५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रतुवा खाेलामा पुल मुुनि अर्काे पुल


३१ भाद्र २०७६, मंगलबार  

0
Shares

20190917_193643

दमक/ झापाको गौरीगञ्ज गाउँपालिका–६ मा झापा र मोरङ जोड्ने रतुवा खोला छ । यही रतुवामा ११ वर्ष अघि पक्की पुल बनाउन भनेर शिलान्यास गरिएको थियो । शिलान्यास भएको ७ वर्षपछि खोलाको बहाव हेर्दा जहाँ आवश्यक थियो त्यहीँ पुल शिलान्यास गरियो । पछि निर्माण सम्पन्न हुँदा खोलाले धार परिवर्तन ग¥यो र खोला अन्तै बग्यो ।

हुलाकी राजमार्ग अन्तर्गत निर्माण भएको यो पुल खोलाको बीचमा प¥यो । त्यसरी  करोडौ रुपैैँया लगानी गरेर निर्माण  गरिएको पुल सम्पन्न भएको ४ वर्षमा पनि प्रयोगमा आएन । बनेको पक्की पुल प्रयोगमा आउन नसकेपछि यहाँका स्थानीय आफैले अर्को पुल बनाएर त्यसको प्रयोग गर्न थालेका छन् । उनीहरूले  पक्की पुलको मुनिबाट बाँसको भाटा प्रयोग गरेर अस्थाई कच्ची पुल बनाएका छन् । हुलाकी राजमार्गलाई जोड्ने उद्देश्यले निर्माण गरिएको पुल प्राविधिक कमजोरीका कारण काम नलाग्ने भयो ।

पक्की पुल खोलाका बीचमा भएकाले प्रयोग गर्न नमिलेपछि स्थानी बासिन्दाहरूले आफ्नै पहलमा पक्की पुलको आडमा बाँसको भाटाले खोला तर्ने अस्थाइ पुल निर्माण गरेका हुन् । अहिलेसम्म त खोला ठुलो थियो डुङ्गा चल्थ्यो । ‘हामीले डुङ्गा चढेर वारपार गरियो अब पानी घट्दै गयो न डुङ्गा चल्छ न त पानीबाट नै तर्न सकिन्छ । त्यसैले वारिपारि गर्न बाँसको पुल निर्माण गरिएको हो ।’ पुल निर्माण गर्दै गरेका गौरीगञ्ज निवासी गङ्गाराम राजवंशीले बताए ।

राजवंशीका अनुसार आमवाडी र गौरीगञ्जका  सर्वसाधारणले आवश्यक रकम सङ्कलन गरेर यो पुल बनाएका हुन् । स्थानीय विभिन्न सङ्घ संस्था र नागरिककै सहयोगमा पुल निर्माण गरिएको राजवंशीले बताए । हुलाकी राजमार्गअन्र्तगत मोरङ जिल्लाको आमवाडी क्षेत्रबाट झापाको गौरीगञ्जलाई जोड्न रतुवा खोलामा निर्माण गरिएको पुल प्रयोगमा आउन सकेको छैन ।

पुलको रेखदेख गरिरहेका पुल पूर्वी सेक्टर नम्बर एक धरानका योजना प्रमुख कैलाश साहका अनुसार पुल निर्माणको काम ७२ साल जेठमा सम्पन्न भएको थियो । २०६८ सालमा रतुवा खोलामा आएको बाढी पश्चिम तिर आमवाडी गाउँमा पस्यो । यसरी खोलाले धार परिर्वतन गरेर पुल निर्माण भइरहेको क्षेत्रभन्दा करिब तीन मिटर पश्चिमसम्म कटान गर्यो । पछि पुनः खोलाको बाढी पुलभन्दा पूर्वको भागतिर मोडियो ।

बाढीले पुलभन्दा झण्डै पाँच सय मिटरसम्म पूर्वमा कटान गर्यो । त्यसपछि पुल खोला बीचमा भयो । अहिलेसम्म रतुवा पुलभएको भन्दा झण्डै तीन सय मिटर पूर्वबाट बगिरहेको छ । पुलको गुरुयोजना तयार गर्दा नै नदीको मुख्य बहावलाई कटान नियन्त्रण नगरिकन खुल्ला किनार छोडेर पुल निर्माण गरिँदा यस्तो अवस्था आएको गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको भनाइ छ ।

२०६५ साउन १ गतेदेखि औपचारिक शिलान्यास गरी निर्माण शुरु गरिएको पुल निर्धारित समयभन्दा झण्डै ५ वर्षपछि २०७२ साल जेठमा सम्पन्न भएको थियो । योजना प्रमुख साहका अनुसार १० करोड ४१ लाख ९४ हजार ९ सय २८ रुपैयाँ लागतमा निर्माण गरिएको हो । ९ वटा पिल्लर रहेको पुल २ सय ५ मिटर लम्बाइ रहेको छ । दुई तर्फी यातायात सञ्चालन गर्न सकिने साढे सात मिटर चौडाइ रहेको यो पुल अहिले स्थानीयका लागि प्रयोगविहीन भएको छ ।

गाेरखापत्र अनलाइनबाट

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १ : ५३ बजे