राजबंशी नेताहरु कुना पस्दै, जातीय अस्तित्व संकटमा

May 12, 2016 मा प्रकाशित

ईन्द्रसिंह राजबंशी      /

Advertisement

pp indra
नेपाल आदिवासी जनजाति महासंघ विर्तामोडमा कुरा उठ्यो, राजबंशी जातिको भूमिकाका बारेमा । महासंघमा आवद्ध १५ वटा जातिमध्ये यहाँको मुख्य र बहुसंख्यक जाति राजबंशीको सक्रिय उपस्थिति आदिवासी जनजाति कार्यक्रममा देखिएन । जनजाति महासंघ एउटा उदाहरण मात्र हो, अन्य कार्यक्रममा पनि राजबंशी जातिको सहभागिता देखिदैन । आफ्नो जातिगत कार्यक्रममा समेत उनीहरुको चासो पाईन्न ।
म एकजना सञ्चारकर्मी भएकाले हरेक पार्टर्ीगत, जातिगत, पेशागत सबै किसिमका कार्यक्रममा पुग्ने गर्छु । राजनीतिक दलको कार्यक्रममा हेर्ने हो भने कांग्रेस, एमाले, एकिकृत माओवादी, राप्रपा नेपाल यहाँसम्म कि मधेसवादी दलहरुको कार्यक्रममा समेत राजबंशीहरु खासै भेटिदैनन् । झापा, मोरङ र सुनसरीमा बसोवास रहेको राजबंशी जातिको जनसंख्या १ लाख १५ हजार रहेको २०६८ सालको जनगणनाले देखाएको छ । झापामा जनसंख्याको हिसावले बाहुन क्षेत्रीपछि तेस्रो स्थानमा रहेका  राजबंशीहरुमध्ये एकाध जना राजनीतिक दलका कार्यक्रममा झुल्किन्छन् । अरुलाई वास्ता छैन ।सामाजिक क्षेत्रमा पनि भूमिका न्युन छ ।
जसले जस्तोसुकै ईतिहास र तर्क प्रस्तुत गरेपनि झापा, मोरङ र सुनसरीमा आदिकालदेखि राजबंशीहरुको बसोबास रहेको कुरा शतप्रतिशत यथार्थ हो । यहाँको भूमिमा राजबंशीको रगत पसिना अहिले पनि सुँघ्न सकिन्छ । बीसको दशकपछि मात्र अन्य जातिहरु यहाँ बसाईसराई भएर आएका हुन् । त्यसपछि राजबंशी जातिमा संकट आएको हो । हिजोका देउनियाहरु अहिले सुकुम्बासी बनेका छन् । नोकरचाकर राखेर बिर्ता चलाएका तिनै राजबंशीहरु अहिले अर्काको हली भएका छन् ।
यहाँ मैले यो भूमि राजबंशी वा कोचिलाको हो, लिम्बुवान वा अरुको होईन भनेर तर्क गर्न खोजेको हैन । बस, राजबंशी जातिको अवस्थाका बारेमा मात्र कुरा उठाउन खोजेको हो । आखिर राजबंशीहरु किन सुस्ताउदै गएका छन् ।  पूर्व सांसद पूर्णसिंह राजबंशी कुना पसे जसरी हरेक राजबंशीहरु किन पूर्णसिंह बन्दैछन् । पूर्व राज्यमन्त्री टेकनारायण राजबंशी के गर्दैछन् ? खानदानी राजनीति गरेका रोहित राजबंशीको राजनीति सकिएकै हो ?  राजगढका खड्ग राजबंशीले कांग्रेसकै राजनीति गर्दैछन् कि ? एमालेका पूर्व सांसद नारायणसिंह राजबंशी र मानसिंह राजबंशीको भूमिका खै ?  वर्तमान सांसदहरु अमृत, हरि, मिलनकुमारी र अम्बिकाको राजनीतिक भबिष्य के हो ?
राजबंशी जातिलाई नेतृत्व गर्ने यी नेतृत्वकर्ताको हालतबाटै समग्र राजबंशी जातिको अवस्था दर्शिन्छ । राजबंशी जातिलाई दयनीय अवस्थामा पुर्याउन राज्यसंगै यी नेताहरु पनि जिम्मेवार छन् । जसले सबल र सक्षम भएर काम गर्न सकेनन् । नेतृत्व भनाउँदाहरुले आफ्नो जातिलाई सही मार्ग देखाउन सकेनन् । नेतृत्वले सिंगो राजबंशी जातिलाई नै असफल बनाउदै लगेको छ । कारण नेतृत्वले संगठित भएर आफु र आफ्नो जातिका लागी राजनीति गर्न सकेनन् । जातीय प्रतिनिधिको रुपमा सत्तामा पुग्ने अनि बिर्सने । सत्तामा पुग्दा दलहरुको सुगा रटाई गर्ने अनि सत्ताबाट फ्यालिएपछि कुना पस्ने सबैको प्रवृति उस्तै छ ।
एकल जातीय शासन ब्यबस्थामा अन्य जातजाति माथि बिभेद भएकै हो । उनीहरुलाई बहिष्कृत गरिएकै हो । तर यस्ता अन्याय, अत्याचार, शोषण, दमन बिरुद्ध कुनै पनि नेताले आफ्नो जातिभित्र समेत बहस र छलफल चलाउन सकेका छैनन् । त्यसको बिरुद्धमा बोल्ने आँट गर्न सकेनन् । मानौ, उनीहरु ‘एक्सपायर’ भईसके । बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी खोलेपनि अहिले देश त पुरानै पार्टीहरुले चलाईरहेका छन् । त्यसकारण दिशाहीन र अन्यौलमा पुगेको राजबंशी जातिलाई हाँक्ने जिम्मेवारी पनि तिनै पुराना नेताको हो । नयाँ जन्माउन धेरै समय र लगानी चाहिन्छ ।
राजबंशीका हिजोका जायजेथा सकिदै गएको छ । धनसम्पत्तिसंगै मान प्रतिष्ठा पनि घट्दै गएको छ । आफुहरु सकिदै गएको स्वयम् नेताहरुलाई पनि आभाष भएको छ । तर त्यसका बारेमा टाउका भनाउँदा राजबंशी नेताहरुले कहिल्यै टाउको दुखाएनन् । संरक्षण र सम्वर्धनको काम गाह्रो हुन सक्छ । तर जातीय संरक्षणका बारेमा चिन्ता त गर्न सकिन्छ नि । यसरी नै बेवास्ता गरिरहने हो भने लोप हुदै गएका सन्थाल जस्तै राजबंशीको अवस्था पनि हुन सक्छ । त्यतिबेला समग्र जातिसंगै ती नेताको पनि अस्तित्व संकटमा पर्छ ।
खस्किदो आर्थिक अवस्थाकै कारण राजबंशी जातिको मुल्य घटेको हो । आर्थिक उपार्जनको बाटो पहिल्याउनुको साटो उनीहरु बिनाशतर्फ लम्किदै छन् । आर्थिक रुपमा बिपन्न बन्दै गएपनि राजबंशीहरुको बिवाहमा फर्माईश बढ्दै गएको छ । उहिले बिगाहा बिगाहा जग्गा हुँदा साईकल, घडी, रेडियो दाईजो दिने राजबंशीहरुमा अहिले कठ्ठामा झर्दा मोटरसाईकल दाईजो दिने चलन चल्न थालिसकेको छ । कमाउनु भन्दा पनि अर्काको देखासिकी गर्दै खर्च गर्ने परम्परा  हाबी हुँदै जादा भए भरको जग्गा सबै बेचेर भोली छोरीलाई कार पनि दाईजो दिने चलन चल्न सक्छ । त्यस्ता सामाजिक बिकृतिहरुलाई बढावा दिईरहेका राजबंशीहरुले शिक्षा, स्वास्थ्य, रोजगार जस्ता क्षेत्रमा भने राम्ररी हात हाल्न सकेका छैनन् । सोझा सीधा राजबंशीहरु जालझेलसंगै आफ्नो कमजोरीका कारण पनि मासिएको कुरा सत्य हो । अन्त्यमा, आदरणीय नेताहरु कुण्ठा लिएर घरभित्र लुकेर बस्ने बेला छैन । त्यस्ता भोज भतेरमा गएर राजबंशी जातिलाई नाश हुनबाट जोगाऔं । तीन सिनानमा भेला भएका आफ्ना दाजुभाइलाई सम्झाएर बुझाएर सचेत बनाऔं । राजबंशीहरु पनि यो देशका नागरिक हुन् नागरिक अधिकार खोज्दै उनीहरुको अस्तित्वको रक्षा गरौं ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस