२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

विपन्न परिवारको पीसीआर परिक्षणका लागि ५ लाख, अक्सिजन सिलिण्डर किन्न १ लाख बजेट



गौरीगंज ५, जेठ / गौरीगंज गाउँपालिकाले कोरोना संक्रमणलाई नियन्त्रण र रोकथाम गर्न स्थापना गरिएको कोभिड नियन्त्रण कोषमा १० लाख रुपैयाँ छुट्याउने निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । उक्त कोभिड नियन्त्रण कोषबाट अति विपन्न आर्थिक अवस्था कमजोर भएका परिवारको पीसीआर परिक्षणका लागि ५ लाख रुपैयाँ बजेट छुट्याएको छ । त्यसैगरी वैठकले २ लाख रुपैयाँ पीपीई, सेनिटाइजर, मास्क, ग्लोब्सलगायतका स्वास्थ्य सामाग्री खरिद गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले स्थापना गरेको १५ बेडको आइसोलेसन वार्डका लागि अक्सिजन सिलिण्डर खरिद गर्न १ लाख रुपैयाँ, क्वारेन्टाइन र आइसोलेसनमा बस्ने विरामीका लागि खाना, नास्ता, एम्बुलेन्स तथा सरसफाईका लागि २ लाख रुपैयाँ र फ्रन्ट लाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन स्वरुप जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएको योजना अधिकृत नारायण प्रसाद चंदराले जानकारी गराएका छन् ।
वैठकले कोरोना भाइरसको महामारीबाट प्रभावित अति विपन्न परिवारलाई गाउँपालिका भरिका बढिमा १५० जना परिवारलाई राहत वितरण गर्ने निर्णय गरेको छ भने लामो समयदेखि रोकिएको सामाजिक सुरक्षा भत्ता भने बैंक खुले लगतै वितरण गर्ने निर्णय भएको योजना अधिकृत चंदराले बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ५ : ४६ बजे