दमकमा बैंकका कर्जा पीडितहरुको भयावह अवस्था, ऋणीलाई मर्नु न बाँच्नु

January 14, 2023 मा प्रकाशित

Advertisement


दमक/ देशव्यापी आर्थिक मन्दिसंगै व्यापार व्यवसायमा परेको नकारात्मक प्रभावको मारमा परेका दमकका बैंकिङ कर्जा पीडित व्यवसायीहरुको अवस्था डरलाग्दो रहेको तथ्य सार्वजनिक भएको छ ।
नियमित व्यापार व्यवसायमा आएको गिरावटका कारण तिर्न नसकेको बैंक तथा वित्तिय संस्थाहरुबाट लिएको कर्जा ताकेता गर्न आएका प्राइभेट बैंकका कर्मचारीहरुको व्यवहारका कारण ऋणीहरु पलायन हुने क्रम उच्च भएको छ भने ऋणीका परिवारका सदस्यहरु समेत मानसिक तनावमा परेका छन । पछिल्लो समय दशैं तिहारपछि दमक र आसपासबाट करिब दुई दर्जन बढी प्रतिष्ठित व्यवसायीहरु सार्वजनिक रुपमा बाहिर हिंडडुल नगरी अर्धभुमिगत जस्तै जिवन बिताइरहेका र कतिपयको अवस्थानै अज्ञात रहेको बताइएको छ ।
ऋणी तथा बैंकका कर्जा पीडित प्रतिनिधिहरु संगठित हुँदै बैंकका कर्मचारीहरुको अप्रिय शैलीको विरोधमा संगठित समेत भएका छन । विक्रम ताजपुरियाको अध्यक्षतामा पीडित व्यवसायीहरुले बैंकिङ कर्जा पीडित एकता मञ्चको समेत गठन गरेका छन । रामप्रसाद नेपाल सचिव रहेको सो मञ्चको कार्यसमितिमा रहेका अन्य व्यवसायीहरुले भने अर्धभुमिगत शैलीमा सो संगठनमा आवद्धता भएको जनाउ दिएका छन ।
उनीहरुले भनेका छन– हाम्रो सामाजिक मुल्य मान्यताले पनि हामीलाई समाजमा एउटा ऋणीका रुपमा खुल्न अप्ठयारो पारेको छ । त्यसमाथि बैंकका कर्मचारीहरुको व्यवहार उस्तै समस्याग्रस्त भएकाले हामी खुल्न चाहदैंनौं । कुनै न कुनै रुपमा संगठित रहेका बैंकका कर्जा पीडित व्यवसायीहरुको संख्या दमकमा झण्डै ४–५ सयको हाराहारीमा रहेको उनीहरुले बताएका छन ।
बैंकका कर्जा पीडित एकता मञ्चले शनिबार दमकमा पत्रकार भेटघाटको आयोजना गरेर बैंकका प्रतिनिधिहरुले कर्जा ताकेताका लागि घरमा पुग्दा जघन्य अपराधीमाथि प्रहरीले गर्ने व्यवहार भन्दा अमानवीय व्यवहार गरेको आरोप लगाएका छन । उनीहरुले आफूहरु बैंकमा भएको पूर्व शर्त अनुसारको व्यवहार गर्न सधैं तयार भएको तर परिस्थितीलाई बुझ्ने कोशिस बैंकहरुले नगरेर लुटेरा शैली अपनाएको पनि आरोप लगाएका छन ।
मञ्चका अध्यक्ष ताजपुरियाले भने– बैंकको मात्रै होइन कसैको पनि ऋण लिएपछि तिर्नुपर्छ र तिरिन्छ तर के ऋण लिएर व्यवसाय गर्नुनै अपराध हो त ? बिषम परिस्थितीका कारण व्यापार व्यवसाय चौपट भएर तिर्न नसक्ने अवस्था आएको कुरा सबैलाई थाहा हुँदाहुँदै बैंकका प्रतिनिधिहरुले घर घरमा गएर ऋणीलाई मर्नु न बाँच्नुको अवस्थामा पुरयाएको छ । मानवीय संवेदनालाई समेत बैंकहरुले बुझने कोशिस नगरी एकोहोरो पेलिरहेको मञ्चका सचिव नेपालले बताए । कर्जाको समय सीमा बढाइनु पर्ने र मनलाग्दो आफूखुशी बैंकहरुले बढाएको ब्याज दर खारेज गरिनुपर्ने मञ्चको माग छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस