स्थानीय तहको निर्वाचन : माइपश्चिममा चार पत्रकार आकांक्षी

April 7, 2022 मा प्रकाशित


दमक,२४ चैत / बैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा झापाको माइपश्चिम क्षेत्रका चार जना पत्रकार उम्मेदवारका लागि आकांक्षी देखिएका छन् । माइपश्चिमका पाँच वटा स्थानीय तह मध्ये दमक,गौरादह, गौरीगन्जमा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बन्न आकांक्षी देखिएका हुन् ।
स्रोतका अनुसार नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका सदस्य समेत रहेका पूराना पत्रकार बिष्णु सुब्बा कमल ५ बाट वडाध्यक्ष , कमल ६ बाट वडाध्यक्षमा पत्रकार गोपाल झापाली, गौरादह नगर प्रमुखमा शान नेपाल र गौरीगन्ज ६ को वडा अध्यक्षमा आत्माराम राजवंशी उम्मेदवार बन्ने भएका हुन् ।
सुब्बा र राजवंशी नेपाली कांग्रेस, झापाली एमाले र नेपाल राप्रपा निकट छन् । ती सवै आकांक्षी पत्रकारले आफनो पार्टीबाट उम्मेदवारका लागि लविङ तीव्र गरिआएका छन् । चुनावी चहलपहल शुरु हुन थालेसंगै चुनावी मैदानमा पत्रकारहरु धमाधम आकांक्षी देखिदैआएका छन् ।
चुनावी गतिविधि तीव्र
नेपाली कांग्रेस,नेकपा एमाले, माओवादी केन्द्र, जसपा, राप्रपा लगायतका मुख्य राजनीतिक दलहरुले झापामा चुनाव लक्षित गतिविधिलाई तीव्रता दिदै लगेका छन् । कांग्रेसले चुनाव केन्द्रीत पार्टी संगठन निर्माण गरि घरदैलो अभियान गरिआएका छन् भने एमालेले पनि वडामा घरदैलो गर्ने कार्यक्रम सञ्चालन गरिआएका छन् । यता माओवादी केन्द्र,जसपा र राप्रपाले पनि भेला गर्नुका साथै उम्मेदवार चयन देखि दलहरुसंग गठबन्धन गर्न आन्तरिक तयारीमा केन्द्रीत छन् ।
यसैक्रममा वैशाख ३० गते हुन गईरहेको निर्वाचनमा जिल्लाका १५ वटै स्थानीय तहमा उम्मेदवारका आकांक्षी पनि बढ्दै गएका छन् । संघीय ,प्रदेश सरकारमा गठबन्धन गरिआएका कांग्रेस, माओवादी ,जसपा, नेकपा एकीकृत समाजवादी र राप्रपाले गठबन्धन गरि निर्वाचनमा जाने तम्तयारी गरिआएका छन् । उनीहरुले पार्टी केन्द्रीय नेतृत्वको निर्देशन आएलगत्तै स्थानीय स्तरमा पनि गठबन्धनको चाजोपाजो मिलाउने तयारीमा रहेको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले बताए । संविधान र जनताको उपलब्धीको रक्ष ागर्न पनि गठबन्धन देशका लागि आवश्यकता भएकाले तीनैतहको निर्वाचन सम्म दलीय सहकार्य गर्नु पर्ने उनको जोड छ ।
गठबन्धन प्रभावकारी भए जिल्लाका १५ वटै स्थानीय तहमा जित्न सकिने भएकाले पनि गठबन्धन अगावै उम्मेदवार हुने आकांक्षी पनि हवात्तै बढेको पाइएको छ । उम्मेदवारको तीव्र आंकाक्षाका कारण पनि गठबन्धन दलहरुले साझा उम्मेदवार चयन गर्न निकै सकस पर्ने अनुमान छ । चैतभित्रै उम्मेदवारको नाम सिफारिस गर्न केन्द्रीय निर्देशन आएपछि यतिखेर सुक्ष्म रुपले उम्मेदवार छान्न एमालेको नेतृत्व आन्तरिक कसरतमा व्यस्त रहेको छ । यता कांग्रेससहितका गठबन्धनका दलहरु भने गठबन्धन गरि जतिछिटो उम्मेदवारको अन्तिम टुंगो लगाउने कसरतमा छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस