कांग्रेस झापाको उपसभापतिका उम्मेदवार भट्टराई भन्छन– ‘राजनीतिमा सेवाको भावना चाहिन्छ’

November 25, 2021 मा प्रकाशित

दमक/ झापाको राजनीतिक तथा सामाजिक क्षेत्रमा परिचित नाम हो शेर बहादुर भट्टराई । अढाई दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहेका भट्टराईको राजनीतिक यात्रा अब जिल्ला नेतृत्व तर्फ अघि बढेको छ ।

Advertisement


कांग्रेसको दमक नगर उपसभापति हुँदै कांग्रेस दमकलाई नेतृत्व प्रदान गरेका भट्टराईले पूर्ण सभापतिका रुपमा भने एक कार्यकाल बिताए ।
एकपटक क्षेत्रीय सभापतिमा विर बहादुर प्रसाइँसंगको प्रतिस्पर्धामा झिनो मतान्तरले पराजित भएका उनी लगातार दुई कार्यकाल पार्टीको क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका भट्टराई पूर्व शिक्षक तथा दमकका सक्रिय सामाजिक तथा राजनीतिक व्यक्तित्वको रुपमा परिचित छन ।
सालिन र भद्र स्वभाव भएका भट्टराईको कार्यकालमा नै कांग्रेस दमक र क्षेत्रीय समितिका भवनहरुको निर्माण भएको हो । भट्टराई भन्छन– पार्टी कार्यालय भवन निर्माणका लागि जग्गादातासंग कुराकानी गरेर व्यवस्थापन गरियो मेरै कार्यकालमा तेपागाछी र धरमपुरमा गाउँ पार्टी कार्यालय भवन निर्माण शुरु भएको हो ।
भट्टराईले आफनो कार्यकालमा काम गर्न अपनाएको शैलीबारे बताउँदै भने– आर्थिक पारदर्शीताका लागि म आफू सभापति छँदा भवन निर्माणका लागि छुट्टै निर्माण समिति गठन गरिएको थियो भवन निर्माणमा संयोजक रहेर काम गर्नुहुने स्व. भानुभक्त सुवेदीलाई म यतिबेला स्मरण गर्न चाहन्छु । उनी दुई कार्यकाल (११ औं र १२ औं महाधिवेशनमा क्षेत्रीय सभापति पछि पार्टीको १३ औं महाधिवेशनमा भने महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य चुनिन सफल भएका थिए । १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेर पनि अन्तिम समयमा आएर सो उम्मेदवारीबाट पछि हटेका भट्टराई १० मंसिरमा हुने पार्टीको जिल्ला समितिको निर्वाचनमा उपसभापति पदमा उम्मेदवार बनेका छन ।
पार्टीमा रुपान्तरण र पुस्तान्तरणको सवालमा नेता भट्टराई भन्छन – पार्टीको क्षेत्रीय प्रतिनिधि, वडा सभापतिहरु ८० प्रतिशत जति नयाँ पुस्ताका आउनु भएको छ , उहाँहरु सबैको सक्रियता रहन्छ । पार्टीमा पुस्तान्तरण र रुपान्तरणको कुरा छ , पुस्तान्तरण भनेको प्राकृतिक रुपमानै स्वत हुँदै जाने कुरा हो रुपान्तरण भनेको नेतृत्वमा परिवर्तन हो जो अहिले भइरहेको छ ।
कांग्रेस भित्र गुट उपगुट अन्त्य हुन नसकेको बिषयमा निष्कर्ष न्यूजको जिज्ञासा मेटदै भट्टराईले भने– पार्टीमा गुट भनेको आफसे आफ बन्ने कुरा रहेछ । एकाथरी साथीहरु उम्मेदवारी घोषणा गर्नुहुन्छ, अर्कोथरी साथीहरु हामीलाई त त्यहाँ अन्याय भयो भन्दै आउनु हुन्छ अनि उहाँहरुलाई समेटेर अर्को समुह बन्छ यसैलाई कांग्रेसमा गुट उपगुट भनिन्छ । यसरी हेर्दा गुट बन्ने भनेको आफनो आफनो सुरक्षाका लागि जस्तो देखिन्छ ।
पार्टीको लामो समय सम्म नेतृत्वमा रहेर पनि कम्युनिष्ट प्रभावित यस क्षेत्रमा कांग्रेसको अधिवेशनमा एकता र सर्वसम्मत नेतृत्व चयनका लागि प्रयत्नको कमि भएको बिषयमा भट्टराई भन्छन– पहिला पनि यो प्रयत्न नभएको होइन, हामी एकातिर त्यो प्रयास गर्छौैैं साथीहरु अर्कोतिर अर्कै उम्मेदवार बनाइदिनु हुन्छ , त्यसकारण बारबार त्यो प्रयत्न गरेपनि सफल हुन सकिएन । तथापी आफनो क्षेत्रको अधिवेशनमा धेरै वडाहरुमा त्यो कसरत गरिएको छ । एकाध बाहेकका सबै वडाहरुमा नेतृत्व चयन सर्वसम्मतनै भएको छ, त्यो माथिल्लो तहमा भने गर्न सकिएन ।
पार्टीमा नेताहरुको उमेरको बिषयलाई लिएर भइरहेको टिकाटिप्पणी प्रति लक्षित गर्दै नेता भट्टराईले भनेका छन– मेरो यो उमेर भएपनि पार्टीमा युवाको भन्दा कम सक्रियता छैन, पार्टीमा युवाले दिने भन्दा कम योगदान म बाट हुनेछैन । अझै मेरो पर्फमेन्स पार्टीलाई यस ठाउँमा दिशा निर्देश गर्ने खालको हुनेछ । उनले यस पटक आफूले वडा तहदेखिनै पार्टी नेतृत्व परिवर्तन गर्न चाहेको र आफूले चाहे अनुसार , आफनो समर्थन रहेका उम्मेदवारहरुले नै पालिका तथा वडा तहको निर्वाचनमा नेतृत्व हात पारिसकेको बताउँदै एकपटक आफू पनि जिल्ला उपसभापति बनेर आफनो राजनीतिक यात्रालाई अघि बढाउन चाहेको बताउँछन । उनी राजनीतिलाई सेवा गर्ने माध्यमकै रुपमा आफूले लिएको बताउँदै त्यसो हुन सके मात्रै राजनीतिप्रतिको वितृष्णा र आरोपहरु हटन सक्ने बताउँछन ।
सामाजिक सक्रियता
भट्टराईले दमकमा धेरै जसो महत्वपूर्ण र सेवामुलक संस्थाहरुको स्थापना आफनै नेतृत्वमा गरेका छन ।
२०५६ सालमा निजीस्तरबाट खोलिएको दमकको लाइफलाइन अस्पतालका संस्थापक अध्यक्ष हुन उनी । त्यसैगरी एडभान्स अस्पतालका पनि संस्थापक अध्यक्ष भएर यहाँको स्वास्थ्य क्षेत्रलाई अघि बढाउन योगदान पुरयाएका उनकै नेतृत्वमा यहाँका सामाजिक तथा शैक्षिक व्यक्तित्वहरुलाई सहभागी गराएर मेची बोर्डिङ स्कूल स्थापना गरिएको हो । भट्टराई कुल वंश प्रतिष्ठानको केन्द्रिय अध्यक्ष भएर देश विदेशमा रहेका भट्टराई बन्धुहरुलाई संगठित गर्दै बन्धुत्वको क्षेत्रमा समेत सक्रिय योगदान पुरयाइरहेका भट्टराईको कांग्रेस उपसभापतिमा रहेको उम्मेदवारीसंगै उनको चर्चा चुलिँदो छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस