गौरीगंज गाउँपालिकाद्वारा सुकुम्बासीलाई जग्गाको निस्सा वितरण

September 15, 2022 मा प्रकाशित

Advertisement

गौरीगंज २९, भदौ / गौरीगंज गाउँपालिकामा भूमिहीन सुकुमबासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई विहिवार जग्गाको अस्थायी निस्सा वितरण गरिएको छ ।
गौरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीको अध्यक्षता र भुमी आयोग झापाका अध्यक्ष तिलक पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जग्गा नाप नक्सांकनका लागि जग्गाको निस्सा वितरण गरिएको हो ।
वार्ड नं। ६ का वडाध्यक्ष बद्री नारायण यादवका अनुसार पहिलो चरणमा ३६ घरधुरी अव्यवस्थित बसोबासी, १०९ घरधुरी भूमिहीन सुकुम्बासी र ४१ घरधुरी भूमिहीन दलितको अस्थायी जग्गाको निस्सा वितरण गरिएको हो । वार्ड नं. १ मा २०२, वार्ड नं. २ मा १७६, वार्ड नं। ४ मा १८३, वार्ड नं. ५ मा १३५ र वार्ड नं. ६ मा १८६ जनाको कम्प्युटरमा प्रविष्ट भई पहिलो चरणमा निस्सा वितरण गरिएको छ ।

‘यो जग्गा प्राप्ती होइन । जग्गा नाप्ने बेलामा यही निस्सा देखाउनुपर्छ,’ कार्यक्रमका प्रमुख अतिथि तथा भुमि आयोग झापाका अध्यक्ष पाण्डेले भने, ‘निस्सा पाएपछि तपाईंहरुको एउटा चरण पूरा भयो । अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढ्छ ।’ कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले विभिन्न कारणले सुकुम्वासी बनेका नागरिकहरूलाई जमिनको मालिक बनाउने कामका लागि आफुहरु खटिएको बताए । सबैको साथ र सहयोगले भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोवासीहरूलाई जग्गाको निस्सा वितरण गर्न सम्भव भएको हो । अध्यक्ष राजवंशीले भनिन्, यो पहिलो चरणको काम मात्र हो । लाल धनीपुर्जा वितरण गर्न गाउँपालिका दिनरात लागि पर्ने छ ।’
कार्यक्रममा गौरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा, वार्ड नं.१ का अध्यक्ष कार्तिकलाल राजवंशी, वार्ड नं.३ का अध्यक्ष श्रवण गिरी, वार्ड नं। ४ का अध्यक्ष फेका गिरी, वार्ड नं. ६ का अध्यक्ष बद्री नारायण यादव, कार्यपालिका सदस्य अग्नुप्रसाद राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । वार्ड नं. ३ का भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोवासीहरूको जग्गाको निस्सा दर्ता नगरेको प्रति वार्ड नं. ३ का अध्यक्ष श्रवण गिरीले आपति जनाएका थिए । कार्यक्रममा कार्यपालिका सदस्य राधा अधिकारी, रिता तामाङ, रमकुमारी विक, वडा सचिव युवराज दाहाललगायतको सहभागीता थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका अधिकृत विरेन्द्र खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस