३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

इलाम २ मा सुरु भयो मतदान, काँग्रेसका उम्मेद्वार खड्का र एमालेका नेम्वाङले गरे मतदान



मतदान गर्दै काँग्रेस उम्मेद्वार खड्का ।

फिक्कल (इलाम), १५ वैशाख/ इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ । सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो । शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उहाँले बताउनुभयो । नेपाली काँग्रेसका उम्मेद्वार डम्बर खड्काले इलामको महेन्द्ररत्न क्याम्पसको मतदान केन्द्रमा केही बेर अघि मतदान गरिसक्नु भएको छ । त्यस्तै नेकपा एमालेका उम्मेद्वार सुुहाङ नेम्वाङले पनि केही बेर अघि मतदान गर्नु भएको छ । नेम्वाङले पनि महेन्द्ररत्न क्याम्पसकै मतदान केन्द्रमा मतदान गर्नु भएको हो । 

इलाम २ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन ।
आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।


इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन । इलाममा नेपाली काँग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र पहिचानवादीका तर्फबाट स्वतन्त्र उम्मेद्वार रहनु भएका डगेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा रहेको देखिन्छ । इलाम २ मा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ७ : ४६ बजे