । उहाँले विभिन्न सामाजिक काम गर्नु भएको थियो । महेन्द्र रत्न मावि अनारमनीलाई २ विगाह १ धुर जग्गा दान दिनु भएको थियो । पास गर्न बाँकी त्यो जग्गा उहाँको छोरा पुष्पलाल दाईले पछि पास गरेर दिनु भयो ।

जात्रुको देहान्तपछि पुष्पलाल दाईले साखलाई थामेको पाइन्छ । नेपाली काँग्रेसका केन्द्रीय सभापति कृष्णप्रसाद भट्टराई हुँदा पुष्पलाल दाईले राजनीति थाल्नु भएको थियो । त्यतिबेला जिल्लामा रामबाबु प्रसाई सभापति हुनुहुन्थ्यो । गाउँ समिति सदस्य हुँदै उहाँ क्षेत्रीय सदस्य हुनु भयो । पञ्चायती व्यवस्थामा नै उहाँ वडा सदस्य निर्वाचित हुनु भएको थियो । त्यसैगरी सामाजिक क्षेत्रमा उहाँ क्रियाशील हुनुहुन्छ । देवी प्राथमिक विद्यालयको संचालक समितिको सदस्य , साझा संस्थाको अध्यक्ष , महेन्द्र रत्न मावि भवन निर्माण समितिको सदस्य, वीरता जेसीजको उपाध्यक्ष , गौरवशाली बचत तथा ऋण सहकारी सँस्थाको उपाध्यक्ष रहनु भएका पुष्पलाल दाई हाल अनारमनी पव्लिक क्याम्पसको सल्लाहकार , भरत विश्रान्तिको सदस्य , थारु कल्याणकारिणी सभा झापाको जिल्ला अध्यक्ष हुनुहुन्छ । उहाँले २०३७ सालमा काका पानीयासँग मिलेर जात्रुबारीमा शिवालय मन्दिर निर्माण गर्नु भयो । त्यस्तै भरत विश्रान्तिलाई १ लाख , अनारमनी पब्लिक क्याम्पसमा छात्रवृतिका लागि २ लाख रुपैयाँ सहयोग गर्नु भएको छ ।

समाजमा गरेको योगदानका कारण उहाँ एक दर्जनबढी सम्मानबाट सम्मानित भइसक्नु भएको छ । जात्रुको जग्गामा न्यूटन्स कलेज , कोहेड कलेज , मिडल पोइन्ट स्कूल , सगरमाथा स्कूल , कंचनजंघा एफएम , हबी स्वीमिङ कम्प्लेक्स , ग्यारेज एरिया , हेवन होटल अवस्थित छ । उहाँकै जग्गामा बिर्तामोड शहरको एउटा भाग रहेको छ ।

बिर्तामोडलाई हाम्रो भन्दा पनि मेरो भन्न खोज्नेहरु निकै भेटिन्छन् । बिर्तामोड नगरपालिका मेरै हो , यो शहर मेरै हो , मैले जे गरे पनि हुन्छ भन्ने मानसिकता बोकेका महत्वाकांक्षीहरुको कमी छैन । जसलाई बिर्तामोडको बारेमा खासै थाहा छैन उही अधिनायक बन्न खोज्छ । भर्खरै आएर अहिले यो ठाउँ मेरै हो भन्ने फुर्ति लडाउनेहरुका अगाडि यहाँका पुराना बासिन्दा मौन छन् । मानौ, उनीहरुलाई केही थाहा छैन , उनीहरुले केही पनि गरेकै छैनन् ।

पुष्पलाल दाई त्यही वर्गमा पर्नु हुन्छ । उहाँलाई आफ्नो अस्तित्व र पहिचान जोगाउन गाह्रो पर्न थालेको छ । जात्रुबारीको नाममाथि पटकपटक धावा बोल्ने काम हुँदै आएको छ । आफू र आफ्नो बुवाको इतिहास र पहिचान जोगाउन उहाँले जात्रुबारी र पुष्पलाल चौक भनेर बोर्ड राख्नु भएको छ । तर , त्यस बोर्डलाई उखेलेर फ्याक्ने प्रयास नभएको चाहिँ होइन । पटक पटक टोल विकास संस्था गठन गर्ने क्रममा जात्रुबारी नाम हटाउने दुष्प्रयास गरिएको छ । त्यसमा पुष्पलाल दाईको परिवारले सशक्त प्रतिकार गर्दै आएको छ । एउटाले अर्काको अस्तित्व र पहिचानलाई नमान्दा उसको पनि पहिचानलाई स्वीकार्न कर लाग्दैन । अस्तित्व र पहिचान यतिकै बन्ने होइन । धेरै रगत पसिना बगेका छन् यो ठाउँमा । अहिले पनि सुँघ्ने हो भने जात्रुको पौरखको गन्ध हामी थाहा पाउन सक्छौं ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस