कराेेडाैंकाे जग्गा दानदिने दानवीर उजारू राजवंशीकाे निधन हुदाँ कात्राे किन्ने पैसा थिएन

August 20, 2022 मा प्रकाशित

विर्तामोड ४, भदाै/ दुर्गा माध्यमिक विद्यालय गरामनीलाई करोडौँको जग्गा दान दिने उजारूँ राजवंशीको निधन हुँदा कात्रो किन्नेसमेत पैसा थिएन । गाउँलेले जुटाएर उनको अन्त्येष्टि त गरे, तर अब क्रिया खर्च छैन  ।
दुर्गा माविलाई एक विगाह जग्गा दान दिने बिर्तामोड ९ निवासी दानवीर राजवंशी र उनको परिवारमा यस्तो हविगत भएको हो । राजवंशीको गत बुधवार ७५ वर्षको उमेरमा निधन भएको हो । उनी विगत ६ महिनादेखि प्यारालाइसिस रोगले थलिएका थिए । श्रीमती चम्पा राजवंशीसँग भत्किन लागेको कटेरोमा राजवंशी बस्दै आएका थिए । वृद्ध भत्ताबाटै ती दुवैले गुजारा गरेका थिए ।उनीहरूका तीन छोरा मजदुरी गरेर आफ्नो परिवार पाल्छन् । मृत्यु हुँदा कात्रो किन्ने पैसा नहुँदा रकम संकलन गरेर अन्त्येष्टि गरेको छिमेकी मुक्ति श्रेष्ठले बताइन् । ‘उनीहरू बस्ने कटेरोमा बर्खाको पानी चुहिन्थ्यो ’उनले भनिन् ‘ पानीबाट जोगाउन प्लास्टिकले घर छोपिदियौ ।’

गरामनीबाट लखीबारीतर्फ जाने शहीद नेत्र मार्गले छोएको करोडौँको जग्गा राजवंशीले दान दिएका थिए । ससुरालीबाट दानमा पाएको ४ विगाह र मोहीयानीको ५ विगाह गरी उनी ९ विगाहको धनी थिए । त्यही बेला उनले विद्यालयलाई एक विगाह जग्गा दान दिएका हुन् । सम्पत्ति हुँदा राजवंशी परिवारलाई सबैले खोजे पनि सम्पत्ति सकिएपछि कसैले पनि वास्ता नगरेको भतिज नारायण राजवंशीले गुनासो गरे । ‘ सम्पत्ति हुँदा स्कुलले पनि बोलाउँथ्यो ’गुनासो गर्दै उनले भने ,‘ सम्पत्ति नरहँदा स्कुलले पनि बोलाउन छोडेको थियो ।’
जग्गा दान दिने जग्गादाताहरूको अभिलेख पनि राखिएको थिएन । दुर्गा माविलाई उजारूँ राजवंशी , देवी राजवंशी , हुसिल राजवंशीलगायतले पाँच विगाहभन्दा बढी जग्गा दान दिएका थिए । उनीहरूको अभिलेख नभएको अवस्थामा आफूले विवरण खोजेर जग्गादाताहरूलाई एक पटक सम्मान गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण पाठकले बताए । उनले जग्गादाता राजवंशी परिवारको अवस्था अत्यन्त दयनीय भएको कुरा आफूले पनि पाएको बताउँदै विद्यालयका तर्फबाट सामान्य क्रिया खर्च उपलब्ध गराउन लागेको जानकारी दिए ।

राजवंशी परिवारको दुई कट्ठा भिटा मात्र बाँकी छ । त्यही भिटामा जग्गादाता राजवंशीको कटेरो र उनको छोराको घर रहेको छ । त्यही कटेरोमा राजवंशीले आफ्नो इहलीला समाप्त गरे । पतिको सहारामा बाँच्दै आएकी वृद्धा चम्पालाई अब जिउन गाह्रो हुने भएको छ । चुहिने घरमा बस्न बाध्य उनलाई सबैको सरसहयोगमा घर बनाइदिन सके ठुलो राहत हुने प्रधानाध्यापक पाठकले बताए ।
जग्गादाता उजारुसंगै अर्का जग्गादाता हुसिल राजवंशीको परिवारको पनि बिजोग उस्तै छ । केही महिनाअघि हुसिलको स्वर्गारोहण भएको थियो । त्यति बेला पनि विद्यालयले क्रिया खर्च भनेर ११ हजार रुपैयाँ सहयोग गरेको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस