आज राष्ट्रिय भाक्का दिवस, बिर्तामोडमा भव्यरूपमा मनाईदैँ

January 13, 2023 मा प्रकाशित

गौरीगंज २९, पुस/
पूर्वी नेपालमा बसोबासरत राजवंशी , ताजपुरिया , गनगाई, माझीलगायतका जातिले परापूर्वकालदेखि भाक्कालाई जातीय परिकारको रुपमा प्रयोग गर्दै आएका छन् । केही वर्षदेखि यसलाई दिवसको रुपमा मनाउन थालिएको हो । यसै सन्दर्भमा आज पुस २९ गते राजवंशी समाज विकास समिति केन्द्रीय समितिले विर्तामोडमा भव्यरूपमा छैठाे राष्ट्रिय भाक्का दिवस मनाउँदै छ । हाम्राे पात्राेले पुस २९ लाई राष्ट्रिय भाक्का दिवस भनेर आफ्नाे क्यालेण्डरमा उल्लेख गरेकाे छ । भाक्का दिवसकाे अवसरमा कार्यक्रम अघि पछि गरे पनि राष्ट्रिय भाक्का दिवस पुस २९ गते नै स्थापित भईसकेकाे आदिवासी समुदायका सामाजिक अगुवाहरू बताउँछन् ।

भाक्काकाे लाेकप्रियता

झिसमिसेमै गौरीगंजको सडक छेउछाउमा टाढाबाटै माटाको चुलो दनदनी बलिरहेको देखिन्छ । घैलाबाट निस्किरहेको पानीको वाफमा गोलो र चेप्टो आकारको परिकार पाकिरहेको हुन्छ । वरिपरि विद्यार्थीदेखि बटुवासम्म अचार, नुन वा चिनीसँग त्यसको त्तातो स्वाद लिइरहेका हुन्छन् ।
बिहान अरू खाजा नपाइए पनि यो पाइलापिच्छै सर्वसुलभ उपलब्ध हुन्छ चिसो याममा । यो ठाउँमा मात्र नभएर तराईकै चोक, बजार र गल्लीमा बिहान–बेलुकी जाडो याममा बेचिने यो लोकप्रिय खाजालाई स्थानीय भाषामा भाक्का भनिन्छ । पानीको वाफमा पकाइने हुनाले भाक्का नाम रहेको स्थानीय आदिवासी समुदायका मानिसहरुको भनाइ छ ।
मंसिरमा सबैको घरमा धान उपलब्ध हुन्छ । तुलनात्मक रूपमा चामल सस्तो पनि हुन्छ । पुरानोभन्दा नयाँ चामलबाट राम्रो र नरम भक्का बन्छ । तातै खाँदा स्वाद लाग्ने, पचाउन सजिलो र शरीर न्यानो रहने हुनाले जाडोमा भाक्का पकाइने गरिएको गौरीगंजका प्रकाशचन्द्र राजवंशी बताउँछन् ।
हुन त राजधानीलगायत सहरमा फाट्टफुट्ट रूपमा तराईको यो स्वादिष्ट परिकारको विस्तार भएको छ । ठूला सहरका शिक्षण संस्थाबाहिर बिहानीपख ठेला गाडीमा यसको बिक्री भइरहेको हुन्छ ।
मुख्यतया राजवंशी, थारु र ताजपुरिया समुदायका महिला यसको व्यवसाय गर्छन् । तर, यसलाई सबै जातिकाले मीठो मानी खाने गरेका छन् । धेरैले पुर्खौंदेखि र केहीले अरूबाट सिकेर यो हिउँदे व्यापार गर्छन् । सबैको उद्देश्य अतिरिक्त आम्दानीबाट परिवारलाई सहयोग पुर्याउनु हो ।
निम्न आय भएका यस समुदायका उनीहरू बिहान–बेलुका बाहेकको समयमा खेती मजदुरी काम गर्छन् । अधिकांश महिलाका पति यातायात मजदुर, ज्यालादारी श्रमिक र वैदेशिक रोजगारीमा भएकाहरु यस व्यापारमा संलग्न छन् । केहीका पति बेरोजगार भएकाले दुई छाक टार्न र छोराछोरी पढाउन उनीहरू सडकछेउमा भाक्का बेच्छन् । विद्यालय बिदा भएका बेला छोराछोरीले समेत सहयोग गर्छन् ।
। ओहोरदोहोर गर्न समय लाग्ने हुनाले दुवै समय बेच्न नसकेको गाैरीगंजकी व्यवसायी शर्मिला राजवंशी बताउँछिन् । ग्राहकको रुचि अनुरूप केहीले बिहान भक्का र बेलुकी चप, कचौरी एवं सेल बेच्छन् ।
एक समय मात्र भाक्काको व्यवसाय गर्नेले न्यूनतम ५० देखि २ सय ५० रुपियाँ सम्म नाफा गर्दै आएको उनी सुनाउँछिन् । बिहानबेलुकी बेच्न सकेमा नौ सय रुपिया“सम्मको बिक्री हुदाँ आधा बचत हुन्छ । नाफै नभए पनि लगानी निस्केर बच्चाबच्चीलाई खान पुग्ने गरेको केहीको अनुभव छ ।

दाउरा र चामलको मूल्य बढेकाले यो मौलिक परिकारको आकार घटेको छ । प्रतिगोटा सानोको मूल्य पाँच रुपियाँ र ठूलोको १० रुपियाँ पर्छ । ‘दाम त उही हो, सामग्रीको दाम बढेर आकार घटाउनु परेको हो ’ विक्रेता जानकी राजवंशी भन्छिन् ।
भक्का हरेक जाति, वर्ग, रङ र समुदायको प्रिय खाजा हो । बालबालिकादेखि बूढापाकासम्मले मन पराउने समावेशी परिकार हो । खानपानको परिकारले यसले सबै जातजातिका नेपालीलाई जोडिरहेको छ । ‘भक्का बनाउने कुन जात वा समुदायको हो भन्ने कुराको मतलब राखिदैन, मीठो भए पुग्छ’ खजुरगाछीका सुरेन राजवंशी भन्छन् । यसको महत्व बुझेर प्रत्येक वर्षको पुस २९ गते सामाजिक संस्था गाभुर फ्रन्टले ‘भाक्का दिवस’ मनाउने घोषणा गरेको थियाे भने यस पटक राजवंशी समाज विकास समितिले मनाईरहेकाे केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिएका छन ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस