४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

जापानी दम्पत्तिले दिए एक करोडको भवन


१५ चैत्र २०७२, सोमबार  

0
Shares

 

 

 

 

 

j

बिर्तामोड १५, चैत / झापाको बिर्तामोड–  ५ बुट्टावारीस्थित सरस्वती माध्यमिक विद्यालयमा जापानी दम्पत्तिले एक करोड रुपैयााको लागतमा भवन निर्माण गरी सोमबार हस्तान्तरण गरेका छन् ।
मजदुर तथा विपन्न वर्गका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयको भौतिक विकासका लागि जापानी दम्पत्तिले ‘हिरोता ड्रिम भवन’ निर्माण गरेर हस्तान्तरण गरेका हुन् । तोसिरो हिरोता र हात्सुए हिरोताको सहयोगमा जापान टीम अफ योङ ह्यूमेन पावर (जे एच पी) र झापाको चन्द्रगढीस्थित घनश्याम स्मृति प्रतिष्ठानले चारकोठे उक्त भवन निर्माण गरेका हुन् ।
सोमबार विशेष कार्यक्रमकाबीच फर्निचर,पोडियम,ह्वाइट बोर्ड तथा आवश्यक सामग्रीसहितको उक्त भवनको चावी हिरतो दम्पत्तिले विद्यालयका अध्यक्ष राजुजङ्ग कन्दङ्वालाई हस्तान्तरण गरेका थिए । उक्त अवसरमा हिरोता दम्पत्ति तथा घनश्याम स्मृति प्रतिष्ठानलाई विद्यालयले सम्मानपत्रद्वारा सम्मानसमेत गरेको छ ।
हिरोता दम्पत्तिसहित जापानी नागरिकलाई नौमति बाजासहित विद्यार्थी तथा अभिभावक र सामाजिक क्षेत्रका अगुवाहरुले लामबद्ध भई फूलमालाले स्वागत गर्नुका साथै विद्यालयको विकासमा योगदान पुर्‍याएको भन्दै प्रसंशा गरेका थिए ।
अध्यक्ष कन्दङ्वाको अध्यक्षतामा भएको समारोहमा घनश्याम स्मृति प्रतिष्ठानका अध्यक्ष नवकुमारी खनाल , सहायक जिल्ला शिक्षा अधिकारी युवराज पाण्डे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको शुरुमा पूर्व सांसद डिल्ली सिटौलाले नेपाल र जापानको झण्डा झण्डोत्तोलन गरेका थिए ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ झापाका अध्यक्ष केदार गिरीले विद्यालयको भौतिक विकासका लागि १ लाख ५१ हजार रुपैयाा सहयोग गर्ने घोषणा गरेको अध्यक्ष कन्दङ्वाले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद प्याकुरेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक नारायणप्रसाद चम्लागाईले गरेका थिए भने सञ्चालन शिक्षक विष्णुप्रसाद पोखरेलले गरेका थिए ।
कार्यक्रममा कालीबहादुर गण चारआलीका गणपति खेम पौडेलेसहित जिल्लास्थित सुरक्षा निकाय, प्रशासनिक निकाय, राजनीतिक दल, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगपति, सञ्चारकर्मी, शिक्षकका पेशागत संघ संगठनका प्रमुख तथा प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।
गत भदौमा उक्त भवनको निर्माण थालिएको थियो । ५ सय १८ जना विद्यार्थी अध्ययनरत र २१ शिक्षक कार्यरत सो विद्यालय भौतिक रुपमा जीर्ण भएको अवस्थामा गत वर्षको फागुनबाट स्थानीय युवा राजुजंङ्ग कन्दङ्वाले व्यवस्थापन समितिको नेतृत्व लिएपछि दुईवटा भवन निर्माण सम्पन्न भएका छन् ।
अर्को दुई तले भवन जिल्ला शिक्षा कार्यालय झापाको सहयोगमा बनाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७२, सोमबार  ३ : ०६ बजे