८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

कराेडाैंकाे रत्तचन्दन वन कार्यालयकाे काेठामा ११ वर्षदेखि बन्द


१३ कार्तिक २०७५, मंगलबार  

0
Shares

20181030_140836
झापा१३, कार्तिक /
जिल्ला वन कार्यालय झापाको बन्द कोठामा रक्तचन्दन थन्किएको ११ वर्ष भयो । दुईवटा कोठामा थन्क्याइएको उक्त रक्तचन्दन सीमावर्ती भारतीय नाका टाघनडुब्बा र कुमरखोदबाट बरामद गरिएको हो ।

२०६३/६४ मा अबैध बाटो हुँदै नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले १९ हजार ८३२.२७ केजीे रक्तचन्दन बरामद गरेको थियो । वन कार्यालयको कोठामा शिलबन्द राखिएको सो रक्तचन्दनको बजार मूल्य करीब एक करोड ५२ लाख हुन आउँछ ।

थन्किएको रक्तचन्दनबारे वन विभागमा पटक–पटक जानकारी गराउँदा स्पष्ट निर्देशन नआएको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।

जिल्ला वन कार्यालय झापाका साहायक वन अधिकृत देबेन्द्र उपे्रती भन्छन, “अन्तर्राष्ट्रिय कानून आकर्षित हुन सक्ने भएकाले पनि विभागले ढिलाई गरेको हुन सक्छ ।”

उक्त रक्तचन्दन तस्करीमा संलग्न भएको अभियोगमा पक्राउ परेका व्यक्ति भने कैद र जरिवाना भुक्तान गरी रिहा भइसकेका छन् ।

दुईवटा कोठामा रक्तचन्दन राखी शिलबन्दी गरिएकोले कार्यालयको काम कारबाहीमा पनि कठिनाई भएको जिल्ला वन कार्यालयका कर्मचारी बताँउछन् ।

वनस्पति तथा वन्यजन्तु संरक्षण ऐन तथा अन्तर्राष्ट्रिय कानून बमोजिम रक्तचन्दनको कारोबार एक देशबाट अर्का देशमा गर्दा दुबै देशको सहमति हुनुपर्ने प्रावधान छ । सोही ऐन तथा अन्तर्राष्ट्रिय कानून विपरीत चोरी पैठारी गरी भारतबाट नेपाल भित्र्याइएको रक्तचन्दन झापामा बरामद गरिएको थियो ।

प्रहरीले २ पुस २०६३ मा पहिलोपटक झापाको कुमरखोद र टाघनडुब्बा क्षेत्रबाट भारतीय ट्रकमा लोड गरी नेपाल भित्र्याउँदै गरेको ३६२ थान गोलिया आकारको ६ हजार ३७५.२७ केजी परिणामको रक्तचन्दन बरामद गरेको थियो ।

भारतको आन्ध्रप्रदेश र उडिसाहुँदै विहारको किशनगञ्ज जिल्ला डिगलबैंक नाकाबाट भित्रिएको एपी २७ डब्लुओ ४०५ नम्बरको भारतीय नम्बरको ट्रकबाट रक्तचन्दन बरामद भएको वन कार्यालय झापाले जनाएको छ ।

उक्त रक्तचन्दन र ट्रक सहित भारत चेन्नई बस्ने यम भाष्कर र यम राजु पक्राउ परेका थिए ।

दुबैजनालाई वन ऐन २४९ को दफा ४९ (घ) को कसुरमा प्रति व्यक्ति तीन लाख १८ हजार ७६३ जरिवाना र एक वर्ष कैद सजाय भयो ।

बरामद गरिएको ट्रक लिलामी प्रक्रियाबाट बिक्री भइसकेको छ भने पक्राउ परेका व्यक्ति अदालतले तोकेको सजाय भुक्तान गरी छुटीसकेका छन् ।
यसैगरी १३ असार २०६३ मा प्रहरीले टाघनडुब्बा २ निवासी गुलाम रसुल मियाको घरमा छापा मारेर १ हजार ६८७ केजी रक्तचन्दन बरामद गरेको थियो । उनलाई रु. २६ लाख ९९ हजार जरिवाना र ६ महिना कैद भएको थियो ।

त्यस्तै पक्राउ परेका मियाको बयानको आधारमा टोलीले टाघनडुब्बाका उपेन्द्र चौधरी, रामजतन चौधरी र अविनाश चौधरीलाई ३९९ थान (११ हजार ७७० केजी ) रक्तचन्दन गोलिया सहित पक्राउ गर्‍यो ।

उनीहरुलाई कुल रु. एक करोड ८८ लाख ३२ हजार जरिवाना र चार वर्ष कैद सजाय भएको थियो ।

मुक्ति पौडेल, झापा

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलबार  ८ : २७ बजे