उल्लासमय बनोस् नयाँ वर्ष –२०७३

April 12, 2016 मा प्रकाशित

समय परिवर्तनशील छ ।  एक पछि अर्को आउने, नयाँबाट पुरानो हुने विषय समयको नियति नै हो । यो नियतिबाट कोही पनि पन्छिन सक्दैन । नव वर्ष २०७३ साल पनि त्यहि नियति भित्र पर्दछ । बितेको वर्षबाट पाठ सिक्ने र नयाँ वर्षमा त्यसलाई अझ उन्नत र प्रगतीशील बनाउने अवसरको रुपमा नयाँ वर्षलाई लिने गरिन्छ ।
देशले नयाँ संविधान पाएको छ । नेपाली जनताले नयाँ संविधान पाएसंगै समान अधिकार, नयाँ अवसर र  विकासका नयाँ आयमहरुको पनि अपेक्षा गरेका छन् । सरकार यसमा कतिको सफल हुन्छ त्यसको लेखाजोखा भविष्यमा हुने नै छ । मुलुक गम्भिर अवस्थाबाट गुज्रिरहेको छ । मधेश आन्दोलन, जताततै कालोबजारी, आर्थिक मन्दी, विकास निर्माणमा ढिलासुस्तीलगायतका यावत समस्याहरुले मुलुक गाजिँएको छ । ६ महिने नाकाबन्दीले मुलुक आक्रान्त बनेको छ । यी विषयहरुबाट पार पाउन सरकार चुकेको देखिन्छ । नविन सोच, दुरदर्शिता र जिम्मेवारीपुर्वक गहन गृहकार्यका साथ अगाडी बडे विद्यमान समस्याहरुलाई सजिलै समाधान गर्न  वर्तमान सरकार सक्छ । यीनै विषयहरु नयाँ वर्षमा  वर्तमान सरकारको पहिलो प्राथमिकतामा परोस् शुभकामना छ ।
हरेक नयाँ वर्षको आगमनसंगै तराईका आदिवासी राजवंशी, ताजपुरिया, थारु, गान्गाई, मेचे, माझीलगायतका जातीहरुलाई  सिरुवा पर्वले छुने गर्दछ । तीन दिनसम्म हर्ष उल्लासका साथ मनाउने यो पर्व उनीहरुको सबैभन्दा ठुलो सांस्कृतिक  एवं ऐतिहासिक पर्व हो । यस अवसरमा राज्यले दिने विदामा विभेद गरिएको छ ।  यो महान पर्वलाई राज्य तवरबाट संरक्षण र सम्बर्धन गर्नुपर्छ नकि पर्व नै मनाउन नदिने गरी  तीन दिनलाई एकदिनमा छोट्याई संकुचित भावनाबाट उद्यत रहि राज्यले विभेदकारी नीति लिएको देखिन्छ । नयाँ वर्षको १ गते मात्र सार्वजनिक विदा दिएर आदीवासीहरुको महान पर्व सिरुवामा विदा दिएको जस्तो गरी राज्यले विभेद कायमै राखेको अनुभूत हुन्छ । लोकतान्त्रिक  संघियता अपनाएको मुलुकले यस्तो विभेदकारी नीति अबलम्बन गर्नु किमार्थ सुखद पक्ष होइन ।
अन्तमा, यस ऋतुमा बोट–विरुवाहरुमा पलाएका पालुवाहरुले सिरुवा पर्वको आभाष दिलाइरहेका छन् । यही आभाषलाई साकारोक्ति नयाँ साल २०७३ ले गर्नेछ  भनेर हामी नेपाली आशावादी मात्र होइन, विश्वस्त पनि छौं । यति मात्र कहाँ हो र π नेपाली सभ्यताको विविध सांस्कृतिक रंगहरुमध्ये रंगमय, उल्लासमय पर्व सिरुवा आजदेखि नयाँ वर्ष संगै हरेक नेपालीको घर आगनमा टेक्दैछ ।  रङ्ग, पानी र हिलो खेली तीन दिन सम्म मनाउने यो पर्वले सबै नेपालीमा हर्ष उल्लास छाओस्, उन्नति प्रगति हात लागोस् , सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै कोचिला न्युज डटकम परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस