२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

गौरीगञ्जमा गर्विलो इतिहास जोगाउन भन्दै कांग्रेसबाट फूलवती र मखनाले लिए अग्रसरता



दमक/ झापाको गौरीगञ्ज गाउँपालिकामा प्रमुख दलहरु अलग अलग उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन । देशभरका सबैजसो स्थानीय तहमा सत्तारुढ सत्तारुढ दलहरुबीच गठबन्धन बनेपनि गौरीगञ्जमा मुख्य दल कांग्रेस–माओवादी गठबन्धन नगरी अलग अलग उम्मेदवारसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन । नेपाली कांग्रेसको चुनाव प्रचार प्रसार समितिले आज ( बुधबार ) विज्ञप्ती जारी गर्दै पार्टीको केन्द्रीय तहमा भएको स्थानीय आवश्यकता अनुसार मात्रै गठबन्धन भित्रका दलहरुबीच चुनावी तालमेल गर्ने भन्ने निर्णय अनुसार त्यस्तो परिस्थिती नरहेको भन्दै कांग्रेसले सिंगल ( एकल रुपमा ) उम्मेदवारी प्रस्तुत गरेको जनाएको छ ।

कांग्रेसले बिगतका निर्वाचनहरुमा पार्टीले प्राप्त गरेको मतको सम्मानका लागि पनि अलगै उम्मेदवारी दर्ता गरेर चुनावमा होमिएको जनाएको छ । कांग्रेसले विज्ञप्तीमा भनेको छ– बिगतका निर्वाचनहरुको यस गाउँपालिकामा प्राप्त मत परिणाम , आम कार्यकर्ताहरुको भावना स्थानीय आवश्यकता परिस्थिति समेतलाई मध्यनजर गर्दा नेपाली काङ्ग्रेसको यहाँको बिगतदेखिकै निर्वाचन परिणाम र यहाँ रहेको नेपाली काङ्ग्रेसको गर्बिलो इतिहासलाई कायम राख्न काङ्ग्रेस आफैं सक्षम भएको निचोड निकालेका छौं ।

कांग्रेसको स्थानीय नेतृत्वले लिएको यो अडानबाट पछि नहटने स्पष्ट पार्दै कोही पनि कार्यकर्ताहरु दुबिधामा नपर्ने पनि जनाएको छ । काङ्ग्रेसको यहाँको अवस्थालाई खच्काउन लागि विपक्षी दलहरु त्यसको कुप्रचारमा लागेको आरोप पनि विज्ञप्तीमा लगाउँदै त्यसको किसिमका कुप्रचार विरुद्ध एक ढिक्का भएर उभिन कार्यकर्ताहरुलाई निर्देशन पनि दिएको छ । कांग्रेसले गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा पार्टीको १ नम्बर प्रदेश समिति सदस्य समेत रहेकी नेतृ फूलवती राजवंशीलाई उम्मेदवार बनाएको छ भने उपाध्यक्षमा मखना महतोलाई उम्मेदवार बनाएको छ । अध्यक्ष पदकी प्रत्यासी राजवंशी २०७४ को स्थानीय निर्वाचनमा झिनो मतान्तरले उपविजेतामा सिमित भएकी थिइन भने महतो गौरीगञ्ज ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए । ६ वटा वडा रहेको सो पालिकामा कांग्रेसले सो निर्वाचनमा उपाध्यक्षसहित बहुमत स्थानमा जित हासिल गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ८ : ५३ बजे