मालपोत हाकिमलाई मेयरले दिए चेतावनी, मालपोतमा आर्थिक लेनदेन हुने गरेकाे जनगुनासाे

January 24, 2023 मा प्रकाशित

Advertisement

दमक/ मंगलबार मध्यान्ह दमक नगरपालिका कार्यालयको नगर प्रमुखको कक्षमा आवतजावत गर्ने सेवाग्राहीहरुको चाप निक्कै बाक्लो थियो । दिउँसोको १ बजेको हुँदो हो नगर प्रमुख रामकुमार थापाले मालपोत कार्यालय दमकमा सम्पर्क गरेर कार्यालय प्रमुखसंग भेटघाटका लागि समय मागे ।

संवादका क्रममा मालपोत प्रमुख हिमालय बरालसंग केही क्षणमै अर्थात डेढ बजे भेटघाटको समय तय भयो । देख्ने सुन्नेको अनुमान स्थानीय सरकार प्रमुखसंग मालपोत प्रमुखले भेट गर्ने तय भएको होला भन्ने थियो ।

सामान्यतया यो अनुमान ठिकै थियो तर नगर प्रमुख थापा आफैं आफनो नगरमा रहेको जनताको सबैभन्दा धेरै सरोकार राख्ने र चहलपहल हुने निकायको अड्डा प्रमुखसंग भेटन आफैं जाने तयारीले सबैलाई आश्चर्य बनाइरहेको थियो । निर्धारित समय भन्दा करिब १० मिनट ढिलो गरी नगर प्रमुख थापा मालपोत कार्यालय परिसरमा छिरे ।

सोही अवधिमा नगर उपप्रमुख रेगिना भट्टराईलाई पनि प्रमुख थापाले आकस्मिक कामका लागि भन्दै कार्यालयमा बोलाए । अर्को एक सार्वजनिक कार्यक्रममा रहेकी उपप्रमुख भट्टराई पनि लगत्तै मालपोत कार्यालय आइपुगिन । सेवाग्राही, नगरबासीहरुले मालपोत परिसरमा पुग्नासाथ नगर प्रमुख र उपप्रमुखसंग मालपोत , नापी कार्यालयको कामका सिलसिलामा भोग्नु परेको समस्याको बेलिबिस्तार लगाए ।

नगर प्रमुखले कार्यालयको मुलगेटमा उभिएर आफू त्यहाँ उपस्थित हुनाको उद्धेश्य पनि अथ्र्याए । उनले नगरबासी, सेवाग्राहीहरुका यस किसिमका गुनासाले आफनो टाउको भारी भइसकेको र मनमा खटपटि बढेको पनि सुनाएर भने– हो यसैका लागि आज हामी यहाँ आएका छौं, हिंडनुहोस तपाइँहरुको सामुन्ने मालपोत प्रमुखसंग तपाइँहरुका गुनासा लिखित रुपमा राख्ने दिन छ आज ।

नगरबासीहरुसहित लेखापढी व्यवसायी, सेवाग्राही, सञ्चारकर्मी र कार्यालय रहेको वडा दमक ४ का वडाध्यक्ष पुण्यप्रसाद दाहालसहितको १२÷१५ जनाको समुह समेत नगर प्रमुख थापा र उपप्रमुख भट्टराईसंगै कार्यालय प्रमुख बरालको कक्षमा प्रवेश गरे । बरालले आफू काममा व्यस्त रहेको भन्दै नगर प्रमुखलाई कुरा राख्न २ मिनट पर्खाए । नगर प्रमुख थापाले सरकारले ल्याएको भू उपयोग नीति भित्र रहेर नगरपालिकाले पारित गरेको भूउपयोग सम्बन्धि कार्यविधि अनुसार वडाबाट सिफारिस गरिएका जग्गाको कित्ताकाट, रजिष्ट्रेशन पास लगायतका काममा कार्यालयको तर्फबट भइरहेको ढिलासुस्ती र झन्झट अन्त्य हुन नसकेको भन्दै कडा आक्रोश पोखे ।

उनले त्यस क्रममा मालपोत कार्यालय दमकलाई यहाँको सेवा लिन आउने सेवाग्राहीसंग कार्यालय कर्मचारीहरुले घुमाउरो बाटोबाट आर्थिक लेनदेन समेत गरिरहेको जनगुनासो समेत राखे । नगर प्रमुख थापाले भने– स्थानीय सरकार , नगरपालिकाले जग्गाको वर्गीकरण गरेर सोको जानकारी कार्यालय र विभागमा पठाइसकेपछि पनि किन सेवा दिने कुरामा कञ्जुस्याइँ भइरहेको छ ? उनले जनताप्रति उत्तरदायीपूर्ण व्यवहार गर्न मालपोत कार्यालय र मातहतका कर्मचारीहरुलाई आवश्यक निर्देशन दिन पनि भनेका छन । नगर प्रमुख थापा र उपप्रमुख भट्टराईले लिखित रुपमै नगरपालिकाको तर्फबाट कार्यालय प्रमुखलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरे । नगर प्रमुख थापाले सो क्रममा कुनै कमि कम्जोरी वा कारणले कार्यालयको सेवा पारदर्शी हुन नसकेको भए त्यसको पहिचान गरि निराकरण गर्न अन्यथा के कति कारणले पारदर्शीता अपनाउन नसकिएको हो ? सोको जानकारी लिखित रुपमा गराउन चेतावनी समेत दिए ।

सो क्रममा मालपोत प्रमुख बरालले मालपोत कार्यालय परम्परावादी संगठन अर्थात कार्यालयका रुपमा रहेको र यसलाई परिवर्तन गर्न आफू लागिपरेको सुनाएका छन । सेवाग्राही तथा कतिपय लेखापढी व्यवसायीहरुले समेत मालपोत प्रमुख बरालले अनावश्यक झण्झट र दुख दिएर हैरान बनाउने गरेको गुनासो राखेका छन । उनीहरुले घुमाउरो शैलीमा कार्यालयमा आर्थिक चलखेलका भरमा मात्रै काम हुने गरेको बताएका छन ।

मालपोत दमकका प्रमुख सहित सरकारी कार्यालयमा प्रमुखहरुलाई स्थानीय सरकारले इलाका प्रसासन कार्यालय दमकका प्रमुख समेतको उपस्थितिमा यसघि पटक पटक सेवा छिटो छरितो र पारदर्शी बनाउन दिएको निर्देशन अवज्ञा गरेका कारण एक्सनमा उत्रिनु परेको नगरप्रमुख थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस