निचाेरिदै आदिवासी,पहिचान जाेगाउन चुनाैती

August 9, 2021 मा प्रकाशित


रूपा राजवंशी
आज आदिवासीहरुको महान पर्व । २७ औं विश्व आदिवासी दिवस नेपाललगायत विश्वभरि नै विभिन्न कार्यक्रम गरी मनाइदैछ । यद्यपि विश्वव्यापी कोरोना महामारीका कारण संघसंस्थाहरुले औपचारिक कार्यक्रम भने आयोजना गरेका छैनन् । ‘आदि’ भनेको आदिमकालदेखि भन्ने बुझाउँछ । यसर्थ कुनै पनि ठाउँमा आदिम कालदेखि बसोबास गरिरहेका र त्यस भूमिको माटोलाई खनी खोस्री आफ्ना पुस्ता धानिरहेका, कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएको समुदायलाई आदिवासी भनिन्छ ।

आदिवासी र तिनको संस्कृति संरक्षणका लागि २३ डिसेम्बर १९९४ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले ९ अगस्तलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।

Advertisement

संयुक्त राष्ट्रसंघले यसअघि नै १९९४ देखि २००४ सम्म आदिवासी दशक समेत ‘कर्म र मर्यादाका लागि दशक’ भन्ने नाराका साथ आव्हान गरेको थियो । संयुक्त राष्ट्रसंघले आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणा पत्रको आर्टिकल १४ मा आदिवासी समुदायले आफ्नो संस्कृति , भाषा, रीतिरिवाज, र चलन अनुरुप सुहाउँदो शैक्षिक प्रणाली ,संघसंस्था स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिइएको छ । अनेक अध्ययनहरुले स्पष्टसँग के देखाएको छ भने आदिवासी र गैर आदिवासी समुदायबीच शैक्षिक अबस्था , विकास अनि समष्टिगत रुपमा मानव अधिकारका सुविधाहरुमा ठूलो असमानता देखाउँछ । नेपालको हकमा पनि आदिवासी र गैर आदिवासीबीचको असमानताको खाडल बढ्दै गएको छ ।

गैर आदिवासीहरुको विकास क्रमले तीब्र छलाङ मारिरहेको छ । तर, आदिवासीहरु घट्दो क्रममा छन् । आफ्नो पहिचान र जीवनयापनका लागि पुस्तौदेखि एकै ठाउँमा खनी खोस्री प्रकृतिसँग पैठेजोरी खेल्दै आएका आदिवासी समुदाय विश्वका लागि प्राचीन सम्पदा हुन् । उनीहरुको र अस्तित्व पहिचान जोगाउँदै विकासको मूलधारमा ल्याउनु विश्व समुदायको प्रमुख चुनौती भएको छ । त्यस समस्या र चुनौतीलाई नेपालमा आत्मसात गरेको पाइदैन । बरु राज्य सत्ताले नजर अन्दाज गरेको पाइन्छ ।

बहुजाति , बहुधर्म , बहुभाषी र बहुसंस्कृति भएको हाम्रो देश नेपालको अधिकांश भूभागमा आदिवासी समुदायको बसोबास पाइन्छ । बद्लिदो परिवेशसँगै आदिवासी समुदाय प्रभावित भएको छ । उनीहरु विस्थापित बन्दै गएका छन् । लोप हुने क्रम बढ्दो छ । तीब्र रुपमा उनीहरुले आफ्नो पहिचान , रीतिरिवाज अनि मौलिकतालाई जीवित राख्ने भरमग्दूर प्रयास गरिरहेका छन् ।

अस्तित्व जोगाउन संघर्षशील छन् । अर्कोतिर आदिवासीभित्रै नयाँ पुस्ताले मौलिकता भुल्दै भएको छ । हिजोकै अबस्थामा रहन र त्यही रहनसहन मन पराउन छोड्दै गएका छन् । पुराना संस्कृतिहरुलाई निरन्तरता दिन नसकेको अबस्थामा आफ्नो मौलिक थर समेत परिवर्तन गरी पहिचान हराउँदै गएको उदाहरण अत्यासलाग्दो छ ।तीतो सत्य के हो भने आदिवासीहरुको बसोबासलाई बिगार्दै अनि उनीहरुलाई बिस्थापित गर्दै लगिएको छ । एकै ठाउँमा बस्न मन पराउने, थातथलो छोड्न मन नपराउने आदिवासीका गाउँबस्ती उजाडिदै गएको छ । उनीहरुलाई संरक्षण र संबद्र्धन गर्नेतर्फ तीनै तहका सरकारले खासै ध्यान नदिएको भन्दा फरक नपर्ला ।

आदिवासी समुदायका लागि सहज , सरल र विकसित समाज हामी सबैको दायित्व हो । चाहे हामी गैर आदिवासी हौं या आदिवासी समुदाय । आउँदो पुस्तालाई समाजको यथार्थभित्र र विकासको चरमबिन्दुको प्रतिविम्व देखाउन जरुरी छ । आदिवासी दिवसको सबैलाई दायित्व बोध होस् । सबैमा शुभकामना ।

1 प्रतिक्रिया

  1. धन्यवाद रुपा राजवंसी ,तपाइको म नियमित पाठक हु।समाज रहेका यथार्थ कुरालाइ चित्रण गरेर लेखिएका लेखले नव युवा तथा हामि सबैलाइ ग्यान दिएको छ।लेख निरन्तर अाअोस।अादिवासि दिवसको सुभकामना हजुर संगै कोचिला न्युज परिवारलाइ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस