श्रमिक वर्गले पुर्याएको योगदान कहिल्यै र कसैले भुल्न हुदैंन

May 1, 2020 मा प्रकाशित

20200428_113925

Advertisement

लक्ष्मी उप्रेती,

आज सन् २०२० मे १ तारीख वा १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । यो दिवसलाई पछाडी फर्केर हेर्ने हो भने सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको इतिहास छ । यो दिवसलाई ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर मनाउन थालिएको भन्ने भनाई पनि छ ।

अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा भएको बम विस्फोट कसरी भयो र कस्ले गर्यो भन्ने प्रमाण नजुटीरहेको बेला तथा घटनामा संलग्नहरुको पहिचान नभए पनि त्यहाँको प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्दा प्रहरीले चलाएको गोली लागेर सातजना मजदुरको मृत्यु भएको भन्ने स्वदेश एवम् विदेशका मजदुर नेताहरुको भनाई छ ।

सन्दर्भः १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस
तर, प्रहरीको चरम दमन भएपनि मजदुरको आन्दोलनमा पुर्णविराम लागेन अन्ततः मजदुर आन्दोलन लक्ष्यमा पुग्यो भने मजदुरले ठूलो सफलता पनि हात पारेको विश्व इतिहास छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा यो दिवस मनाउन थालिएको भएपनि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गर्यो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिख विश्वभरि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालियो ।

विभिन्न चिया बगानमा हुन वा कल कारकारखान, उद्योग, निर्माण कृषिलगायत अन्य व्यवसायमा कार्यरत मजदुरहरु भनौं विश्वका हरेक क्षेत्रमा काम गर्ने मजदुरहरुले यो दिवसलाई पर्वका रुपमा लिँदै विभिन्न कार्यक्रम गरी निक्कै तामझामका साथ मनाउने गरेका छन् । विश्वभरका मजदुरहरुले आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस मनाउने गरेको भन्ने भनाई पनि छ । विगत बर्षमा अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरेर मनाईन्थयो । कतै सभा सम्मेलन, कतै गोष्ठी त कतै र्याली र प्रभातफेरि । तर, यो वर्ष भने विश्वभर आतंकका रुपमा रहेको नोवल कोरोना भाइरस कोभिड–१९ को संक्रमणका कारण १३० औं यो दिवस पनि प्रभावित बनेको छ । यसैका कारण चिया बगानदेखि कलकारखान, उद्योग, शैक्षिक संस्था, कृषि व्यापारलगायत सवैक्षेत्र बन्द छन् ,वा विश्व लकडाउनको अवस्थामा छ ।

यो बेला हरेकक्षेत्रका मजदुरहरु काम विहिन छन् । यसअघि नेपालसहित विश्वका विभिन्न देशहरुले औपचारिक कार्यक्रम नै गरेर यो दिवस मनाउने गरेका भएपनि नोवल कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलिने सम्भावना भएको भन्दैं यसपटकको यो दिवसमा कुनै औपचारिक कार्यक्रम राखिएको छैन् ।

केही मजदुर नेताहरुको भनाईलाई जस्ताको तस्तै भन्दा कोरोनाको संक्रमण फैलिन नदिनका लागि वा फैलिने सम्भावना रहेको भन्दै सरकारले देशव्यापी लकडाउन गरेसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । तर, राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायत अन्य राजनीतिक दलका नेताहरुले १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।

उनीहरुले सवैैले सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवम् सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेका छन् । अलग अलग जारी शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै सम्पूर्ण श्रमजीवीको श्रम अधिकार सुनिश्चितताका लागि शुभकामना व्यक्त गरेका हुन् ।

तर, अन्तर्राष्ट्रिय श्रमिक दिवस भनिए पनि र राष्ट्र प्रमुख, सरकार प्रमुख, प्रमुख प्रतिपक्षी दलका नेता सरकारमा बसेको पार्टीको दलका अध्यक्षसहित धेरैले शुभकामना सन्देश जारी गरी रहेपनि अधिकाँश श्रमिकहरु नै यो दिवसका बारेमा यतिखेर वेखवर छन् । चिया बगानमा काम गर्ने चिया मजदुर हुन् वा निर्माण मजदुर हुन् अनि विभिन्न कारणले घरेलु कामदारका रुपमा रहेका घरेलु कामदार नै किन नहुन । उनीहरुलाई यो दिवसका वारेमा यति मात्र थाहा छ कि यो दिन काम गर्नु पर्दैन छुट्टी हुन्छ काम नगरेर छुट्टी बसेपनि ज्याला पाईन्छ ।

१०४ वर्षको राणा शासन अन्त्यका लागि होस वा ३० वर्षसम्मको फासिष्ट पञ्चायती व्यवस्थाको विरुद्घका लािग शुरु भएको आन्दोलन नै किन नहोस अनि २४० वर्षको एकतन्त्रीय राजतन्त्र फाल्नका गरिएको शुरु भएको आन्दोलन होस या २०६२÷२०६३ मा मुलुकमा पूर्णलोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनाका लागि भएको राष्ट्रिय जनआन्दोलनमा नेपाली श्रमिक वर्गले पुर्याएको योगदान कहिल्यै र कसैले भुल्न हुदैन्, वा नेपाली मजदुरहरुले देश परिवर्तनका लागि हरेक क्षेत्रमा पुर्याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान गर्नुपर्ने आजको आवश्यता हो भन्दा अत्यूक्ति नहोला ।

देशमा परिवर्तनको माग गदैं सडकमा निस्केका धेरै मजदुहरु शहीद बनेको इतिहास छ । तर, मजदुरहरुकै लागि भनेर राजनीति गर्नेहरु कहाँ पुगिसके ती नै मजदुहरु कहाँ छन् फर्केर हेर्नु पनि पर्छ । माथि पुग्ने र मजदुरबीचको जीवनस्तरमा अहिलेपनि जमीन र आकाशजतिकै फरक छ ।

अहिले आफुले मत दिएर पठाएका आफ्ना प्रतिनिधीले नै लेखेको संविधान आम नेपाली जनताले पाएका छन् । त्यहि संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको छ । तर, कार्यान्वयनको पक्ष के गदैं छ ?

आज १३० औँ दिवससमम आइपुग्दा यो दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ेकोे छ कि छैन आज त्यता पनि एकपट फर्केर हेर्न जरुरी छ ।

वर्षमा एकपटक यो दिवसलाई औपचारिकतामात्र दिने हो वा हरेक वर्ष क्यालेण्डरको पानामात्र पल्टिने हो भने यो दिवसको सार्थकता कति सम्म हुन्छ या यो दिवसले विश्वभरिका श्रमजीवीहरूलाई एकताको सूत्रमा कतिसम्म बाँध्न सक्छ यस विषयमा पनि एकपटक सवैले सोच्न बाँध्य हुनैपर्छ । झन यो बेला नोभेल कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी महामारीका कारण इतिहास कै कठिन मोडमा छ । विश्वका मजदुरहरुको अवस्था दयनिय छ । दैनिक मजदुरी गदैं आफ्नो श्रम बिक्री गरेर जीवनयापन गदैंका आएका हरेक मजदुर एउटा कोठाभित्र बसेका छन् । यो विश्वभरका मजदुरले भोग्दै आएका साझा समस्या हो ।

यस्तो बेलामा ती मजदुरहरुको घरको चुल्होमा आगो बलेको छ कि छैन? विहान बेलुका कसरी हातमुख जोडीरहेका छन् ? उनीहरुको बालबालिकाहरुको हविगत के छ ? यस बारेमा सम्बन्धित पक्षको ध्यान जानु पर्छ कि पदैंन ? यो पनि एउटा प्रश्नका रुपमा खडा भएको छ । नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिने डरले लकडाउनको घोषणा गरिएको ठाउँमा मजदुरहरुलाई बढी समस्या परेको छ । संयुक्त राष्ट्र संघका अनुसार अनौपचारिक क्षेत्रका कार्यरत विश्वका झण्डै एक अरब ६० लाख कामदारहरुको रोजगारी संकटमा परेको पाइएको छ । यो संख्या कुल कामदारको झण्डै आधा संख्या भएको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को तथ्याङ्क हेर्नै हो भने उनीहरूले अहिले नै बेरोजगारीको संकट भोगीरहेका छन् ।

विश्वभरी झण्डै तीन अरब तीन करोड कामदार भएको र ती मध्ये दुई अरबले औपचारिक क्षेत्रमा काम गर्ने गरेको बाँकी अनौपचारिक क्षेत्रमा कार्यरत कामदारको रुपमा रहेको आइएलओको अध्ययनले देखाएको छ । अध्यननका अनुसार प्रभावित भएकामध्ये अफ्रिका र अमेरिकामा ८० प्रतिशत, युरोप र मध्य एसियामा ७० प्रतिशत र एसियामा २१ दशमलव ६ प्रतिशत कामदारहरूले मात्रै काम गरेका छन् । मजदुरहरुले रोजगार गुमाएर काम विहिन भएका कारण आम्दानी समेत नभएका कारण जीवन धान्न धौ धौ परिरहेका बखत उनीहरलाई रोजागरको अवस्था सिर्जना गरी उनीहरुको गास वास र कपासको ग्यारेन्टी गर्नु सम्बन्धित मुलुकका सरकारको दायित्व पनि हो ।

अझ नोवल कोरोना भाइरस कोभिड १९ का कारण विश्वभरका मजदुरले भोग्दै आएका साझा समस्या समाधानतर्फ सरोकारवालाको ध्यानाकर्षण हुनुपर्छ र उनीहरुलाई रोगले होइन भोकले मर्न नदिने परिस्थिती निर्माण गर्नुपर्छ । हरेक श्रमिकका समस्या समाधान गर्न सरोकार निकाय एकताबद्घ भएर लागनुपर्छ । अहिले कोरोना भाइरसको महामारीका कारण हरेक मजदुर खुलेर काममा बाहिर निस्कन सकेका छैनन् । विदेशमा रहेका मजदुरहरु स्वदेश फर्किन सक्ने अवस्थामा पनि छैनन् । उनीहरुको यो दुःखकष्ट र पीडाप्रति सम्बन्धित मुलुकको सरकार संवेदनशील बन्नुपर्छ । सर यो देशका दल र मजदुर एकअर्काका सहयोगी हुनुपर्छ र हुन् । लकडाउनका कारण समस्यामा परेका मजदुरहरुलाई अविलम्ब राहत व्यवस्था गर्नु सरकारको पहिलो काम पनि हो । कोहि पनि मानिस रोग भन्दा भोकले मर्नु हुदैंन ।

हुन त नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण श्रमिकको जीवन कष्टकर भएकोमा आफू दुःखी रहेको बताएका छन् । श्रमिकले भोग्नु परेको पीडाप्रति आफू संवेदनशील रहेको भन्दै भोकै नराख्ने समेत भनेका छन् । तर कार्यान्वयन पक्ष हेर्न भने बाकी छ । मजदुरहरुलाई हाम्रो साथमा सरकार छ, हाम्रा नेता छन् भन्ने अनुभूत गराउनु पर्छ । नोवल कोरोना भाइरस कोभिड १९ को सक्रमण अन्त्य पछि नेपालका श्रम क्षेत्रमा भएको परिस्थितिलाई सामाना गर्न नेपालका तीनै तह स्थानीय सरकार, प्रदेश सरकार र सघीय सरकारले बेलैमा चनाखो हुन पनि जरुरी छ ।

अन्त्यमा मानव जातिका विरुद्ध आइलागेको यस विषम परिस्थितिमा धैर्य र संयमताका साथै एकताबद्ध भएर यस महामारी विरूद्धको लडाइँमा विश्वभरका श्रमिकहरु जुटौ यसमा मानवजातिको विजय हासिल गर्नुछ, १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस