सिरूवा पर्वकाे महत्व

April 14, 2020 मा प्रकाशित

20200414_065128

Advertisement

दमयन्ती राजवंशी
गाैरीगंज २, बैशाख /
सिरुवा पावनी (नयाँ बर्ष) तराईमा बस्ने आदिबासी समुदायहरु मध्ये राजवंशी, ताजपुरिया, गन्गाई, मेचे, धिमाल,थारू, माझि, उराँव लगायतले मनाउने सबैभन्दा ठुलो पर्व हो । यो पर्व नयाँ वर्षमा बंगला पात्रो अनुसार खासगरी तिन दिन सम्म बैशाख एक, दुई र तिन गते मनाउने चलन छ । पहिलो दिन पानी सिरुवा, दोस्रो दिन काद(हिलो) सिरुवा र अन्तिम दिन रंग सिरुवा खेल्ने चलन छ ।

सिरुवा पर्वमा कुलदेवता, ग्रामदेवता  अलाबा महिला वर्गले घाटोसरी पूजा गर्ने चलन छ । सिरुवा पर्वको समयमा झापा, मोरङ्ग र सुनसरीका विभिन्न ठाउाहरुमा मेला लाग्ने परम्परा छ । सिरुवा पर्वमा पानी सिरुवा, काद(हिलो) सिरुवा, रंग सिरुवाको अलावा घाटोसरी, भादाखेली जस्तै अरु पुजाहरु महत्वपूर्ण हुने गर्दछन । समग्रमा हामी सिरुवा पर्वका महत्वपूर्ण पक्षहरुलाई यहाा यसरी लिन सकिन्छ ।

जल(पानी)सिरुवा :– सिरुवाको पहिला दिन जल(पानी)सिरुवा हो । बैशाखको पहिलो दिन बगंला पात्रो अनुसार अन्तिम चैत्रमा आफूभन्दा साना केटाकेटीहरुको टाउकोमा पानी दिएर, ठुलाबडाहरुका पाउमा भक्तिभावले  पानी हालेर र साथीसंगी एकआपसमा पानी छ्यापाछ्याप गरी बर्ष भरिका लागि शरीरलाई ठण्डा, शितलता  मिलोस भनी आर्शिबाद लिने र कामना गरीन्छ । साथै उक्त दिन हामी पानि खेलेर आफ्ना शरीरलाई पवित्र गर्ने भन्ने भनिन्छ ।

धामीहरु जंगल गएर जडिबुटि खोजी जडिबुटिका विरुवा जगाउँछन । मानिसहरु घरमा लसुन प्याज बाधि झुन्डयाउछन, मइनाको काडाा, मदारको काडाा, विर्तिको काडाा घरको पछाडि गुन्जि राख्छन । यो दिन महिलाहरु साझमा आ–आफ्नो घरमा सात किसिमका सागहरु मिलाएर सातसागी बइसागी साग पकाउँछन । यो दिनलाई महा विसुवा संक्रान्ति भन्ने गरिन्छ ।

काद(हिलो) सिरुवा :– सिरुवा पर्वको दोस्रो दिन काद(हिलो) सिरुवा हो ।  मानिसहरु विसुवाको राति (अन्तिम चैतको राति) पकाएको भातलाई पानी हाली पन्ता बनाएर खान्छन् । त्यसैले भनिन्छ, “चैतमा पकाएको बैशाखमा खाने” । यसै दिनबाट पन्ता भात खान शुरु हुन्छ । यो दिनदेखि हाम्रो समाजका नारीहरु घाटोसरी पुजाका रुपमा तिस्ताबुढी नदीमा गई सेलाउँछन् । किम्बदन्ती अनुसार तिस्ताबुढी रुपमा हाम्रो ठाक्रानि(देवी) साथीहरुसंग मिली ठाकुर(देउता)लाई खोज्दै जादा बस्त्रविहिन हिलोमाटो लेपिएको अवस्थामा भेटाउँछन र संगीहरु आपसमा कानेखुशी गदै रमाईलाे गर्छन् । अनि ठाक्रानि(देवी)ले तिस्ताबुढीको रुप धारण गरि संगिहरुलाई हिलोमाटो लगाइ दिन्छिन । त्यसैले यो दिनमा सबै मानिसहरु एक आपसमा हिलो खेल्ने प्रचलन रहयो, कादसिरुवा मनाउँछन । ठाकुर(देउता)लाई भेटाएको खुशियाली घाटमा स्नान गरी चनामुराई खाई आलाई बालाई गरी सबैलाइ खुवाउँछन, आफु पनि खान्छन । यो दिनको स्मरणमा नारीहरु नदीमा गई तिस्ताबुरि बिर्सजन गरी घाटोसरि पुजा सकेर पर्कन्छन । अनि घाटबाट फर्कने समयमा छाताको पानि गिलास बटुकामा लिएर घरमा आई घरका छानामा छर्कन्छन । यो दिनमा खासगरी घरका  देवीदेवताहरुको पुजा गर्ने गरिन्छ ।

रंग सिरुवा :– सिरुवा पावनीको अन्तिम दिन रंग सिरुवा हो ।  उक्त दिन सबै मानिसहरु एक आपसमा रंग खेलेर पर्व मनाउाछन । विगतमा भएका रिसरागहरु सबै भुलेर खुशी र हर्साेउल्लासका साथ खुशी साटासाट गर्नका लागि यो दिनमा विभन्न किसिमका रंगहरु खेल्ने गरिन्छ । जीवन रंगहरुले भरीए जस्तै रंगिचंगी होस् भन्ने कामनाका साथ रंग सिरुवा खेल्ने गरीन्छ ।

घाटोसरी पुजा :– घाटोसरी देवीलाई स्वास्थ्य र दिर्घायू राख्ने देवीको रुपमा पुजिन्छ । घाटोसरीको मुर्ति कुमाल जातिका मानिसले काँचो माटोले बनाउँछन । अनि काद(हिलो) सिरुवाको दिन नुवाईधुवाई गरी घरको एउँटा कुनामा लिपपोत गरी घाटोसरीहरुलाई (माटाका साना घैटा) बसाईन्छ । अनि ती घाटोहरुलाई पूजा गर्दै नयाँ फलहरु आँपा, घाटोसरीको फुल, काँचो चना, मुराई, खीर, अठिया केरा चढाउने गरिन्छ । सिरुवा पावनीको एउँटा रमाइलो पक्ष घाटोसरी हो, नयाँ बर्षमा फलेका  विभिन्न फलफुलहरुलाई पहिला घाटोलाई खुवाएर मात्र आफु खाने, अनि घाटासरीको जुठो खाएमा विभिन्न घाउँ, खोस, ज्वरो र रोग व्याधीबाट बर्ष भरीका लागि मुक्त रहने कामना गर्दै घाटोसरीको पुजा गरीन्छ । केटीहरु गीत गाउँदै घाटोसरीहरुलाई साँझपख नदी, कुवाको छेउमा लगेर सेलाउने गरिन्छ । घाटोसरी सेलाउने समयमा अठिया केरा र मुराई खादै  ‘आलाए बालाए कालाए सरी’ भन्ने चलन छ ।
त्यसैगरी  बैशाख (नयाँ बर्ष) आउनु ४/५ दिन पहिले देखी एउाटा शुद्ध भााडोमा साजीको मुर्ति राखेर घर घरमा मागि हिडने(भादाखेली) अनि बंगला पात्रो अनुसार बैशाख १ गतेका दिन नदीमा पुजा गरी सेलाउने  चलन छ । यो साजी देउताको पूजा जोकोहिले गर्दैनन् । यो पूजा महिलाहरुले मात्र गर्ने चलन छ ।

सिरुवा पर्वमा घरका ठाकुर, ग्राम पुज्ने अलवा आफ्नो गछको (घरको) सुरुक्षाका लागि चातर(चारकुना) मन्त्रले बाध्ने काम गर्दछन । चातर बान्दा खराब नजर, पर शत्रुहरुबाट बच्नका लागि आफ्नो गछको कबचको जस्तै काम गर्ने विश्वास गरीन्छ । सातसागी बैशागी सिरुवा पर्वको एउटा महत्वपूर्ण पक्ष हो । चैतमा पकाएको बैशाखमा खानुपर्छ भन्ने मान्यता अनुसार महिलाहरुले  सात किसिमका साँगहरुलाई मिलाएर सातसागी बैशागी पकाउने र घाटोसरी पुजा सकेपछि खाने गर्दछन । हाम्रो समुदायमात बिवाहका लागि सिरुवापछि बसन्त ऋतको सुभारम्भसंगै दुलहा दुलही खोज्ने मान्यता पनि रहदै आएको छ । त्यसैगरी नयाँ बर्ष सिरुवाको उपलक्ष्यमा नयाँ लत्ताकपडा लगाउने, मिठो–मसिनो परिकार बनाएर खाने र गाजीमुरी (चनामुराई) खाने चलन विद्यमान छ । त्यसैगरी रंग सिरुवाको दिनादेखि झापा, माेरङ्ग र सुनसरीका विभिन्न ठाउँहरुमा मेला लाग्ने चलन छ ।

यसैगरी डोल पावनि(होलि)देखि सिरुवा पावनिसम्म पावनीको आधारमा हामार छाता ओढने दिनको सुरुवात, आगो हावापानी बाट सर्तकता अप्नाउने, गर्मीबाट बच्नका लागि पन्ता खान आरम्भ गर्ने, शरीर तनका विषादी हटाउनका लागि सातसागि खाने(सात प्रकारको साग मिसाएर बनाएको साग), समयमै जडिबुटी का लागि जंगलबाट जरिबुटीहरु खोजेर ल्याउने, पुरुषहरुका मन मस्तिष्कमा उब्जेका विकारहरु अनि नारीहरुका  अन्तर मनका व्यथाहरु निष्कपट रुपले समाजका अगाडि प्रस्तुत गरि गुम्सिएर रहेका व्यथा विकारहरु हटाउनका साथै जनचेतना दिलाउने गएको बर्षमा साथिसंगि, इस्टमित्र, कुलकुटुमहरु बिचमा  रहेका राग द्वेष, मन मुटाव, उत्पन्न झगडाहरु नयाँ मास बैशाख पहिलो दिनदेखि पवित्र मनले मित्रता गरी एक आपसमा  रङ सिरुवाका रुपमा रंग, अबिरहरु खेली शुभकामना आदान प्रदान गरी नयाँ दिनमा नयाँ विचार, नयाँ भावना जगाउने काम हुन्छ ।

त्यसैले सिरुवा पावनिलाई सबै पावनि(पर्व) भन्दा प्रमुख अगाडिको पावनी अर्थात श्रेस्ठ पावनीको रुपमा मनाइन्छ । यो पावनीको  महत्व र विशेषता पनि यहि नै हो । तयसैले यसमा भएका विकृतिलाई हटाई  परिस्कृत रुपले स्वच्छ मन र पवित्र भावना समेटेर उच्छश्रृङ्खल वातावरणलाई प्रवेश हुन नदिई अझै सभ्य भावले र भव्य रुपले सिरुवा पावनी मनाउन आवश्यक छ । यसैमा हाम्रो आफ्नो सभ्यताको पहिचान लुकेको छ र अझै संरक्षण संर्वद्धन गदै लैजानु आवश्यक छ ।

(लेखिका खजुरगाछी माविकी शिक्षिका हुनुहुन्छ )

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस